Wednesday 1st April 2026

चिडियाखानाका ८३७ जनावरका लागि बन्यो नयाँ भान्साघर

8 years अगाडी

सञ्चिता घिमिरे
ललितपुर । जावलाखेलस्थित सदर चिडियाखानामा ८३७ जनावरका लागि नयाँ भान्साघर बनाइएको छ। राणाकालीन संरचना भत्काएर आधुनिक र फराकिलो भान्साघर बनाइएको उक्त चिडियाखानाले जनाएको हो। भान्साघर ठूलो हुँदा पकाउन र सरसफाइ गर्न सहज भएको छ। पहिले सानो भान्सामा कोचिएर पकाउन पर्दा कठिन हुन्थ्यो अहिले नयाँ भान्साघर बनेपछि पकाउनेसँगै खाना भाग लगाएर दिन पनि सहज भएको असिस्टेन्ट क्युरेटर गणेश कोइराला बताउछन्। “चिडियाखानामा अध्ययन÷अनुसन्धानका लागि धेरै विद्यार्थी आउने गरेका छन्। ” उनी बताउछन्, “साँघुरो भान्साका कारण पहिले उनीहरूलाई देखाउन र सिकाउन सहज थिएन। आधुनिक खालको भान्सा भएकाले सरसफाइ गर्न पनि सहज भएको छ।”

चिडियाखानामा मुख्य र सहायक गरेर दुई किसिमका भान्साघर छन्। मुख्य भान्सामा नै सबै जनावरका लागि खानेकुरा पकाइने गरिएको छ। मुख्य भान्सामा पकाइएका खानेकुरा कुन बर्गका जनावरका लागि कति र कुन खोरका लागि कति भन्ने छुटयाएर सहायक भान्सामा लगिन्छ। असिस्टेन्ट क्युरेटर कोइराला भन्छन्, “सहायक भान्साबाट नै जनावरलाई आवश्यक मात्रामा खानेकुरा र फलफूल दिइन्छ।” एक दशक पहिलेदेखि चिडियाखानामा पुराना संरचना भत्काएर नयाँ निर्माणका क्रममा भान्साघर पनि निर्माण गरिएको हो। राणाकालमा बनेका पुराना खोर सबै हटिसकेका छन्। चिडियाखानामा अहिले पहिले भालु बस्दै आएको एउटा खोर मात्र बनाउन बाँकी छ। उनी भन्छन्, “त्यो पनि हामीले पहिले यस्तो खोर थियो भन्ने यहाँ आउने आगन्तुकलाई देखाउनका लागि राखेका हौँ।” पुनःनिर्माणभन्दा अघि चिडियाखानामा झण्डै ९० वर्ष अघिका संरचना थिए।

चिडियाखानाको मुख्य भान्सासँगै जनावरका खोर, कार्यालयलगायतका भवन सबै सुधारका क्रममा रहेको व्यवस्थापक डा चिरञ्जीवी खरेल बताउछन्। उनी भन्छन्, “साठी प्रतिशत पुराना संरचना पुनःनिर्माण भइसकेका छन्। जीर्ण भइसकेका र समयानुकूल नभएका खोर हटाएर हामीले आधुनिक खोर बनाइरहेका छौँ।” चिडियाखानामा सूचना प्रविधिलाई डिजिटल बनाउने तयारी भइरहेको छ। आगन्तुकले चिडियाखाना छिर्नासाथ भित्रका बारेमा जानकारी पाउन् भन्नका लागि टिकट काउन्टर नजिकै डिस्प्ले राख्न लागिएको छ। सो डिस्प्ले आगामी वर्षदेखि सञ्चालनमा ल्याइने गरी योजना अघि बढेको चर्चा गर्दै व्यवस्थापक डा खरेल भन्छन्, “भित्र छिर्नासाथ आगन्तुकले कुन जनावर हेर्ने हो, त्यसका बारेमा र चिडियाखानाका बारेमा विस्तृत जानकारी पाउन सक्छन्।” नक्साका आधारमा आगन्तुक आफूले हेर्न चाहेको जनावरको खोरमा पुग्न सक्नेछन्। सूचना कक्ष र मोबाइल एप्सका लागि पनि गृहकार्य अघि बढेको उनी बताउछन्।

पहिले फोहरले ढाकिएका गोही अब सफा बनाउन स्वचालित उपकरणले पानीले गोही सफा गर्ने काम भइरहेको छ। विसं १९८९ मा शुरु भएको चिडियाखानाको व्यवस्थापन २२ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले गरिरहेको छ। नेपाल सरकार र कोष बीच ३० वर्षका लागि संरक्षण गर्ने सम्झौता भएको थियो। चिडियाखानामा वार्षिक झण्डै ११ लाख मानिस अवलोकन गर्न आउँछन्। एक सय चौबिस प्रजातिका ८३७ जनावर यहाँ छन्। यहाँ स्तनधारी, घस्रने, माछा, चरालगायतका प्रजातिका जनावर छन्। नेपालको एक मात्रै यो चिडियाखाना विस्तारको योजनासमेत अघि बढेको छ। सरकारले सूर्यविनायकस्थित जंगलमा प्राणी उद्यान केन्द्र सञ्चालनको तयारी गरिरहेको छ। राणा प्रधानमन्त्री जुद्धशमशेरले व्यक्तिगत मनोरञ्जनका लागि स्थापना गरेको चिडियाखाना नै सदर चिडियाखाना भएर सर्वसाधारणका लागि समेत खुल्ला गरिएको थियो।

          August 9, 2018 11:52 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...