Friday 3rd April 2026

आपराधिक घटना बढ्दैः आठ महिनामा छ जनाको हत्या

8 years अगाडी

कविता उपाध्याय/लिबाङ, रोल्पा, १२ असार । रोल्पामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो । २०७४ चैत २९ गते गंगादेव गाउँपालिका–४, सालेकुञ्जका ३१ वर्षीय दीपेन्द्र बस्नेतले आफ्नै ससुरा बुबाको बञ्चरो प्रहार गरी हत्या गरे । यसरी आफ्नै ज्वाइँको बञ्चरो प्रहारबाट सोही गाउँपालिका–४ तिखेचुलाका ५२ वर्षीय नरसिंह थापाले अनाहकमा ज्यान गुमाउनु पर्‍यो ।

प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार मदिरा सेवन गरी छोरीलाई कुटपिट गरेको खबर पाएपछि छोरीको अवस्थाका बारेमा बुझ्न गएका थापालाई आवेसमा आई उनका ज्वाइँ दीपेन्द्र बस्नेतले हत्या गरेका हुन् ।अभियुक्त बस्नेतलाई घटनालगत्तै प्रहरीले पाखापानीको जंगलबाट पक्राउ गरी आफ्नो नियन्त्रणमा लिइएको थियो । जिल्ला अदालत रोल्पाको आदेशानुसार हाल उनी पुर्पक्षका लागि थुनामा छन् । यसरी पिताको निधन तथा पति कानूनी कठघरामा परेपछि पीडित परिवारमा अझ पीडा थपिएको आफन्तले बताएका छन् ।

यसैगरी, यही २०७४ चैत १९ गते घरायसी विवादका कारण त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकले बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गरेका थिए । हाल खर्कबहादुर पनि पुर्पक्षका लागि थुनामै छन् ।खर्कबहादुरले आफ्नै दाजु पर्ने सोही गाउँपालिकाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी बसन्ती विकको १९ गते साँझ ४ बजे घर नजिकै खेलिरहेको अवस्थामा बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।यसरी काखका दुवै सन्तानको एकैसाथ निधन भएपछि विक दम्पतीको काख रित्तिएको छ भने सिंगो गाउँ नै दुखी एवं विक्षिप्त भएको छ ।

यसैगरी २०७४ कात्तिक २४ गते रोल्पा नगरपालिकास्थित कोर्चाबाङका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरी २४ वर्षीय पेवावती केसी तथा नातिनी २ वर्षीया दीपा केसी र ६/७ महिनाकी नेहा केसीको बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।बिरामी परेर भेट्न गएका बाबुको हातबाट आफू र आफ्ना दुई नाबालक सन्तानको जीवन निमोठिएपछि उनका श्रीमान् तथा घरपरिवार विचल्लीमा परे ।यी सबैजसो घटनामा मर्ने र मार्ने दुवै पक्ष आफन्त परेपछि जिल्लावासीलाई सशंकित बनाउन थालेको छ । क्षणिक आवेशमा आउँदा यसले निम्त्याउने असरका बारेमा नसोची हतारको निर्णयले आफन्तको ज्यान लिनेक्रम बढेपछि रोल्पाली थप चिन्तित बन्न थालेका छन् ।

प्रनाउ फुयालका अनुसार घटनामा संलग्न जो कोहीलाई कानूनी कारबाही हुन्छ, हुनुपर्छ र भइरहेको छ । तर पनि यतिमात्र घटना नियन्त्रणका लागि पर्याप्त नभएको हुँदा यस किसिमका घटना न्यूनीकरणका लागि मनोसामाजिक परामर्शको खाँचो हुनेमा उनको जोड छ ।उनका अनुसार जिल्लामा विभिन्न कारणले गर्दा आत्महत्याका घटना पनि बढिराखेको अवस्था छ । त्यसैले मनोसामाजिक परामर्शमा विशेष जोड दिनुपर्ने देखिन्छ, उनले भने ।यस किसिमका घटना नियन्त्रणका लागि प्रहरी एक्लैको प्रयास पर्याप्त नहुने भएको हुँदा सामाजिक अभियन्ता पनि सक्रियरुपमा लाग्नु पर्ने अधिकारकर्मीको सुझाव छ ।

          June 26, 2018 12:01 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...