Monday 30th March 2026

क्यानाडामा हुँदै गरेको हिमालयन मेला तथा यसका सहयोगी हातहरु

8 years अगाडी

उत्तर अमेरिकी मुलुक क्यानडालाई आफ्नो कर्म थलो बनाई विगत दुई दशकदेखि नेपाल र नेपालीका लागि सहयोगी हात बनेका बिश्व बर्मा र उनकी जीवनसाथी बिना बर्माको दैनिकी हिजो आज अत्यन्त व्यस्त बनेको छ । उनीहरुको व्यस्तताको कारण बनेको छ, यहि सप्टेम्वर १ तारिकमा क्यानडाको ओन्टारियो प्रोभिन्सको राजधानी टोरन्टोमा हुन गइरहेको हिमालयन मेला । एनसिसियस नामक गैर–नाफामुलक सामाजिक संस्थाको आयोजनामा हुन लागिरहेको उक्त मेलाको तयारीका लागि दिनरात लागिपरेका कैंयन समाजसेवी हातहरुका साथमा यी दम्पत्तीहरु सधैं जसो खटिराखेका हुन्छन् । उनीहरुको खटाई देख्दा यस्तो लाग्छ यो मेलाको सफल आयोजना नै यि कर्मठ हातहरु अनि समाजसेवी हृदयहरुको एक मात्र अभिलाशा हो ।

हिमालयन मेलाको सफलताका लागि खटिइरहेका यस संस्थाका पदाधिकारीहरु तथा सदस्यहरुका अतिरिक्त अन्य शुभेच्छुक तथा सहयोगी हातहरुका साथमा यो जोडी सधैं साधनारत देखिन्छ । एनसिसियसको संस्थापक अध्यक्ष हुँदै हालसम्म संस्थालाई योगदान दिँदै आएका बिश्व बर्मा तथा संस्थाको साँस्कृतिक विभाग प्रमुख बिना बर्माको जोडी मेलाको सफल आयोजनाको निम्ति सधैं दौडधुप तथा संघर्षरत रहेका देखिन्छन् । उनीहरुको खटाईमा मुलुकप्रतिको प्रेम तथा प्रवासमा बस्ने नेपालीहरुको सवाल जोडिएको देखिन्छ ।करिब बीीस वर्षदेखि क्यानडालाई आफ्नो कर्मथलो बनाउँदै आएका बर्मा दम्पत्ति नेपाल र नेपालीलाई विश्व स्तरमा चिनाउन आयोजना गरिने यस्ता सांस्कृतिक तथा प्रवर्द्धनात्मक कार्यक्रमहरुका माध्यमबाट प्रवासमा बस्ने नेपालीहरुले आफ्नो मुलुकप्रति दर्शाउने प्रेम तथा राज्यको श्रीबृद्धिका लागि उनीहरुले दिएको योगदान दर्शाउने कुरा सगर्ब बताउँछन् ।

एनसिसियस तथा हिमालयन मेलाका शुरुवाती दिनका बारेमा चर्चा गर्दा बर्मा दम्पत्ति भन्छन्, ‘करिब दुई दशक पहिला हामीहरु यहाँ (टोरोन्टो) आउँदा मुस्किलले ४०/५० नेपाली परिवार थिए होलान् त्यतिबेला । संख्या त सानो छँदैथियो, झन त्यसमाथि पनि यहाँ भएका नेपालीहरुका बीचमा सम्पर्क र समन्वयको कुनै गतिलो तथा भरपर्दो माध्यम नै थिएन । हामीहरुका बीचमा यावत समस्याहरु विद्यमान थिए जसको निराकरणका लागि संस्थागत ढंगले पहल गर्ने कुनै संयन्त्र नै थिएन । हामीहरुका बीचमा भाषाको समस्या थियो, रोजगारीको समस्या थियो, बाबु नानीहरुलाई विद्यालयमा भर्ना गराउने कुराको समस्या थियो, नेपाली नेपालीकै बीचमा चिनजान र समन्वयको अभाव थियो, कोठा खोज्दा कतै नभेटिने अवस्था थियो, अपार्टमेन्ट व्यबसायीहरुले हामी नयाँ भएका कारण विश्वास नगर्ने समस्या थियो अनि कोठा खोज्दा कतै मिलीहाले पनि ग्यारेन्टर नभेटिने कुराले हामी प्रताडित थियौं।

नयाँ मुलुक, नयाँ परिवेश, भाषा, संस्कृति, संस्कार तथा रितीरिवाज सबै नयाँ हुँदा हामीहरुले अत्यन्त ठुलो समस्या बेहोर्नु पर्थ्यो त्यतिबेला । हाम्रो र विदेशीहरुको काम गर्ने परिपाटी पृथक हुँदा हामी धेरै समस्यामा पर्थ्यो । त्यसैले उक्त समयमा हाम्रा समस्याहरुसँग जुध्न हामीलाई एउटा संगठित शक्तिको जरुरत थियो जसले प्रवासमा रहेका नेपालीका समस्याहरुलाई सम्वोधन गर्न सकोस् अनि नेपालीहरुलाई एकताबद्ध गर्न सकोस् । यसै सोचका साथमा हामीले एन्सिसियस नामक संस्था दर्ता गर्‍याैं ।’उनी थप्छन्  ‘यहाँ रहेका नेपालीहरुका विद्यमान समस्याहरु सम्बोधन गर्न तथा उनीहरुलाई साँस्कृतिक पहिचानका माध्यमबाट एकआपसमा नजिक तुल्याउन हामीलाई एउटा साझा कार्य थलोको जरुरत थियो। हामी चाहन्थ्यौं कि हामीले विगतका दिनमा जे जस्ता समस्याहरु देख्यौं, भोग्यौ सोही प्रकारका समस्याहरुको पुनराबृत्ति नयाँ पुस्तामा नहोस् भन्ने आशयका साथ संस्थागत ढंगले अगाडि बढ्दै जाँदा एनसिसियस नामक संस्थाको जन्म भयो ।’

उनी थप्छन्, ‘आज यो संस्था क्यानाडामा बसोबास गर्ने आम नेपालीहरुको साझा चौतारो समान भएको छ । यसमा हामीलाई गर्व महसुस हुन्छ । यसको सबलीकरण र सार्थकतामा नै हामी सम्पुर्ण प्रवासीहरुको पसिनाको मुल्य जोडिएको छ, यसको जगेर्ना गर्नु पर्दछ ।’हरेक वर्ष मनाइने हिमालयन मेलाका सम्वन्धमा उनी भन्छन्, ‘आफ्ना सन्ततीहरुलाई मुलुकप्रतिको कर्तव्यबोध गराउन, जन्मभुमी प्रति प्रेमभाव दर्शाउन, नेपाली नेपालीहरुका बीचमा भाइचाराको सम्बन्ध बिस्तार गर्न, एक आपसका दुःख पिर तथा खुशी साटासाट गर्न, अनि सम्पुर्ण नेपालीहरुलाई प्रवासमा बसे पनि मातृभुमी प्रति जिम्मेवार छौ भन्ने भाव दर्शाउन यस्ता कार्यक्रमहरुले टेवा पुर्‍याउने गर्दछ ।

उनी अगाडि थप्छन्, ‘करिब डेढ दशकदेखि हामी यो मेला लगातार मनाउँदै आई राखेका छौ र भावी दिनहरुमा समेत यसलाई अझ सशक्त र सफल बनाउन लागि पर्नेछौं । यस्ता कार्यक्रमहरुको निरन्तरता र प्रभावकारिताका माध्यमबाट हामीले हाम्रो एकता र भातृत्वलाई अझ मजबुत, दिगो र पारिलो बनाउन सक्छौं । उनका विचारमा यस्ता संस्थाहरुको प्रभावकारिता त्यतिबेला मात्र स्थापित हुन जान्छ, जतिबेला संस्थाले स्थापनाका बखत लिएको उद्देश्य परिपूर्तिका लागि आफुलाई सक्षम प्रमाणित गर्दछ ।’उनी थप्छन्, ‘एन्सिसियस आफ्नो उद्देेेेश्य प्राप्तिमा सफल हुँदै गएको छ र यसमा हामीलाई अत्यन्त गर्व महसुस हुन्छ’ । यस्ता संस्थाहरुको सामाजिक उत्तरदायित्व धेरै हुने कुरा बताउने बर्मा दम्पत्ति नयाँ पुस्ताको काँधमा अझ धेरै जिम्मेवारी आएको कुरा बताउँछन् ।

यस वर्षको हिमालयन मेलाका सम्बन्धमा उनी थप्छन्, ‘यसपटक हामीले नेपाली साँगीतिक क्षेत्रका चर्चित गायक रामकृष्ण ढकाललाई कार्यक्रममा निम्त्याएका छौ । यसका साथै उक्त कार्यक्रममा, प्रवासमा रहेर संगित साधना गर्दै रहेको साङ्गीतिक समुह ‘हिमालयन भाईव’ तथा स्थानीय कला र संगित साधकहरुले आआफ्नो प्रस्तुती दिने छन् ।यस्ता कार्यक्रमहरु आयोजना गर्दा आम नेपाली दर्शक तथा श्रोताहरुले नेपाली गीत संगितको आनन्द त लिने नै भए यसका अतिरिक्त विश्व सामु नेपाल र नेपालीलाई चिनाउन समेत योगदान दिने कुरा उनी बताउँछन् ।उनी थप्छन्, ‘यस्ता कार्यक्रमका माध्यमबाट हामी हाम्रो पञ्चेबाजा धिमे र कर्नाललाई विश्वसामु चिनाउन सक्छौं अनि नेपालको लोक सभ्यता र पहिचान लाई अरुका सामुन्ने प्रदर्शन गराउन सक्छौ । हामी चाहन्छौ हाम्रो मुलुकलाई विश्व जनमानस समक्ष गर्वसाथ प्रस्तुत गर्न सकियोस् ।’

यस्ता मेला र साँस्कृतिक कार्यक्रमले विदेशी भूमि नेेपालको  पहिचान स्थापित गर्न सहयोग पुर्‍याउने कुरा उनी सगर्व बताउँछन् । एनसिसियसद्वारा बर्षेनी आयोजना गरिने हिमालयन मेलालाई उनी यो एउटा नेपालको कल्चरल प्रमोसन ईभेन्टका रुपमा मात्र नभै कल्चरल डिम्लोम्यासीको रुपमा समेत हेर्नु पर्ने कुरा बताउँछन् ।

उनको बिचारमा यस्ता कार्यक्रमहरुले दुई देशका नागरिकहरुको बिचमा मित्रवत् भावना विस्तार गर्न टेवा पुर्‍याउँछ । नेपालको पर्यटन प्रबर्द्धनमा योगदान पुर्‍याउँछ।कुराकानी कै क्रममा बर्मा दम्पत्ती भन्छन्, ‘नेपाल र क्यानाडाका बीचमा मित्रताको सेतु निर्माणमा टेवा पुर्‍याउने यस्ता कार्यक्रमहरुले भावी दिनहरुमा नेपालको कला, संस्कृति र सभ्यताको जगेर्ना गर्न तथा यसको अन्तराष्ट्रियकरण गर्न समेत टेवा पुर्‍याउनेछ । उनीहरु थप्छन् ‘हाम्रो अस्तित्व त्यतिबेला सम्म रहन्छ जतिबेला सम्म हाम्रो पहिचान कायम रहन्छ ।’अन्तमा , विविधताका बीच एकता अनि भिडहरुका बीचमा आफ्नो पृथक पहिचान स्थापना गर्न सहयोग पुर्‍याउने यस्ता पहिचानमुलक मेलाहरुको आयोजना गर्दा हुने दौडधुप र थकानलाई, मेलाको सफल आयोजनाको अभिष्ठले छायाँमा पारेको बताउने उनीहरु हरेक वर्ष जस्तै यस पटक पनि कार्यक्रम भव्य रुपले सफल हुने कुरामा ढुक्क देखिन्छन् ।

          September 1, 2018 2:53 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...