वर्षा कम भए पनि काठमाण्डौ जोड्ने सडकमा गाडी चलाउन रोक, भरे या भोलिदेखि खुल्न सक्ने
काठमाण्डौ – वर्षा कम भए पनि हिजो बिहानदेखि अवरुद्ध विभिन्न ठाउँका सडकहरुमा अझै गाडी चलेका छैनन् । बाढी तथा पहिरोको जोखिम कायमै रहेकोले तत्काल गाडी चलाउने दिइएको छैन । हिजो ठूलो पानी पर्न थालेपछि सरकारले भोलिसम्म काठमाण्डौ उपत्यका जोड्ने र लामो दूरीका सडकमा गाडी चलाउन रोक लगाएको थियो । कतिपय ठाउँमा पहिरो झरेको र कतिपय ठाउँमा पहिरोको जोखिम कायमै रहेकाले तत्काल सडक नखुल्ने प्रहरीले जनाएको छ ।
सडकको अवस्था हेरेर भरे या भोलिदेखि सडक खुलाउने तयारी भैरहेको छ । बाढी पहिरोका कारण केही ठाउँका सडक आंशिक खुलेका छन् भने कुनै ठाउँका अझै पूर्ण रुपमा अवरुद्ध नै छन् । काठमाण्डौ उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरूमा पर्ने नागढुङ्गा, गोदाम, र टखेल सडकखण्डमा हिजो बिहान सात बजेदेखि दुबैतर्फ गाडी रोकेर राखिएको छ ।
यसैगरी, बीपी र अरनिको राजमार्गमा पर्ने काभ्रेको धुलिखेलदेखि सिन्धुपाल्चोक सिमाना हुँदै दुबैतर्फ गाडी आवागमन अनिश्चितकालका लागि रोकिएको छ । बीपी राजमार्गमा बनाइएको डाइभर्सन बाढीले बगाएको छ । पासाङ ल्हामु मार्गका विभिन्न खण्डहरूमा सुख्खा पहिरो खसेको र ढुङ्गा झरेको कारण सडक पूर्णरूपमा बन्द रहेको छ । संखुवासभाको कोशी राजमार्ग अन्तर्गत खाँदबारी–थुमसुर, खाँदबारी–किमाथांका सडकखण्डहरू बाढी र पहिरोले पूर्णरूपमा अवरुद्ध छन् । बरुणखोलामा ह्युम पाइप बगाउँदा राजमार्ग सञ्चालनमा आउन नसकेको प्रहरीको भनाइ छ ।
अरनिको राजमार्गको चारकिलो क्षेत्रमा पटक–पटक सडक भासिँदा ठूला गाडी चलाउन समस्या भएको छ । हिजो झन्डै १५ मिटर सडक भासिएपछि यो सडकखण्ड फेरि पूर्ण रूपमा बन्द भएको छ । ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको फाखेल–हुमाने–काठमाण्डौ सडक, चितवनको नारायणगढ–मुग्लिङ सडक, कान्ति लोकपथ, र कुलेखानी–सिस्नेरी–दक्षिणकालि सडकमा समेत पहिरो र बाढीका कारण गाडी सञ्चालन ठप्प भएको प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गको गजुरी–५ र ६ तथा बेनिघाट रोराङ– १० को विभिन्न ठाउँमा पहिरो खसेको छ । यी ठाउँहरुमा अहिले पूर्ण रूपमा गाडी रोकिएको छ । त्यस्तै, मध्यपहाडी लोकमार्ग धनकुटा, सिन्धुलीलगायतका ठाउँहरूमा सडक भासिएको र ढुंगा–माटो सहितको पहिरो खसेको कारण बाटो दुईतर्फी बन्द गरिएको छ । तत्काल अत्यावश्यकबाहेक यात्रा नगर्न, यात्रा गर्दा सचेत रहन र वैकल्पिक मार्गको प्रयोग गर्न तथा यात्रामा निस्कनुअघि सम्बन्धित ट्राफिक प्रहरी कार्यालय वा कन्ट्रोल रुमसँग सम्पर्क गर्न समेत प्रहरीले आग्रह गरेको छ । उज्यालो
October 5, 2025 8:47 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार