Wednesday 1st April 2026

छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक

8 years अगाडी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ। छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ। महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला खानेकुरा खान नहुनेजस्ता अन्धविश्वास नहटेपछि सेवा सुविधामा रोक लगाउनु परेको वडाध्यक्ष बहादुर महराले बताए।

‘‘वडामा सेवा लिन आएका सेवाग्राहीलाई छाउपडी प्रथा मान्ने गरे नगरेको सोधपुछ गरेपछि मात्रै सेवा दिने व्यवस्था गरेका छौँ’’, उनले भने। छाउपडीका कारण महिला अलग्गै गोठमा राखिँदा बलात्कृत हुने, सर्प र जंगली जनावरको आक्रमणमा पर्ने तथा विभिन्न रोगको संक्रमण बढ्ने गरेको छ। वर्षौंदेखि कुरीतिका रुपमा चल्दै आएको यस प्रथालाई रोक्न खोजे पनि लुकीछिपी कायमै रहेकाले सेवामा रोक लगाउनु परेको अध्यक्ष महराले बताए। छाउपडी प्रथा अगाल्नेको सेवा सुविधामा रोक लगाउन थालेपछि हालसम्म एक दर्जन बढी व्यक्ति सेवाबाट बञ्चित भएको उनले जानकारी दिए।

वडाले घरेलु हिंसा, बाल विवाह, अनमेल विवाह गर्ने, लागूऔषधमा संलग्न, घरमा शौचालय नभएका, बालबालिकालाई पूर्ण खोप नलगाउने र बालबालिकालाई विद्यालय नपठाउनेलगायतका कार्यमा संलग्नले आफ्नो व्यवहारमा सुधार गर्ने प्रतिबद्धता नगर्दासम्म कुनै पनि सेवा सुविधा दिने गरेको छैन्। वडामा मदिरा बिक्री वितरण, उत्पादन र सेवन गर्नेलाई एक वर्षअघि नै सेवा सुविधा नदिने वडा कार्यालयले नियम बनाई कार्यान्वयन गरिसकेको छ।

          August 4, 2018 12:35 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...