यसरी चीन र कोरियामा बेचिन्छन् ‘नेपाली दुलही’
बीबीसी । पूर्वी नेपालबाट जागिर खोज्न कामठाडौँ आएका बेला उनलाई साथीहरूले ‘पेपर म्यारिज’ अर्थात् देखावटी विवाह गरेर कोरिया गए टन्न कमाइ हुने बताए।जागिर नपाइरहेका बेला उनलाई पनि साथीहरूको सल्लाह ठिकै लाग्यो। मध्यस्थकर्ताले आकर्षक जागिर र कमाइ हुने लोभ देखाएपछि र सँगै बस्नु नपर्ने आश्वासन दिएपछि उनी छ लाख रूपैयाँ तिर्न तयार भइन्। आफूभन्दा १० वर्ष जेठो कोरियाली नागरिकसँग कागजी विवाह गरी त्यसकै आधारमा ‘पारिवारिक भिसा’ मा उनी कोरिया पुगिन्।
तर त्यहाँ न उनले स्वतन्त्र रूपमा काम गर्न पाइन् न त कागजपत्रका लागि मात्र भनेर बनाइएका श्रीमान्बाट छुटकारा नै। दलालले उनलाई विवाह बहाना मात्र भएको र कोरिया पुगेपछि आफ्नै हिसाबले काम गर्न सकिने लोभ देखाएका थिए।तर ती पुरुषले पटकपटक बलात्कार गर्ने र घरमै बन्दी बनाउने प्रयास गरेपछि कोरियास्थित नेपाली दूतावास र केही मानवाधिकारवादी संस्थाको पहलमा नेपाल फर्केको उनी बताउँछिन्। उनले भनिन्, ‘तिमीलाई मैले कानुनी रूपमै बिहे गरेर ल्याएकाले मसँग बस्नैपर्छ भन्दै (उनले) प्रहरी बोलाएर मलाई पक्राए। मैले सम्बन्धविच्छेद मागेँ र मानव अधिकारवादीलाई गुहारेँ।’
उनी त एउटी प्रतिनिधिपात्र मात्र हुन्। प्रत्येक वर्ष विवाहको बहानामा कोरिया जाने र त्यहाँ पुगेर समस्यामा पर्ने महिलाहरूको सङ्ख्या धेरै रहेको तिनको उद्धारमा संलग्न भएका व्यक्तिहरू बताउँछन्। केही वर्षअघि काठमाडौँमा सञ्चालित ‘म्यारिज ब्युरो’ भनिने विवाह गराइदिने कम्पनीका सञ्चालकलाई यस्तै कार्यमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ समेत गरेको थियो। तर त्यसपछि पनि लुकीचोरी यस्तो काम भने भइरहेको बताइन्छ।यसरी कोरिया जाने नेपाली महिलाले शारिरिक र मानसिक यातना पाउने गरेको कोरियामै बसोबास गर्दै आएकी र पीडितको उद्धारमा समेत संलग्न रहेकी लक्ष्मी गुरुङ बताउँछिन्।
उनका अनुसार २०/२२ वर्षका नेपाली युवतीहरू ५० वर्ष माथिका कोरियाली पुरुषको रोजाइमा पर्ने गरेका छन्। कोरियाली पुरुषले नेपाली युवतीसँग विवाह गर्न दलाललाई ठूलो रकम तिर्ने गरेकाले नेपाली युवतीलाई सजिलै छुटकारा नदिने बताइन्छ।केही वर्षअघि एक नेपाली युवतीलाई कोरियाली श्रीमान् आफैले बेचेको फेला पारिएपछि नेपाल पठाइएको उनले बताइन्। कतिपयलाई भने नेपाली महिलाहरूले नै चलाएका आश्रयगृहमा राखेर नेपाल फर्काइएको गुरुङले जानकारी दिइन्। नेपाल प्रहरीका अधिकारीहरूका अनुसार पनि केही वर्षयता मानव बेचबिखनको प्रकृति परिवर्तन भएको छ। विवाहका बहानामा महिलालाई कोरिया र चीन पठाउने कार्यले पनि मानव बेचबिखनको रूप लिएको उनीहरू बताउँछन्।
July 21, 2018 11:40 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना