Thursday 25th September 2025

बक्यौता उठाउन प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी : ‘ऊर्जामन्त्रीकाे निर्णय मान्छु’ – हितेन्द्रदेव शाक्य

4 days अगाडी

काठमाण्डाै – बाँकी बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी भएको छ । कुलमान घिसिङले ऊर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत् बक्यौता उठाउनेसम्बन्धी पहिलो निर्णय गर्नुभएको थियो । यो निर्णयलाई कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो ।

कार्यकारी निर्देशक शाक्यका अनुसार छिट्टै बैठक बसेर बिजुलीको बक्यौता उठाउन चाल्ने कदमबारे निर्णय गरिने भएको छ । सरकारको निर्णय मानेरै बक्यौता उठाउनेतर्फ लाग्ने उहाँले बताउनुभयाे । बोर्ड बैठकबाट निर्णय भएपछि बक्यौता उठाउन कुनै समस्या नभएको शाक्यकाे भनाइ छ ।

कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएको बेला पटक–पटक बक्यौता उठाउन भनेर बक्यौता तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आउनुभएको थियो । तर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला बिजुलीको लाइन काट्दा जोड्न निर्देशन दिनुभएको थियो ।

प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रङ्कलाइनमार्फत लिएको बिजुलीकाे जरिवानासहित झन्डै २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताउँदै आएको छ । उद्योगीलाई विगतमा लोडशेडिङको समयमा चाैबीसै घण्टा बिजुली दिइएको थियो । तर उद्योगीले प्रयोग नगरेको बिजुलीको समेत बिल आएको भनेर नतिर्ने बताउँदै आएका छन् । उज्यालो

          September 21, 2025 5:02 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...