मुस्ताङ दुर्घटनामा बाबुआमा दुबैको मृत्यु भएपछि बालबच्चाको विचल्ली
- हरि वास्तोला
पोखरा । “बाबा आमा जाने बेलामा राम्रोसँग पढ्नु, पकाएर खानु, भाइलाई माया गर्नु भन्नुभएको थियो,” – १२ वर्षीय विवश घर्तीमगरले भने मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका-३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा परी विवशका बाबुआमा दुबैको मृत्यु भएपनि उनका आफन्त र छिमेकीले अझै उनलाई मृत्युको खबर सुनाउन सकेका छैनन्।
बालबच्चाको विचल्ली भएको खबर पाउनासाथ शनिबार राससकर्मी उनीहरू बस्ने घरमा पुग्दा विवशका छ वर्षीय भाइ चाउचाउ खाँदै दाईको कुरालाई खण्डन गर्दै थिए, “बाबा आमाले माया गर्ने भन्नुभएको थियो यसले मलाइ पिट्छ, आज पनि पिटेको थियो।”बाबाआमा गुमाएका ती नाबालकलाई कोठामा भेट्ने र देख्ने जो कोहीलाई यतिखेर निकै चिन्तित बनाएको छ।
१२ वर्षीय विवश र उनका भाई छ वर्षीय विशेषन घर्तीमगरलाई उनका बाबुआमा मौसम घर्तीमगर र जीतमाया घर्तीमगरले पोखराको नयाँबजारस्थित भाडाको कोठामा किराना पसलबाट आवश्यक खाद्यान्न उपलब्ध गराउने व्यवस्था गरी छोडेको लगभग तीन महिनाअघि रोजगारीका सिलसिलामा मुस्ताङ गएका थिए।
घर्तीमगर दम्पत्ति वैशाखअघि त्यहीँ नजिकैको सेतीनदीस्थित रामघाटमा बालुवा बोकेर जिविकोपार्जन गर्दै आएका थिए। वर्षात शुरु भएसँगै सेती नदीमा पानी बढेका कारण रोजगारी खोसिएपछि अर्को रोजगारीको खोजीमा घर्तीमगर दम्पत्ती वैशाखमा बिरूवा कन्ट्रक्सन प्रालिले जोमसोम–लोमान्थाङ सडक निर्माण मजदुरकारुपमा मुस्ताङ पुगेका थिए।
कमाएर कोठा भाडा र छोराहरूले खाएको खाद्यान्नको पैसा बुझाउँछौं, छोराहरूलाई सहयोग गरिदिनु होला, तपाइँकै जिम्मामा छोडेर गयौँ भनेको आजै हो जस्तो लाग्दछ, घरभेटी वीरबहादुर गोदारले दुःख व्यक्त गरे।
बाबु र आमा दुवै अभिभावक गुमाएका नावालकको भविष्यकालागि सरकार लगायत सम्बन्धित निकायबाट उचित व्यवस्था गरिनुपर्ने उनको जोड थियो।
नयाँ बजारस्थित मैत्री चिल्डे«न एकेडेमीमा कक्षा ७ मा पढ्ने विवश र कक्षा एकमा पढ्ने विशेषन खाना पकाइ खाइवरी दिउँसो स्कुल जाने गरेको नयाँ बजारमा नै बस्दै आएकी रोल्पा थवाङकी वीसमाया पुनले बताए।
“बिचरा साना बच्चा छन्, उनीहरूलाई बाबुआमाको मृत्यु भएको खबर दिन पनि सकेका छैनौं,” उनले भभने, “बाबुआमाको मृत्युले यिनीहरूको विचल्ली हुनेभयो।
छिमेकीका अनुसार घरपरिवारलाई सुखी र खुसी बनाउने सोचका साथ मंसीरमा दुबई गएका मौसम बिरामी भएपछि दुई महिनामै स्वदेश फर्की सेतीनदीको रामघाटमा श्रीमतीसँगै बालुवा बोकेर गुजारा टार्दै आएका थिए।
सेती बढेसँगै बालुवा बोक्ने काम पनि बन्द भएपछि रोजगारको सिलसिलामा मुस्ताङ गएका मौसमलाई गएको तीन महिना नबित्दै नियतीले नराम्रोसँग ठग्यो, दुर्घटनामा श्रीमती सहित उनले ज्यान गुमाउन पुगे।
नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरमार्फत शनिबार बिहान दुर्घटनास्थल स्याङ्बोचेबाट पोखरा विमानस्थलमा ल्याइएका मौसम दम्पत्तिको शव पोष्टमार्टमका लागि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
रोजगारीका लागि विकट जिल्ला रोल्पाबाट आएर दुई छोराको पालन पोषण र शिक्षाका लागि मुस्ताङ पुगेका मौसम दम्पत्तिको बारेमा दुःख व्यक्त स्वाभाविकै भएपनि अभिभावक गुमाएका बालकहरूको भविष्यका लागि सरकार, विभिन्न संघसंस्थाले तत्काल सोच्नु अपरिहार्य भएको उनीहरूको कोठामा पुग्नेहरूको एउटै धारणा रहेको छ।
July 8, 2018 11:11 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना