वैदेशिक रोजगारीको सामाजिक लागत
वैदेशिक रोजगार बोर्डअनुसार वार्षिक १३०० भन्दा बढी श्रमिकको मृत्यु र दैनिक ३–४ शव भित्रिनु ‘कफिन अर्थतन्त्र’ को भयावह चित्र हो । कल्याणकारी कोषको ७ लाखले अत्यधिक श्रम र मानसिक तनावको अदृश्य शोकलाई क्षतिपूर्ति गर्न सक्दैन ।
विदेशमा कमाएर पठाएको पैसासहित जीवनसंगिनी फरार भएको, अभिभावक वैदेशिक रोजगारीमा रहँदा मार्गनिर्देशन र अभिभावकत्वको अभावमा किशोरकिशोरी लागूऔषधमा फसेको, गाउँमा लास उठाउने तन्नेरीको अभाव भएको जस्ता समाचार मिडियामा बारम्बार आउने गरेको छ । यस्ता प्रतिनिधिमूलक घटनाहरू संयोग होइनन्, बरु विप्रेषणको चमकपछाडि नेपाली समाजले चुक्ता गरिरहेको भयावह र अपूरणीय सामाजिक लागतका जीवित ऐना हुन् ।
नेपालको आधुनिक अर्थ–राजनीतिक विमर्शमा विप्रेषणलाई आर्थिक संकटको अकाट्य सञ्जीवनी बुटी मानिँदै आएको छ । नेपाल राष्ट्र बैंक र सरकारी तथ्यांकले बैंकमा जम्मा हुने विदेशी मुद्राको सञ्चिति र त्यसकै जगमा धानेको आयातमुखी राजस्वलाई अर्थतन्त्रको सफलताको मुख्य मानकका रूपमा अर्थ्याउँदै आएका छन् । तर, समष्टिगत आर्थिक सूचकहरूको यो भ्रामक चमकभित्र नेपालको परम्परागत सामाजिक बनोट, पारिवारिक मूल्य, मानवीय संवेदनशीलता र जनसांख्यिकीय सन्तुलनले चुकाउनुपरेको ‘गैरआर्थिक लागत’ भने भयावह बन्दै गएको छ ।
वैदेशिक रोजगारको सबैभन्दा पहिलो प्रभाव पारिवारिक विखण्डन र सम्बन्धको संरचनात्मक परिवर्तनमा परेको छ । परिवार समाजको सबैभन्दा सानो, संवेदनशील र आधारभूत एकाइ हो तर यसैको जगमा असर परेको छ । लामो समयको भौतिक दूरीले दम्पतीहरूबीच भावनात्मक र शारीरिक संवादहीनतासँगै तीव्र अविश्वास र मनोवैज्ञानिक असुरक्षासमेत पैदा गरेको छ । यसले अन्ततः पारिवारिक विघटनलाई संस्थागत रूप दिँदै छ । खाडीको पसिना एकातिर पारिवारिक समृद्धिको कारण बनेको छ भने अर्कोतिर सम्बन्ध रित्याउने माध्यम पनि बनिरहेको छ ।
वैदेशिक रोजगारले नयाँ पुस्तामा सिर्जना गरेको दोस्रो गम्भीर संकट भनेको अभिभावकत्वको अभाव हो । बाबु वा आमाको अनुपस्थितिमा हुर्कंदै गरेको ‘लेफ्ट–बिहाइन्ड’ अर्थात् अभिभावकविहीन पुस्ता भावनात्मक रिक्ततामा बाँच्न बाध्य छ । विदेशबाट आउने पैसाले उनीहरूका लागि महँगा निजी विद्यालय, फेसन र आधुनिक ग्याजेटहरू त उपलब्ध गराएको छ तर बाल्यकालमा हुनुपर्ने प्रत्यक्ष रेखदेख, संवेगात्मक सुरक्षा र नैतिक संस्कारको भने तीव्र क्षयीकरण भइरहेको छ । यसले बाल मनोविज्ञानमा गम्भीर विचलन निम्त्याउँदै छ ।
जनसांख्यिकीय खडेरी र सामाजिक पुँजीको क्षयीकरण यसमा देखिएको तेस्रो प्रभाव हो । नेपालको परम्परागत सामाजिक पुँजी र जनसांख्यिकीय लाभांश द्रुत गतिमा ‘मसल ड्रेन’ मा परिणत हुँदै छ । सामाजिक सुरक्षा कोषमा आबद्ध २८ लाख ५० हजार श्रमिकमध्ये ७५.९ प्रतिशत हिस्सा वैदेशिक रोजगारकै रहनुले युवा श्रम बजारको रिक्तता देखाउँछ । यसको असर अहिले सामाजिक सुरक्षा प्रणालीमा परेको छ । ३६ लाख ४१ हजार सामाजिक सुरक्षा भत्ता लाभग्राहीमध्ये ७० वर्षमाथिका ज्येष्ठ नागरिकको हिस्सा ४६.१३ प्रतिशत पुगेको छ । यसरी मलामी नजुट्ने गाउँहरू निर्माण भइरहँदा, १४ खर्ब ४९ अर्ब ७० करोडको विप्रेषणको मूल्य समाजले जनसांख्यिकीय संकटमार्फत चुकाइरहेको छ । कान्तिपुर
July 7, 2026 10:10 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान
माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट प्रेम जिमी सम्मानित
वालेन्द्र सरकारको चार महिना: सुधारको नारादेखि विवादको घेरासम्म
नेपाल पत्रकार महासंघ कुवेतको रक्तदान तथा माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको तयारी पुरा