Thursday 9th April 2026

पाल्पामा पहिलो पटक जीप पुगेपछि स्थानीयको भिड, चालकको स्वागत

8 years अगाडी

पाल्पा । माथागढी गाउँपालिका-२ को बोक्सादीमा पहिलो पटक जीप पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ।शनिबार गाउँमा पहिलो पटक जीप पुगेपछि उत्साह र खुशियालीका साथ जीप हेर्नेको ठूलो भीड थियो। पन्ध्र वर्षअघि कसेनीसम्म मात्र सडक सञ्जालले जोडिएको भए पनि साबिकको वडा ९ दमार र बोक्सादीका स्थानीयवासीले सडक सुविधाको अनुभूति गर्न पाएका थिएनन्।

सडक सञ्जालले जोडिएको हेर्ने सपना बोकेका स्थानीयवासीको सपना भने अब पूरा भएको छ। गाउँमा गाडी गुडेको हेर्ने सपना बोकेका बोक्सादीवासीको सपना अहिले घर आँगनमा पहिलो पटक जीप पुगेपछि पूरा भएको दिमाया सारु बताउछन्। “गाउँमा सडक आउँला भन्ने आशा थिएन तर अहिले सडक खुलेसँगै घरआँगनमै सवारी साधन गुड्न थाल्यो”, सारुले भने।

शनिबार गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराई र वडा नं २ का अध्यक्ष जनक रिजेलको नेतृत्वमा गाउँमा पहिलो पटक जीप ल्याउने चालक तिलक रिजेललाई स्थानीयवासीले स्वागतसहित सम्मान गरेका छन्। गाउँपालिकाको रु दश लाख सहयोग र दुई लाख बराबरको श्रमदानबाट निर्माण भएको सडक गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले उद्घाटन गरे। गाउँमा स्थानीय सरकार आएपछि साँच्चिकै जनअपेक्षा अनुरुपमा काम गर्ने जनप्रतिनिधि पाएको मीना सारु बताउछिन्।

नियमित सवारीका साधनहरु सञ्चालन हुने भएसँगै उनीहरुले अब भने सुगमको महसुश गरेका छन्। दैनिक रुपमा सवारीसाधन सञ्चालनमा ल्याएसँगै अब त्यहाँ स्थानीय बजारमा उत्पादन भएका खाद्यवस्तुहरु बजारसम्म पुर्याउन सहज भएको छ। गाउँमा उत्पादन हुने खाद्यवस्तुहरु बजारसम्म पुर्याउने यातायातको सुविधा नहुँदा समस्या भोग्दै आएका स्थानीयवासी दैनिक रुपमा गाडी सञ्चालनमा आउने भएपछि त्यहाँका कृषक एवं व्यवसायी हर्षित भएका छन्।

          June 10, 2018 10:50 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...