‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सुझाव
काठमाडौँ । आदिकवि भानुभक्त आचार्य विषयमा विद्यावारिधि गर्ने भारतका एक साहित्यकारले ‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सकिने बताए। दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा तीन दिन आयोजित प्रथम ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ मा नेपाल आएकी सिक्किम विश्वविद्यालय नेपाली विभागका सहप्राध्यापक डा कविता लामाले ‘भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै विभिन्न भाषामा अनुदित ‘रामायण’को प्रकाशन, भारत तथा विश्वका नेपाली डायस्पोरा समाजमा ‘रामायण’को महत्व र भानुजयन्ती, भारतमा भानु शालिकको स्थापना, ‘रामायण’ अडियो क्यासेटको निर्माण, भानुभक्तमाथि निर्मित पहिलो नेपाली चलचित्र, उनीमाथि गरिएका विभिन्न विद्यावारिधि आदि कारणले सो कुरा पुष्टि हुन सक्ने बताएका छन्।
खरसाङ निवासी डा लामाले भानुभक्त आचार्यका काव्यकृतिको भाषिक अध्ययन विषयमा वनारस विश्वविद्यालयबाट सन् १९९७(विसं २०५४तिर) विद्यावारिधि पूरा गरेका थिए। सिक्किम विश्वविद्यालयको स्कूल अफ ल्याङ्ग्वेजेस एण्ड लिटरेचरमा उन हालै डीनका रुपमा नियुक्त गरिएका छन्। “हिन्दी, असमेली, बंगला, मैथिली, भोजपुरी र अंग्रेजीमा भानुभक्तको रामायणको अनुवाद हुनु भनेको सो कृति विश्वस्तरमा पुग्नु हो, अनि कविलाई विश्व कवि मात्र नभनेर विश्वसम्पदाका रुपमा नै आधिकारिक तौरले स्थापित गर्ने प्रयास गर्नु हो”, कार्यपत्रमा भनिएको छ।डा लामाले नेपाली भाषा साहित्य र समाजमा कवि भानुभक्त विश्वसम्पदाका रुपमा स्थापित भइसकेकाले उनको महान् साहित्यिक सम्पदा ‘भानुभक्तीय रामायण’ लाई पनि राष्ट्रिय अनि अन्तर्राष्ट्रिय संरक्षण प्रदान गराउन तथा विश्व धरोहरका रुपमा स्थापित गर्न आधिकारिक रुपमा पहल हुनुपर्नेमा उनले जोड दिएका छन्।
यसका लागि नेपाल र भारत सरकार दुवैले राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)सित पत्राचार गर्न उनले सुझाव दिएका छन्।सन् २०१४ मा युनेस्कोले नेपालबाट विश्व धरोहरका सूचीमा राखेका लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, काठमाडौँ उपत्यका, सगरमाथा राष्ट्रिय निकुञ्जलाई जस्तै ऐतिहासिक र वैश्विक मूल्यका दृष्टिले आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घा पनि सांस्कृतिक सम्पदाका सूचीमा सामेल गर्न सकिने उनको तर्क छ।
सो प्रक्रियामा सरकारलाई सहयोग गर्ने संस्थामा दुवै मुलुकका नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाली साहित्य अकादमी भारत, अन्तर्राष्ट्रियस्तरमा गठित नेपाल गैरआवासीय संस्था, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्व भुटानी साहित्य संगठन, विश्व नेपाली साहित्य महासंघ आदिले यसमा सहयोगको हात बढाउन सकेमा व्यावहारिक अनि आधिकारिक रुपमा भानुलाई विश्व सम्पदाका रुपमा स्थापना गर्न सफल हुने उनको विश्वास छ।नेपाली भाषा साहित्यका सन्दर्भमा आदिकवि भानुभक्तलाई विश्व कविका रुपमा स्थापित गर्न, विश्व धरोहर घोषित गर्न तथा ज्ञान समाजको प्रमुख हिस्सा बनाउन आजको युवा पुस्ता अघि आउनुपर्ने सुझाव पनि उनको छ।
July 21, 2018 11:03 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना