दिवंगत स्रष्टाको शव एकेडेमीमा राख्ने कि नराख्ने ?
- प्रकाश सिलवाल
काठमाडौँ । साहित्यकार तथा कलाकारको निधनपछि श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा पार्थिव शरीर राखिँदै आएकामा उक्त स्थानको विकल्पबारे बहस शुरु भएको छ।निधनपछि स्रष्टालाई राज्यको प्राज्ञिक निकायको डबलीमा राखेर सम्मान तथा श्रद्धाञ्जलि दिने परम्परा रहेकामा प्रतिष्ठानमा क्रियाशील तीन वटै कर्मचारी संघसंगठनले यसको विरोध गरेपछि बहस उत्पन्न भएको हो।
साहित्यिक वातावरणको संस्थालाई ‘मूर्दाघर’ बनाउन नहुने भनी लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघका अध्यक्ष अशोककुमार चौरसिया, प्रज्ञा प्रतिष्ठान कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष विश्वमोहन राजभण्डारी र प्रतिष्ठान, नेपाल राष्ट्रिय कर्मचारी संगठनका धनबहादुर कार्कीले संयुक्त रुपमा यही असार १६ गते कुलपति गंगाप्रसाद उप्रेतीसमक्ष ध्यानाकर्षण गराएका थिए।स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको २०४७ मङ्सिर १९ मा निधनपछि सो परिसरमा श्रद्धाञ्जलिका लागि शव ल्याउने प्रचलन शुरु भएको हो।
राजधानीको केन्द्रमा रहेको र पर्याप्त पार्किङस्थल भएको प्रज्ञा–प्रतिष्ठानमा दिवंगत स्रष्टालाई राज्यका उच्च तहका व्यक्ति र साहित्यकार–शुभेच्छुकले श्रद्धाञ्जलि दिने र त्यसपछि अन्त्येष्टिका लागि शवयात्रा आरम्भ हुँदै आएको छ तर सो स्थानमा कुन तहका साहित्यकार वा कलाकारको शव राख्ने भन्ने मापदण्ड नतोकिँदा यो कार्य व्यवस्थित बन्न सकेको छैन।कतिपय साहित्यकार र तिनका परिवारले बितेपछि त्यसरी शव राखिनुलाई सस्तो प्रचार ठानेर त्यो कार्य उचित नभएको बताउने गरेका छन् भने कतिपयले आफू जीवित छँदा राज्य र राज्यका प्राज्ञिक निकायले सम्मान नगरेकाले बितेपछि त्यहाँ नलान आग्रह गरिरहेका हुन्छन्।
प्रतिष्ठानका तत्कालीन उपकुलपति केदारमान व्यथितले एक स्रष्टालाई परिसरमा श्रद्धाञ्जलि दिँदै गर्दा आफ्नो ‘चित्त दुखेर’ आफू बितेपछि आफ्नो शव त्यहाँ नल्याउन आग्रह गरेका थिए।प्रतिष्ठानकै पूर्वउपकुलपति मोहन कोइराला, साहित्यकार पारिजातको पूर्वघोषणाबमोजिम उनीहरुको शव पनि प्रतिष्ठानमा राखिएको थिएन। तत्कालीन उपकुलपति मदनमणि दीक्षितले एक कलाकारको निधनपछि त्यहाँ ल्याउन खोजिएको शव रोकाउन खोज्दा त्यस क्षेत्रबाट आपत्ति आएपछि शव ल्याउन खुला गरिएको थियो।
प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष राजभण्डारीले ‘साहित्यिक र सांस्कृतिक वातावरणले आनन्द दिने स्थानलाई मूर्दाघरमा परिणत गर्ने स्थितिको अन्त्य गर्न’ आफूहरुले माग गरेको बताए।“प्रतिष्ठानका हलमा विभिन्न सांस्कृतिक कार्यक्रम भइरहेका हुन्छन्, मान्छेहरु भोज खाइरहेका हुन सक्छन्, त्यस्तो बेलामा पार्थिव शरीर ल्याउँदा वातावरण वियोगान्त बन्न पुग्छ। त्यसैले अब यो क्रम रोकिनुपर्छ।” ज्ञापनपत्र बुझेपछि कूलपति उप्रेतीले यसबारे प्राज्ञ परिषद्को कार्यसूचीमा राखेर निर्णय गर्ने आश्वासन दिएका थिए।
प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले कर्मचारी संगठनले दिएको ध्यानाकर्षणपत्रलाई परिषद्मा राख्न बाँकी रहेको बताउँदै शव ल्याउन रोक लगाउने वा निश्चित मापदण्ड बनाउने भन्नेबारेमा छलफल हुने जानकारी दिए।उनले पुनःनिर्माणको कामसमेत चलिरहेकाले शव बाहिर निकाल्ने पूर्वतिरको ढोकामा निर्माण सामग्री रहेकाले तत्कालका लागि शव ल्याउन र पठाउन गाह्रो हुने प्रतिक्रिया दिए।
प्रतिष्ठानका पूर्वसदस्य सचिव डा तुल्सीप्रसाद भट्टराईले भने स्रष्टाहरु बितेपछि सम्मानका लागि प्रतिष्ठानको डबलीमा शव राख्ने परम्परा कायम हुनु उचित भएको बताए। नेपाल सरकारसँग पनि परामर्श गरी विकल्प खोजेर प्रतिष्ठानले निर्णय गर्ने बताइएको छ। वर्तमान प्राज्ञ परिषद्को कार्यकाल आगामी भदौ २३ मा सकिँदैछ।
July 14, 2018 11:04 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना