Wednesday 24th April 2024

स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान

2 years अगाडी

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वतन्त्र समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरू सङ्गठित रूपमै मङ्सिर ४ गतेको चुनावमा उठ्ने तयारी गर्दै बिहीवार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो । ललितपुरमा आयोजित एक कार्यक्रमका बीच अभियानको घोषणा गर्दै साझा घोषणापत्र, चुनाव चिह्न र साझा उम्मेदवार घोषणा गरिएको छ ।

घोषणा सभामा बोल्दै लौरो अभियानका संयोजक तथा काठमाण्डाै क्षेत्र नम्बर ८ बाट आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीले अहिले भएका दलहरू नागरिक र देश केन्द्रित नभएको बताउनुभयो । उहाँले धेरै पार्टीहरू भएकै कारण देश बिग्रिएको भन्ने मानसिकता रहेको बताउनुभयो ।

सायमीले अहिले नेपालमा भएका दलहरू एकै खालका भएको टिप्पणी पनि गर्नुभयाे । उहाँले अहिले नेपालमा भएका ठूला दलहरू निजी कम्पनी जसरी चलिरहेको दाबी गर्नुभयो । सायमीले स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई निर्वाचन आयोगले पनि विभेद गरेको गुनासो गर्नुभयो । उहाँले आफूहरूलाई जिताएमा देशमा परिवर्तन आउने दाबी गर्नुभयो ।

त्यस्तै कलाकार मधुसूदन पाठक (सीते बा) ले पनि काठमाण्डाै ५ बाट प्रतिनिधि सभा सांसदको उम्मेदवार घोषणा गर्नुभयो । उहाँले आफूले १७ वर्षको उमेरदेखि काठमाण्डाै ५ मा व्यवसाय गर्दै आएकाले त्यहाँबाट उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

लौरो अभियानमार्फत बिहीवार ११ जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रतिनिधि सभातर्फ सात जना र प्रदेश सभातर्फ चार जना गरी जम्मा ११ जनाले उम्मेदवारी घोषणा गरेका हुन् । विद्या श्रेष्ठ महर्जनले काठमाण्डाै ९, राजाराम तण्डुकारले ललितपुर ३ र भीष्म रानाले रुपन्देही ५ बाट स्वतन्त्र उम्मेदवार हुने बताएका छन् । भक्तपुर २ बाट लोकेन्द्र र काठमाण्डाै २ बाट रोहन कार्कीले उम्मेदवारी दिन लागेका हुन् । उज्यालो

          September 2, 2022 2:04 am | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...