Sunday 13th July 2025

साउदि अरबमा नेपाली कामदारहरूको समस्या दिनानु बढ्दो, सरकार सुस्त, गैर जिम्मेवारी र दण्डहिनता यत्र तत्र ।

7 years अगाडी

-साउदी सम्वाददाता

साउदी अरबको अजमिल कन्ट्राक्टिङ कम्पनीमा सदिक्षा ओभरसिजले पठाएका कामदारहरू इकामा, काम, तलब र खान समेत नपार्इ सिकिस्त समस्यामा छन ।

कानुनतः जिम्मेवार र जबाफदेही उक्त रोजगारदाता र पठाउने म्यानपावर एजेन्सीलार्इ पटक पटक आग्रह, बिन्ति गर्दा पनि समस्या समाधानमा कुनै चांसो नदेखाए पछि आफ्नो न्याय, सुविधा, उद्धार र क्षतिपूर्तिका लागि उनिहरूले नेपालको बैदेशिक रोजगार बिभाग, श्रम तथा रोजगार मन्त्रीज्यु र साउदीस्थित नेपाली नियोगहरू साथै यहांको एनआरएनए साउदीमा समेत पुगिसकेका छन । मन्त्रालयको तोक आदेश र बिभागमा परेको उजुरी निवेदनका आधारमा बिभागले पीडक म्यानपावर र पीडितका आफन्त दुबै पक्षलार्इ बोलार्इ बिभागमा २ चरणको छलफल गरिसकेको छ तर म्यानपावरले बिभागमा भएको त्रिपक्षिय लिखित सहमति समेत तोड्दै, अवज्ञा गर्दै उद्धारमा कुनै चांसो देखाएको छैन । यता नियोगहरूपनि समस्याको जानकारी पाएर पनि कुनै कदम नचाली बसेका छन र परिणामतः पीडितहरूको अवस्थामा कुनै सुधार आउन सकेको छैन, उद्धार तर्फ कुनै कार्य प्रगति भएका छैनन ।

गतः अगस्तको अन्तिम सातामा पीडितहरूले एनआरएनए साउदीमा पनि सहयोगका लागि लिखित निवेदन दिएपछि यो संस्थाले भने केही चांसो देखाएको छ । ३० अगस्त बिहिबार राती नै एनसिसी साउदी अरबका बरिस्ट उपाध्यक्ष डमर यादव, उपाध्यक्ष उषा के सी र महासचिव तेज थापाले पीडितहरूलार्इ उनीहरू रहेको क्याम्पमै पुगेर भेटी समस्याबारे सोधपुछ गर्दै तत्काल आवश्यक मानविय सहयोग स्वरूप करीब १ हप्तालार्इ पुग्ने खाद्य सामाग्रीहरू संस्थाको आपतकालिन उद्धार कोषबाट उपलब्ध गराएका हुन । यसबारेमा इमेल मार्फत संस्थाको माथिल्लो निकाय (आइसिसी)लार्इ पनि जानकारी दिंदै आइसिसी सदस्य धरम के सी ले साउदी स्थित दुबै नियोगका श्रम सहचारीहरूको बिशेष ध्यानाकर्षण गर्दै सहयोगका लागि सरकारी निकायहरूलार्इ घचघचाइरहेका छन ।

हाल साउदी अरबको पुर्बी क्षेत्रिय शहर थुक्बामा रहेका कूल ३५ जना पीडित नेपालीहरूमध्य ८ जना गतः महिनासम्म १७०० किमी टाढा सुदूर पश्चिमी शहर ताबुकबाट कम्पनीले नै स्थानान्तरण गरी ल्याएको थियो । ताबुक महाबाणिज्यदूतावास जेद्धाको कार्य क्षेत्र हो भने थुक्बा (पुर्बी क्षेत्र) रियादस्थित दूतावासले नै हेर्ने गरेको छ, साथै पुर्बी क्षेत्र हेर्नकै लागि १ जना स्थानिय कर्मचारी पनि दूतावासले खटाएको छ । तर पनि पीडितहरूले साउदी अरबमा नियोगहरू रहेको र नेपालमा सरकार र कानुन रहेको अनुभूति गर्न पाएका छैनन ।

बितेको १० दिनमा चामल बाहेक अरू सबै खानेकुरा सकिर्इ पुनः भोकभोकै बस्नुपर्ने संकट परेपछि पीडितहरूको माग र अनुरोधमा मानवीय सहयोग पुर्याउन अध्यक्ष नारायण पासवानकै नेतृत्वमा एनआरएनएको अर्को टोली आज पुनः पीडितहरूको क्याम्पमा पुगी चामल बाहेकका अन्य खाद्य सामाग्रीहरू – दाल, तरकारी, नुन, तेल आदि उपलब्ध गराएको छ ।

यसरी नेपाली कामदारहरू प्रबासमा सिकिस्त समस्यामा पर्दा पनि पठाउने म्यानपावर रोजगारदाता गैर जिम्मेवार बनिरहनु र सरकारी निकायहरू पनि सुस्त र बेप्रबाह देखिदा सर्बत्र निराशा छाएको छ, सरकार प्रतिकै आशा, बिश्वास र भरोसा दिन प्रतिदिन गिर्दो, मर्दो अवस्थामा छ । सरकार कहिले जाग्ने? कानुनको कार्यान्वयन कहिले हुने? पीडितले न्याय, उद्धार र क्षतिपूर्ति कहिले पाउने? र दण्डहिनताको अन्त्य भर्इ बैदेशिक रोजगारमा सबैले अपेक्षा गरेको न्याय र सुशासन कहिले देख्न पाइने? सर्बत्र यही चिन्ता, प्रश्न, उकुस मुकुस र निराशा ब्याप्त रहेको छ ।

          September 10, 2018 11:30 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...