Sunday 24th May 2026

राजदूत शेर्पा स्पष्टीकरण दिन हाजिर

7 years अगाडी

काठमाडौँ — मानव तस्करी र श्रम शोषणको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा आइतबार परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिन हाजिर भएकी छन् । लिखित जवाफ चित्त नबुझेपछि परराष्ट्रले उनलाई बोलाएको हो ।पूर्वअर्दली वाङ्छु शेर्पाले राजदूतमाथि आफूलाई श्रम शोषण गरेको र मानव तस्करीमा संलग्न भएको आरोप लगाएपछि परराष्ट्रले छानबिन समिति नै बनाएको छ । सोलुखुम्बुका वाङ्छुलाई शेर्पाले नै अर्दलीका रूपमा लगेकी हुन् ।परराष्ट्रले शेर्पाको स्पष्टीकरण टुंगिएपछि राजदूतमा निरन्तरता दिने/नदिने निर्णय लिने छ । वाङ्छुले राजदूतको अर्दली बन्न आफूले ३३ लाख रुपैयाँ बुझाएकोदाबी गरेका छन् । ‘लक्की शेर्पाकी आमालाई ७ लाख ५० हजार, जग्गामा वाल लगाउन ११ लाख र बाँकी पैसा उहाँका श्रीमान् न्वाङसोनम शेर्पालाई बुझाएको हुँ,’ उनले अस्ट्ेरलियाबाट प्रसारण हुने एमएनटीभीसँगको अन्तर्वार्तामा भनेका छन् ।

अमेरिका पठाइदिने मान्छेका रूपमा सन् २०१६ मा न्वाङसोनमसँग भेट भएको वाङ्छुको भनाइ छ । लामो समय अमेरिका बसेका न्वाङसोनाम शेर्पा समाजका महासचिवसमेत थिए । ‘न्वाङसँग सान्देन शेर्पाको घरमा रंग लगाउने बेला भेट भएको थियो । सान्देनलेआफ्नी दिदीको छोरालाई २४ लाख रुपैयाँ लिएर न्वाङले अमेरिका पठाएको भनेका थिए । त्यही बेलादेखि अमेरिका जाने प्रक्रिया सुरु भएको थियो,’ उनले भने, ‘लक्की राजदूत भएपछि अस्ट्रेलिया आएँ ।’ राजदूतका श्रीमान् र वाङ्छुबीच ६४ लाख रुपैयाँको घरायसी लेनदेनको एउटा कागजसमेत सार्वजनिक भएको छ । त्यो कागज राजदूत शेर्पा आफंैले अस्ट्ेरलियामा लेखेको उनले बताए ।

वाङ्छुका अनुसार उनीहरू २०१७ जुन ९ मा अस्ट्रेलिया पुगेका थिए । त्यहाँ सम्झौताअनुसार तलब पाउनुको साटो महिनैपिच्छे एक हजार डलर बुझाउनुपर्ने अवस्था आयो । ‘प्रतिघण्टा १८ डलर दिने सर्तमा लिएर गएको हो । उता पुगेपछि पहिलो महिनाको ५ सय डलर दिनुभयो,’ उनले भने, ‘सवारी चालकको अनुमति पाएपछि २२ सय डलर पाउने भएँ जसमध्ये एक हजार डलर हरेक महिना चार वर्षसम्म दिनुपर्ने सर्त बन्यो ।’ १६ अक्टोबरमा राजदूतलाई एक हजार क्यास नै दिएको उनकोदाबी छ ।

राजदूतले पैसा लिएर अर्को अर्दली ल्याउन खोजेको समेत वाङ्छुले बताएका छन् । ‘जसले बढी पैसा दिन्छ, उसैलाई अर्दलीका रूपमा ल्याउन तयार हुनुहुन्थ्यो । बारम्बार के भन्नुहुन्थ्यो भने राजदूत हुन हामीले धेरै दु:ख गरेर आएको हो । पार्टीमा धेरै भनसुन गर्नुपर्छ । त्यो कुरा तिमीले बुझ्नुपर्छ । आउने मान्छे वा हामीजस्तो मान्छेबाट उठाएर त्यो खर्च असुल गर्नुहुँदोरहेछ । त्यो मैले बुझें,’ उनले भने ।

अस्ट्रेलियास्थित नेपाली दूतावासले भने राजदूतमाथि लागेको आरोप खण्डन गरेको छ ।

श्रीमती जेल परेपछि राजदूतमाथि आरोप

वाङ्छुले आफ्नी श्रीमती जेल परेपछि राजदूतसँगको ‘लेनदेन’ बाहिर ल्याएका हुन् । वैदेशिक रोजगारीको लेनदेन मुद्दामा पक्राउ परेकी वाङ्छुकी श्रीमतीलाई अदालतले १० लाख रुपैयाँ धरौटी मागेकोमा बुझाउन नसकेपछि केन्द्रीय कारागार लगिएकी छन् ।

उनी २०१८ मे २० मा पक्राउ परेकी थिइन् । ‘उनी धेरै मानसिक तनावमा छिन् । तीन साता अगाडि कुरा गर्दा आत्महत्या गर्ने बताएपछि यो विषय बाहिर ल्याएको हुँ,’ वाङ्छुले भने, ‘मेरी श्रीमतीलाई फसाइयो । यसको निष्पक्ष छानबिन हुनुपर्छ ।’

नेपाली दूतावासले २०१७ नोभेम्बर २१ मा वाङ्छु बहुमूल्य सामान चोरेर फरार भएको र घटनालगत्तै सम्बद्ध निकायलाई जानकारी गराएको दाबी गरेको छ । वाङ्छुले भने आफू फरार नभई अस्ट्ेरलियाको प्रहरीले उद्धार गरेको दाबी गरेका छन् । ‘म असुरक्षित भएपछि अस्ट्रेलिया परराष्ट्र मन्त्रालयमा निवेदन दिए । प्रहरीले सबै कुरा सोध्यो । सुरक्षित छैन भन्दै प्रहरीले लिएर गएको हो,’ उनले भने ।

शेर्पालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालीन माओवादी कोटामा अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको हो । माओवादी प्रवेश गर्नुअघि उनी ०६४ मा एमालेबाट समानुपातिक सभासद बनेकी थिइन् । त्यसअघि लक्की एबीसी नेपाल नामक गैरसरकारी संस्थामा आबद्ध थिइन् ।
          December 10, 2018 12:56 pm | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...