Monday 13th October 2025

वर्षा कम भए पनि काठमाण्डौ जोड्ने सडकमा गाडी चलाउन रोक, भरे या भोलिदेखि खुल्न सक्ने

1 week अगाडी

काठमाण्डौ – वर्षा कम भए पनि हिजो बिहानदेखि अवरुद्ध विभिन्न ठाउँका सडकहरुमा अझै गाडी चलेका छैनन् । बाढी तथा पहिरोको जोखिम कायमै रहेकोले तत्काल गाडी चलाउने दिइएको छैन । हिजो ठूलो पानी पर्न थालेपछि सरकारले भोलिसम्म काठमाण्डौ उपत्यका जोड्ने र लामो दूरीका सडकमा गाडी चलाउन रोक लगाएको थियो । कतिपय ठाउँमा पहिरो झरेको र कतिपय ठाउँमा पहिरोको जोखिम कायमै रहेकाले तत्काल सडक नखुल्ने प्रहरीले जनाएको छ ।

सडकको अवस्था हेरेर भरे या भोलिदेखि सडक खुलाउने तयारी भैरहेको छ । बाढी पहिरोका कारण केही ठाउँका सडक आंशिक खुलेका छन् भने कुनै ठाउँका अझै पूर्ण रुपमा अवरुद्ध नै छन् । काठमाण्डौ उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरूमा पर्ने नागढुङ्गा, गोदाम, र टखेल सडकखण्डमा हिजो बिहान सात बजेदेखि दुबैतर्फ गाडी रोकेर राखिएको छ ।

यसैगरी, बीपी र अरनिको राजमार्गमा पर्ने काभ्रेको धुलिखेलदेखि सिन्धुपाल्चोक सिमाना हुँदै दुबैतर्फ गाडी आवागमन अनिश्चितकालका लागि रोकिएको छ । बीपी राजमार्गमा बनाइएको डाइभर्सन बाढीले बगाएको छ । पासाङ ल्हामु मार्गका विभिन्न खण्डहरूमा सुख्खा पहिरो खसेको र ढुङ्गा झरेको कारण सडक पूर्णरूपमा बन्द रहेको छ । संखुवासभाको कोशी राजमार्ग अन्तर्गत खाँदबारी–थुमसुर, खाँदबारी–किमाथांका सडकखण्डहरू बाढी र पहिरोले पूर्णरूपमा अवरुद्ध छन् ।  बरुणखोलामा ह्युम पाइप बगाउँदा राजमार्ग सञ्चालनमा आउन नसकेको प्रहरीको भनाइ छ ।

अरनिको राजमार्गको चारकिलो क्षेत्रमा पटक–पटक सडक भासिँदा ठूला गाडी चलाउन समस्या भएको छ । हिजो झन्डै १५ मिटर सडक भासिएपछि यो सडकखण्ड फेरि पूर्ण रूपमा बन्द भएको छ । ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको फाखेल–हुमाने–काठमाण्डौ सडक, चितवनको नारायणगढ–मुग्लिङ सडक, कान्ति लोकपथ, र कुलेखानी–सिस्नेरी–दक्षिणकालि सडकमा समेत पहिरो र बाढीका कारण गाडी सञ्चालन ठप्प भएको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गको गजुरी–५ र ६ तथा बेनिघाट रोराङ– १० को विभिन्न ठाउँमा पहिरो खसेको छ । यी ठाउँहरुमा अहिले पूर्ण रूपमा गाडी रोकिएको छ । त्यस्तै, मध्यपहाडी लोकमार्ग धनकुटा, सिन्धुलीलगायतका ठाउँहरूमा सडक भासिएको र ढुंगा–माटो सहितको पहिरो खसेको कारण बाटो दुईतर्फी बन्द गरिएको छ । तत्काल अत्यावश्यकबाहेक यात्रा नगर्न, यात्रा गर्दा सचेत रहन र वैकल्पिक मार्गको प्रयोग गर्न तथा यात्रामा निस्कनुअघि सम्बन्धित ट्राफिक प्रहरी कार्यालय वा कन्ट्रोल रुमसँग सम्पर्क गर्न समेत प्रहरीले आग्रह गरेको छ । उज्यालो

          October 5, 2025 8:47 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...