Thursday 2nd April 2026

२० जनाको ज्यान लिएको मुस्ताङ दुर्घटना बढी भार र तीव्र गतिका कारण

8 years अगाडी

बागलुङ । बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका-३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।टिपर चालककै मृत्यु भएपछि दुर्घटनाको सबै कारण खुल्न नसकेको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए।दुर्घटनामा परी बेनी–जोमसोम–कोरला सडक खण्डमा कार्यरत २० मजदूरको मृत्यु भएको थियो भने १२ जना घाइते छन्। “टिपरले ३२ जना मजदूरसहित बालुवा पनि बोकेको पाइएको छ”, प्रनाउ खड्काले भने, “ओभरलोड र तीव्र गतिले दुर्घटनाग्रस्त भएको प्राररम्भिक अनुसन्धानले देखाएको छ।”

टिपर चालक धादिङका २३ वर्षीय सुजन घलानको दुर्घटनास्थलमै मृत्यु भएको थियो। एकातिर कच्ची सडक र अर्कातिर कम उमेरका चालकमा हुने अनुभवको कमीले पनि दुर्घटना निम्तिएको हुन सक्ने बताइएको छ।राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा पर्ने बेनी–कोरला सडक खण्डको निर्माणमा खटिएका रोल्पा, दाङ, कैलालीलगायत जिल्लाका मजदूरले दुर्घटनामा ज्यान गुमाएका छन्।सबैभन्दा बढी रोल्पाका नौ मजदूरको उक्त दुर्घटनामा ज्यान गएको छ। मृत्यु हुनेमा अधिकांश २० देखि ३० वर्षभित्रका छन्। सडक निर्माणको जिम्मा लिएको बिरुवा कन्सट्रक्सनमार्फत मजदूर कामका लागि मुस्ताङ पुगेका थिए।

जाडो याम सकिएपछि मजदूरहरु गत फागुनपछि मुस्ताङ पुगेको जनाइएको छ। दुर्घटनामा घाइते १२ जनाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। सबैको शव नेपाली सेनाको हेलिकप्टरमार्फत शनिबार पोखरा पुर्याई परिवारलाई जिम्मा लगाइएको छ। रोल्पा र दाङका शव सेनाको हेलिकप्टरबाटै लगिएको थियो।बा २ क २२१९ नं को टिपर अपराह्न सडकदेखि झण्डै ४० मिटर तल खसी दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाका घाइतेलाई नेपाली सेना र निजी कम्पनीको हेलिकप्टरबाट उपचारका लागि पोखरा लगिएको थियो।दुर्घटनास्थल सदरमुकाम जोमसोमदेखि ५० किमीको दूरीमा भएको हुँदा तत्काल उद्धार गरी घाइतेलाई अस्पताल पु¥याउन कठिनाइ उत्पन्न भएको थियो। पाँच गम्भीर घाइतेको उपचारका लागि पोखरा पठाउने तयारी हुँदाहुँदै दुर्घटनास्थलमै मृत्यु भएको थियो।

          July 8, 2018 12:26 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...