निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
कुवेत । कुवेतबाट सञ्चालित नेपाली डिजिटल सञ्चारमाध्यम निरेम अपडेटको प्रधान सम्पादकको जिम्मेवारी पत्रकार दिपेन्द्र निरौलाले सम्हाल्ने भएका छन्।

यसअघि प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्दै आएका पत्रकार सुरेश बुढाथोकीले कार्यव्यस्तताका कारण सम्पादकीय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने जानकारी गराएपछि निरेम अपडेटको सम्पादकीय नेतृत्व निरौलालाई दिने निर्णय गरिएको हो।
पत्रकारिता क्षेत्रमा सक्रिय निरौला निरेम अपडेटकै टिममा रहेर लामो समयदेखि समाचार तथा सञ्चारसम्बन्धी काममा संलग्न रहँदै आएका छन्। नयाँ जिम्मेवारीसँगै उनले निरेम अपडेटको सम्पादकीय नेतृत्व सम्हाल्दै समाचार सामग्रीको गुणस्तर, विश्वसनीयता, तथ्यपरकता र निष्पक्षतालाई थप प्राथमिकता दिनेछन्।
प्रवासी नेपाली समुदायसँग प्रत्यक्ष सरोकार राख्ने विषय, सामाजिक गतिविधि, समसामयिक सवाल तथा समुदायका आवाजलाई प्राथमिकताका साथ उठाउँदै जिम्मेवार र सन्तुलित पत्रकारितालाई निरन्तरता दिने निरेम अपडेटको नीति रहनेछ।
निरेम ग्रुप कुवेतद्वारा सञ्चालित निरेम अपडेटले पछिल्लो समय कुवेतमा रहेका नेपाली समुदायका सूचना, समाचार तथा गतिविधिलाई डिजिटल माध्यममार्फत नियमित रूपमा सम्प्रेषण गर्दै आएको छ। प्रवासी नेपालीका सामाजिक, सांस्कृतिक, आर्थिक तथा समसामयिक विषयलाई प्राथमिकतामा राख्दै आएको निरेम अपडेटले नयाँ सम्पादकीय नेतृत्वसँगै आफ्नो पत्रकारितालाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
यस क्रममा निवर्तमान प्रधान सम्पादक सुरेश बुढाथोकीले पुर्याएको योगदानप्रति निरेम अपडेटले धन्यवाद व्यक्त गरेको छ। उनको कार्यकालमा सञ्चारमाध्यमको सम्पादकीय यात्रालाई अघि बढाउन उनले निर्वाह गरेको भूमिकालाई संस्थाले सम्मानका साथ स्मरण गरेको छ।
नयाँ जिम्मेवारी सम्हाल्दै प्रधान सम्पादक निरौलाले डिजिटल पत्रकारिताको बदलिँदो स्वरूपअनुसार छिटो, तथ्यपरक, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषणलाई थप प्रभावकारी बनाउनेछन्। साथै, प्रवासी नेपाली समुदायका आवाज, सवाल र गतिविधिलाई अझ प्रभावकारी ढंगले सञ्चारमाध्यममा ल्याउने कार्यलाई प्राथमिकता दिइनेछ।
निरेम ग्रुपले सञ्चारसँगै विभिन्न क्षेत्रमा आफ्ना गतिविधि विस्तार गर्दै आएको छ। ग्रुपअन्तर्गत निरेम प्रोडक्सन, निरेम पोडकास्ट, निरेम ट्राभल तथा इभेन्ट म्यानेजमेन्ट लगायतका गतिविधिहरू सञ्चालनमा छन्।
सम्पादक दीपेन्द्र निरौला
झापा स्थायी घर भई सपरिवार धरान निवासी तथा विगत केही वर्षदेखि कुवेतमा कार्यरत सम्पादक दीपेन्द्र निरौलाले सन् २००४ देखि विराटनगरबाट प्रकाशित जनआवाज साप्ताहिकमार्फत छापा पत्रकारिताबाट आफ्नो पत्रकारिता यात्रा सुरु गरेका हुन्।
सन् २००७ मा रेडियो कार्यक्रम उत्पादनसम्बन्धी तालिम प्राप्त गरेपछि सन् २००८ मा धरानस्थित स्टार एफएममा कार्यक्रम प्रस्तोता तथा विज्ञापन संयोजकका रूपमा कार्य गरे। त्यसपछि सन् २०१० देखि धरानबाट प्रसारित विजयपुर एफएममा कार्यक्रम प्रस्तोताका रूपमा काम गर्दै स्टेसन म्यानेजरसम्मको जिम्मेवारी सम्हालेका छन्।
छापा पत्रकारितासँगै रेडियो, श्रव्य–दृश्य तथा अनलाइन सञ्चारमाध्यममा दुई दशकभन्दा बढीको अनुभव संगालेका निरौला सन् २०२४ देखि निरेम प्रोडक्सन्ससँग आबद्ध छन्।
जापान, सिंगापुर र श्रीलंकामा आयोजित नेतृत्व विकास तथा क्षमता विकाससम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय तालिमबाट दीक्षित निरौलाले नेपालमा रहँदा जेसीज, लायन्स क्लब तथा रोटरी क्लबलगायतका संस्थामा स्थानीयदेखि राष्ट्रिय तहसम्म विभिन्न नेतृत्वदायी जिम्मेवारीसमेत सम्हालेका छन्।
नेपाल तथा कुवेतका विभिन्न संघसंस्थालाई नेतृत्व विकास र संस्थागत विकाससम्बन्धी प्रशिक्षण प्रदान गरेको अनुभव रहेका निरौलाका विचार, फुटकर लेख तथा रचनाहरू विभिन्न सञ्चारमाध्यम, प्रकाशन तथा स्मारिकामा प्रकाशित हुँदै आएका छन्।
चर्चित कार्यक्रम प्रस्तोताका रूपमा समेत परिचित निरौला निरेम प्रोडक्सन्ससँग आबद्ध भएपछि परोपकारी पत्रकारितामार्फत समाजलाई सकारात्मक रूपमा उत्प्रेरित गर्ने, सामाजिक सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने र सम्बन्धित सरोकारवालालाई खबरदारी गर्ने पत्रकारितालाई निरन्तरता दिने बताउँछन्।
नयाँ सम्पादकीय नेतृत्वसँगै निरेम अपडेटले डिजिटल पत्रकारिताको आफ्नो यात्रालाई अझ जिम्मेवार, विश्वसनीय र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता गर्दछौ ।
August 30, 2026 7:03 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
झिमरुक खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउनुहोस्
निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत सहयोग समिति गठन
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह