Sunday 29th March 2026

पूर्णिमा कृषि सहकारीले माछा र कुखुरापालनलाई प्राथमिकता दिने( फोटो फिचर सहित)

8 years अगाडी

बिर्तामोड सहरभन्दा केही पर व्यक्तिको जमिन भाडामा लिएर पोखरी बनाई माछापालन गर्दै, ब्रोइलर कुखुरापालन तथा सागसब्जी लगाएर सहकारी व्यावसाय गर्दै आएको पूर्णिमा कृषि सहकारी संस्थाले भदौ ३० गतेबाट नयाँ नेतृत्व पाएको छ । भदौ ३० गते सम्पन्न छैटौं साधारणसभाले संस्थाको अध्यक्षमा छविलाल विश्वकर्मालाई चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा तेजप्रसाद संग्रौला तथा लेखासमितिको संयोजकमा नितेश बानियाँलाई सर्वसम्मत चयन गरिएको छ ।

साधारणसभाले सञ्चालक समितिको सदस्यमा देशमाया बेघा, रञ्जना कुरुङवाङ, नरेन्द्रकुमार भट्टराई, चन्द्रप्रसाद खरेल र वीरबहादुर दर्नाललाई जिम्मेवारी दिएको छ । यस्तै लेखा समितिको सदस्यमा लक्ष्मी मैनाली र रमा पौडेललाई सर्वसम्मत निर्वाचित गरेको अध्यक्ष विश्वकर्माले जानकारी दिएका छन् । प्रदेश १ का सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारणसभामा बिर्तामोड नगरपालिका वडा न.ं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, राष्ट्रिय सहकारी बैङ्क बिर्तामोड शाखाका प्रमुख सबिना बस्नेत, जिल्ला कृषि सहकारी संघ झापाका सचिव रामप्रसाद ओली लगायतले मन्तब्य राखेका थिए । गत आर्थिक वर्षको वासलात एक करोड ७ लाख रुपैयाँ रहेकोमा चालू वर्षमा सो अंक दोब्बरले बनाउने अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

गतवर्ष २९ लाख ८९ हजार शेयर पूँजी रहेकोमा यो वर्ष ४३ लाख ३४ हजार रुपैैयाँ पुर्याइएकाले चालू वर्षमा कम्तीमा एक करोड रुपैयाँको पूँजी पुर्याउने लक्ष्य राखेको अध्यक्षले बताएका छन् । चालू वर्षमा संस्थाले एकीकृत कृषि फर्मलाई आफ्नै स्वामित्वमा सञ्चालन गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । चालू वर्षमा १५ सय कुखुरा अटाउने अर्को खोर बनाउने, हाल बोटबिरुवाले घेरिएको जमिनलाई घेराबारा गरी लोकल कुखुरा पालन गर्ने तथा दुईवटै माछा पोखरीमा पंगास जातको माछाका १५ हजार भूरा छाड्ने अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । अध्यक्षले प्रस्ताव गरेका सबै कार्यक्रमलाई हलले पारित गरेकाले चालू वर्षमा पूर्णिमा कृषि सहकारीले आफूलाई गहकिलोरुपमा उभ्याउने राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख सबिना बस्नेतले बताइन् । उनले संस्थाले माग गरेको रकम हाराहारी कजौ पास हुन सक्ने आश्वासन पनि दिएको बताइएको छ ।

          September 16, 2018 5:21 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...