Wednesday 24th April 2024

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइँदै

1 year अगाडी

काठमाण्डाै – माघ १ मा पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने भएको छ । फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक विश्लेषणका लागि पठाउन लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले विज्ञसहित ब्ल्याक बक्स फ्रान्स पठाउन लागिको जानकारी दिनुभयो ।

“ब्ल्याक बक्स परीक्षणका लागि अर्को हप्ता जहाज निर्माता कम्पनी फ्रान्स पठाउँदैछौँ । दुर्घटनाको प्रभावकारी अनुसन्धानका लागि यसले सहयोग पुग्ने विश्वास गरेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँले विमान निर्माता कम्पनीले आफ्नै किसिमले डाटा विश्लेषण गर्ने भएकाले फ्रान्स पठाउन लागिएको बताउनुभयो । दुर्घटनापछि हुने अनुसन्धानको स्वतन्त्र विश्लेषणका लागि विमान निर्माता कम्पनीसमक्ष नै ब्ल्याक बक्स पठाउन लागिएको उहाँको भनाइ छ ।

“ब्ल्याक बक्सबाट तथ्याङ्क निकाल्ने मात्रै कुरा हुँदैन”, उहाँले भन्नुभयो, “सामान्य अनुसन्धान र दुर्घटनापछि गरिने अनुसन्धान फरक पर्ने भएकाले प्राविधिक विश्लेषणका लागि फ्रान्स पठाउन लागिएको हो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार ब्ल्याक बक्ससहित दुर्घटना जाँच आयोगका विज्ञ टोली पनि फ्रान्स जानेछन् । आयोगले हालसम्म दुर्घटनाको स्थलगत अनुगमन, आवश्यक कागजात सङ्कलन तथा विज्ञसँग छलफल गरिसकेको छ ।

विमान दुर्घटनापछि एटिआर विमान निर्माता कम्पनीबाट आएको नौ सदस्यीय टोली प्रारम्भिक अध्ययन गरी फर्किसकेको छ । सहसचिव लामिछानेले आयोगको सुपरीवेक्षणमा रहेर उक्त टोलीले आवश्यक अध्ययन गरेको र आयोगसँग समन्वय गर्दै र आवश्यक परे फेरि नेपाल आउने गरी स्वदेश फर्किएको जानकारी दिनुभयो ।

ब्ल्याक बक्स विमान दुर्घटना भएको भोलिपल्ट माघ २ गते बिहान भेटिएको थियो । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ ।

काठमाण्डौबाट पोखराका लागि उडेको यती एअरलाइन्सको कलसाइन ९–एएनसी (एटीआर–७२–२१२) विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खाँेचमा दुर्घटना भएको थियो । त्यस विमानमा सवार चालक दलका सदस्यसहित ७२ मध्ये ७१ जनाको निधन भइसकेको छ भने बाँकी एकजनाको खोजी जारी छ ।

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार मृतक ७१ जनामध्ये निधन भएको र थप एक जनाको शव पहिचानका लागि डिएनए परीक्षण गर्न लागिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुर्घटना जाँच आयोगले तीव्रताका साथ काम गरिरहेको बताउनुभयो ।

सरकारले विमान दुर्घटनाबारे जाँच गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बाँस्तोला (अवकाशप्राप्त उपरथि) र सुनिल थापा ढअवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा हुनुहुन्छ । आयोगको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ । उज्यालो

          January 22, 2023 3:23 am | टप,रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...