रूखले जोगायो ज्यान : यात्रु भन्छन् – “भगवानले हात थापेजस्तो गरी सबैको ज्यान जोगियो” !
कहिले सडकको दायाँबायाँ गाडी कुदाउने । कहिले सम्मै बाटामा पनि अचानक ब्रेक लगाउने ।बुधबार साँझ दार्चुलाबाट महेन्द्रनगरतर्फ लागेको गाडीचालकको व्यवहार हेरेर यात्रुले पटक-पटक सचेत गराएका थिए तैपनि ना५अ ९११४ नम्बरको बसका चालक पदम पन्तले सुने नसुनेझैं गरी गाडी दौडाए ।चालकसहित २४ यात्रु बोकेको बस बिहान ३ बजे दुर्घटनामा पर्यो । संयोग, सडकबाट ३० मिटर तल रहेको सल्लाको एक रूखमा गाडी अड्किँदा सबैको ज्यान जोगियो । यो खबर आजको ‘कान्तिपुर’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ ।डोटीको जोरायल गाउँपालिकामा पर्ने गुडर–रुवसकाँडा सडक खण्डमा बस दुर्घटनामा परेको हो । ‘भगवान्ले हात थापेजस्तो गरी सबैको ज्यान जोगियो,’ घाइते राजु विकले भने, ‘बस रूखमा नअड्किएको भए ठूलो दुर्घटना हुन्थ्यो । हामी बाँच्न मुस्किल थियो ।’
गाडी खस्दा अधिकांश यात्रु निद्रामा थिए । ‘गाडीमा मीठो हिन्दी गीत बजिरहेको थियो । अधिकांश यात्रु निदाएका थिए । म पनि निदाउनै लागेको थिएँ,’ विकले भने, ‘एक्कासि गाडी ओरोलो झर्यो । सबै यात्रुको मुखबाट डरलाग्दो आवाज आयो । मेरो पनि होसै हराएजस्तो भयो ।’घाइते यात्रुले चालक पन्तको लापरबाहीका कारण दुर्घटना भएको बताए । उनी निदाए वा मदिरा सेवन गरे भन्ने यकिनचाहिँ उनीहरूले गर्न सकेनन् ।‘त्यहाँ दुर्घटना नहुँदै हामीले दुई/तीन पटक राम्रोसँग गाडी चलाउन चालकलाई सम्झाएका थियौं,’ विकले भने ।उक्त बसमा १ बालक, २ महिलासहित २४ जना यात्रु सवार थिए । उक्त सडक खण्ड बढी दुर्घटना हुने क्षेत्रमा पर्ने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकले देखाउँछ ।बस अड्किएको ठाउँभन्दा करिब २ सय मिटर तल ठाडो भिरालो छ ।
उद्धार टोलीमा खटिएका असई लोकबहादुर पालले अप्ठेरो ठाउँमा बस अड्किएको बताए ।‘बसभित्र अड्किएकालाई सावधानीपूर्वक उद्धार गरियो,’ उनले भने, ‘ज्यान जोगिनुलाई भगवानले हात थापेकै ठान्छु ।’ घटना भएको तीन घण्टाभित्र सबैलाई उद्धार गरी उपचारका लागि धनगढी पठाइएको थियो ।क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त दुर्घटनामा परी गम्भीर घाइते चालक पदम पन्त, बस मालिक गंगादत्त जोशी, कञ्चनपुर सुडा बस्ने २५ वर्षकी उर्मिला बोहरा र भीमदत्त नगरपालिका १४ का देवलाल जोशीलाई भारत रिफर गरिएको छ ।कञ्चनपुर बेतकोट बस्ने जय भण्डारी, हर्क भण्डारी र सुर्खेत घर भएका प्रदीप सुनारलाई नेपालगन्ज रिफर गरिएको छ ।अन्य घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
September 14, 2018 11:59 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै