नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १७औं स्थापना दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रम अत्यन्तै भव्य, सभ्य र उत्साहजनक वातावरणका साथ सम्पन्न भएको छ। “रक्तदान जीवनदान” भन्ने मूल मानवीय नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा कुवेतका लागि ।

नेपाली राजदूत महामहिम घनश्याम लामसाल स्वयंले रक्तदान गरी कार्यक्रमको औपचारिक सुरुवात तथा उद्घाटन गर्नुभएको थियो। कुवेतस्थित सेन्ट्रल ब्लड बैंक (जाब्रिया) मा आयोजित यस विशेष समारोहले नेपाली समुदायभित्र सामाजिक उत्तरदायित्व, भ्रातृत्व र मानवीय सेवाको भावनालाई थप मजबुत बनाएको छ।
शाखाको १७ औं स्थापना दिवसको पावन अवसरमा आयोजित रक्तदान तथा विशेष समारोहमा कुवेतस्थित नेपाली कूटनीतिक नियोग, महासंघका केन्द्रीय नेतृत्व तथा वैदेशिक शाखाका प्रतिनिधिहरूको विशिष्ट उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली दूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्साल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने दूतावासका काउन्सेलर सुजनी राना, द्वितीय सचिव तथा सूचना अधिकारी शिव बानिया, नेपाल पत्रकार महासंघ केन्द्रीय भूतपूर्व महासचिव रोशन पुरी र नेपाल पत्रकार महासंघ वैदेशिक शाखा युएईका अध्यक्ष मेघराज सापकोटाको विशिष्ट आतिथ्यता रहेको थियो। त्यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्षद्वय दिल कुमार पाख्रीन र विकास सिंह ठकुरी लगायत महासंघका पदाधिकारी, सल्लाहकारहरू, कुवेतमा सक्रिय विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधि, पत्रकार तथा नेपाली समुदायका शुभेच्छुकहरूको बाक्लो एवं उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले विगतका वर्षहरूमा आफ्नो स्थापना दिवसको अवसरमा “विदेश विमर्श” तथा श्रमिक सचेतना जस्ता रचनात्मक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको थियो। यस वर्ष संस्थाले आफ्नो १७औं स्थापना दिवसलाई मानवीय सेवामा समर्पित गर्दै तेस्रो रक्तदान कार्यक्रम तथा चौथो माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहको रूपमा भव्यताका साथ मनाएको छ। प्रवासमा रहेर पनि पत्रकारिताको पेशागत मर्यादा जोगाउँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्न महासंघ सधैं अग्रसर रहँदै आएको दृष्टान्त यस कार्यक्रमले पुनः पुष्टि गरेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत घनश्याम लामसाल तथा अन्य अतिथि वक्ताहरूले नेपाल पत्रकार महासंघ कुवेत शाखालाई १७औं स्थापना दिवसको सफलताको शुभकामना व्यक्त गर्नुभयो। वक्ताहरूले प्रविधिको विकास र प्रवासको चुनौतीपूर्ण वातावरणमा पनि निष्पक्ष, जिम्मेवार र सत्यतथ्य सूचना प्रवाह गर्दै नेपाली समुदायको आवाजलाई उजागर गर्न महासंघले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। साथै, रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्देश्यका साथ आयोजित यस प्रकारको रक्तदान कार्यक्रमले कुवेतमा रहेका नेपालीहरूलाई ऐक्यबद्धता र सामाजिक सेवामा लाग्न थप प्रेरणा मिल्ने उहाँहरूले बताउनुभयो।
कार्यक्रमका संयोजक दिपेन्द्र निरौलाले मध्यपूर्वको वर्तमान परिस्थिति र व्यस्त समयका बाबजुद पनि यस किसिमको पवित्र मानवीय कार्यको आयोजना गर्न पाउँदा अत्यन्तै गौरवान्वित महसुस भएको बताउनुभयो। उहाँले कार्यक्रमलाई सफल बनाउन समय निकालेर उपस्थिति जनाउने, रक्तदान गर्ने तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्नुभयो।

उक्त बृहत रक्तदान कार्यक्रमलाई अल मुजैनी एक्सचेन्जले मुख्य प्रायोजन गरेको थियो भने डीबी कलेक्सन, डाम्पा चौतारी, रोयल गाउँले लगायतका स्थानीय नेपाली व्यवसाय तथा संस्थाहरूको महत्त्वपूर्ण सहयोग रहेको थियो। कार्यक्रमको समापन गर्दै नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लले प्रायोजक संस्था अल मुजैनी एक्सचेन्ज लगायत सम्पूर्ण सहयोगी संघ-संस्था, दूतावास परिवार, सञ्चारकर्मी तथा सहभागिता जनाउने सम्पूर्ण नेपाली समुदायका सदस्यहरूलाई महासंघको तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो।
August 8, 2026 4:58 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत सहयोग समिति गठन
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान