एक विषयको मात्रै पूरक परीक्षा, २१ दिन पछि मात्रै प्रमाण-पत्र
रमेश गिरी
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ का विद्यार्थीलाई एक विषयमा मात्रै ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने अवसर दिने भएको छ। कक्षा १२ को नतिजा प्रकाशित गर्न बिहीबार बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै परीक्षा बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले एक विषयभन्दा बढी विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीका लागि कुनै व्यवस्था नगरेको बताए।
नियमित परीक्षामा सहभागी भई अन्य सबै विषयमा ‘सी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्रै अनुपस्थित भएका वा ‘डी प्लस’, ‘डी’, वा ‘ई’ ग्रेड प्राप्त गरेका विद्यार्थीले उक्त विषयको ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुन मौका दिएको छ। यस बाहेक अरू ग्रेड ल्याएका र एकभन्दा बढी विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीका लागि भने बोर्डले यो मौका दिएको छैन। विद्यार्थीले चाहेर पनि एकभन्दा बढी विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन नपाउँने बाध्यकारी व्यवस्था बोर्डले गरेको छ।
उनले भने, “निश्चित एक विषयमाभन्दा बढी विषयमा ग्रेड अर्थात् पूरक परीक्षामा सहभागी हुन पाउने छैन, एकभन्दा बढी विषयमा ग्रेड वृद्धि परीक्षा दिन चाहने विद्यार्थीले भने एक वर्ष कुरेर नियमित परीक्षा तालीका अनुसारको बोर्ड परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ।”यसका लागि बोर्डले आउँदो भदौ १६ गते शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म हुने गरी एक दिन मात्रै ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा सञ्चालन गर्ने भएको छ। ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीले भदौ १० गतेभित्र आवेदन फाराम र शुल्क बुझाइ सक्नुपर्ने व्यवस्था गरेको छ।
बोर्डले ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’ र ‘सी’ प्राप्त गर्ने विद्यार्थीको ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र आगामी २१ दिनपछि मात्रै उपलब्ध गराउने र ‘डी प्लस’ को हकमा भने ग्रेड वृद्धि परीक्षामा सहभागी नहुने भएमा मात्रै यस्ता प्रमाण पत्र दिइने उनको भनाइ थियो। यही पहिला यस्ता प्रमाणपत्र लगिसकेका विद्यार्थीलाई भने परीक्षामा सहभागी हुन नदिने भएको छ।आफूले प्राप्त गरेको ग्रेड चित्त नबुझेमा विद्यार्थीले प्रति विषय रु ५०० दस्तुर तिरेर आगामी १५ दिन अर्थात् भदौ १ गतेभित्र बोर्ड वा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन दिने व्यवस्था गरेको छ।
विद्यार्थीको ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रमा कुनै त्रुटी भएमा आगामी चार महिनाभित्र आवेदन दिएर सच्याउन पाउने व्यवस्था गर्दै त्योभन्दा पछि आएको आवेदनमा कुनै सुनुवाई नहुने व्यबस्था बोर्डले गरेको छ।बोर्डले आज ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको नतिजामा नियमिततर्फ ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन्। यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० जीपीए ल्याउनेमा ५८ हजार ३४५, २.४१ देखि २.४० जीपीए ल्याउने ९० हजार २९९ परीक्षार्थी छन्।
यस्तै १.६१ देखि २.० जीपीए ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४ हजार ४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन्।गत वैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६७५ विद्यार्थी सहभागी भएका थिए भने परीक्षामा ९७ विद्यार्थीको परीक्षा रद्द गरिएको र दुई जनाको परीक्षाको नतिजा स्थगित गरिएको छ।
त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष पौडेलले जानकारी दिए। आंशिकतर्फ २० परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै ४ परीक्षाको नतिजा स्थगित गरिएको छ।परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np तथा नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np लगायतमा हेर्न सकिने बोर्डले जनाएको छ। यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ। नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशन अनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
August 3, 2018 11:17 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै