Saturday 4th April 2026

जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन

8 years अगाडी

रमेश लम्साल
काठमाडौँ । सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर-जनकपुर-कुर्था र बथनाहा-बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ। सो रेलमार्ग सञ्चालनका लागि प्राविधिक तयारीस्वरुप नेपाली र भारतीय अधिकारीबीच मंगलबार र बुधबार छलफल भएको रेल विभागले जानकारी दिएको छ। विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवद्वय केशवकुमार शर्मा र राजेन्द्रराज शर्मा, विभागका महानिर्देशक अनन्त आचार्य, सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारलगायतका अधिकारी सहभागी थिए।रेलमार्ग सञ्चालनका लागि गरिनुपर्ने पूर्वतयारीका बारेमा छलफल भएको विभागको भनाइ छ।

छैन रेल ऐन : नेपाल र भारत जोड्ने रेलमार्ग सञ्चालनको लागि तयार हुने क्रममा रहे पनि सरकारले हालसम्म रेल ऐन तयार गर्न सकेको छैन। यस्तै रेल सञ्चालनसम्बन्धी विभिन्न नियमावली, प्राविधिक, सुरक्षा, प्रशासनिक मर्मत संभारका लागि आवश्यक जनशक्ति कसरी उपलब्ध गराउने भन्ने विषयमा आवश्यक तयारीसमेत हुन सकेको छैन। सरकारले रेल विधेयक तयार पारेर संघीय संसद्मा पेश गर्नुपर्ने हुन्छ। विधेयक तयारीको क्रममा रहेको छ। यस्तै, प्राविधिक जनशक्तिको उपलब्धता र व्यवस्थापनबारेमा पनि संबद्ध निकायले ध्यान दिनुपर्ने र तत्काल त्यसको ढाँचा तयार पार्नुपर्ने आवश्यकता देखिएको छ।

सहमतिअनुसार आगामी जुलाई ९ देखि १९ सम्म हुने दुई देशबीचको संयुक्त बैठकमा प्राविधिक तथा अन्य प्रशासनिक विषयमा सहमति जुटाइने भएको छ। प्रवक्ता उपाध्यायका अनुसार निर्माण सम्पन्न हुन लागेको रेलमार्ग सन् २०१८ को अन्त्यसम्म सञ्चालनमा ल्याइने भएको छ। जनकपुर–जयनगरमा ३५ किलोमिटर लामो रेलमार्ग सञ्चालनमा आउनेछ। विशेषगरी जनकपुर–जयनगर रेल सञ्चालनको मोडालिटीबारे छलफल गर्न भारतीय रेल विभागका अधिकारी काठमाडौँ आएका हुन्। सरकारले भारतीय रेल विभागसँग ‘वेट लिज’मा रेल सम्झौता गर्ने भएको छ। सो सम्झौताअनुसार भारतीय रेल्बे विभागले रेलको डब्बा र अन्य प्राविधिक जनशक्ति उपलब्ध गराउने भएको छ।

नेपालमा नै रेल चलाउने जनशक्ति तयार गर्ने विषयमा समेत भारतीय पक्षले सहयोग गर्ने जनाएको छ। विभागले जनकपुर जयनगरका साथै विराटनगर-बथनाहाको १८ किलोमिटर रेलमार्गमा पनि त्यस्तै सम्झौता गर्न लागेको छ। सो रेल प्रतिघण्टा १०० किलोमिटरको गतिमा दौडनेछ।विभागले जयनगर-जनकपुर-कुर्थासम्मको ३५ किलोमिटर खण्डमा रेल गुडाउन आवश्यक पूर्वाधार निर्माण सम्पन्न भइसकेको जनाएको छ। भारत सरकारले सो रेलमार्ग निर्माणका लागि रु १० अर्ब सहयोग गरेको छ। जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट करीब छ किलोमिटर पर कुर्था भन्ने स्थानसम्म रेलमार्गको लिकसमेत निर्माण भइसकेको छ। हाल निर्माण सम्पन्न भएको र निर्माणका क्रममा रहेको रेलमार्ग ‘ब्रोडगेज’को हो। सो रेलमार्गमा छवटासम्म डब्बा तान्न सक्ने चार इन्जिन राख्ने तयारी गरिएको छ। यस्तै, रक्सौल–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययनको कार्य पनि जारी रहेको छ।

          June 21, 2018 11:17 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...