Thursday 9th April 2026

कारागारभित्र यातना दिएको कैदीबन्दीको आरोप

8 years अगाडी

वीरगञ्ज । वीरगञ्जको कारागारभित्र रहेको कोठा नं ५ अर्थात् वासिङ रुम आफूहरुका लागि यातनागृह भएको कैदीबन्दीको आरोप छ। गणतन्त्र दिवसका अवसरमा कारागारमुक्त भएका भारत मोतीहारीका बर्खुदिन मियाँ भन्छन्, “नयाँ कैदीबन्दीलाई पहिले उक्त कोठामा लगेर यातना दिइन्छ। त्यो कैदी पैसावाल छ भने बढी कुटाइ खानुपर्छ”, आफ्नो पीडा पोख्दै मियाँ भन्छन्, “बढी पैसा असुल गरेपछि वासिङ रुमबाट निकालेर अर्को कोठामा राखिन्छ, त्यो नयाँ कोठा कैदीबन्दीका लागि सुधारगृह नभएर यातनागृह जस्तो भएको छ।”

भाइ चौकीदार विदेशी साहको निगरानीमा रहेको त्यो कोठामा अन्य कोही जान पाउँदैनन्। गणतन्त्र दिवसकै दिन कारागारमुक्त भएका धादिङ भूमिस्थानका भीमबहादुर तामाङ कारागार बसाइको आफ्नो भोगाइ सुनाउँदै भन्छन्, “चौकीदार विदेशी साहको कमाइ खाने अन्य बाटो पनि छ, चौकीदारकै पसलबाट चर्को मूल्यमा सामान किन्नुपर्छ, यदि किनिएन भने कुटाइ खानुपर्ने हुन्छ।” यसबारेमा जिज्ञासा राख्दा वीरगञ्ज कारागारका जेलर चक्रपाणि गौतम सो आरोप अस्वीकार गर्दै शुरुशुरुमा कैदीबन्दी आउँदा नङ, कपाल, दाह्रीजुँगा लामोलामो र फोहरी हुने भएकाले वासिङ रुममा लगी सफाइ गर्ने, नुहाइदिने गरी अर्को कोठामा सारिने बताए।

गणतन्त्र दिवसका अवसरमा सो कारागारबाट २० कैदीबन्दी रिहा भएका थिए। एक हजार ५०० कैदीबन्दी अट्ने क्षमता रहेको सो कारागारमा हाल स्वदेशी महिला ७९, पुरुष ९०० तथा विदेशी महिला २२, विदेशी पुरुष १८० र चार बालबालिका गरी एक हजार १८१ जना कैदीबन्दी छन्। आन्तरिक प्रशासन ऐनले कारागार चलाउन कैदीबाटै असल चालचलन भएका कैदीलाई नायक राख्ने व्यवस्था भएअनुरुप साहलाई कैदी नाइकेका रुपमा राखिएको जेलर गौतमको भनाइ छ। कारागारभित्र रहेका कैदीमध्ये ५० प्रतिशत कैदीबन्दी लागुऔषधका अभियुक्त छन्। जीर्ण कारागार भवन, पानी निकासको समस्या, सरसफाइको अभाव, सुरक्षा कमी तथा समुदायबीचमा रहेको कारागारको कारण वरिपरिका बासिन्दालाई समेत समस्या पर्ने गरेको कारागार प्रशासनले जनाएको छ।

          June 9, 2018 11:25 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...