Sunday 29th March 2026

सरकारले मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने

8 years अगाडी

मुस्ताङ, ५ असोज । नेपाल सरकारले हिमाली पर्यटकीय जिल्ला मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ ।घरपझोङ गाउँपालिका–२ मार्फामा बिहीबार शुरु भएको ‘४८औं थाक खेलकूद प्रतियोगिता’ उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले मुस्ताङमा हाइ अल्टिच्युड र साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन् ।

‘खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुसार कार्यान्वयन प्रक्रिया अघि बढेको छ,’ मन्त्री विश्वकर्माले भने, ‘ यसका लागि स्थानको सम्भाव्यता अध्ययन भइरहेको छ ।’ उनले मुस्ताङमा थातथलो भएका थकाली समुदायको ‘आर्चरी खेल’ प्रर्वद्धनमा सरकारले प्राथमिकता दिने प्रतिबद्धता जनाए ।प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले मुस्ताङको खेलकूद र सँस्कृति संरक्षणमा थाक खेलकूद प्रतियोगिताले उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।

उक्त प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला भलिबल, आर्चरी, मिस मुस्ताङ, थकाली भाषामा गीत र नृत्यको प्रतियोगिता गरिने थाक खेलकूद विकास सङ्घका अध्यक्षसमेत रहेका प्रदेश सांसद चन्द्रमोहन गौचनले जानकारी दिए ।प्रदेश सांसद महेन्द्रबहादुर थकाली, इन्द्रधारा बिष्ट, जिसस प्रमुख छिरिङल्यामु गुरुङलगायत स्थानीय तहका प्रमुखको सहभागिता रहेको उक्त कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

सबै प्रतियोगितामा मुस्ताङका आठ क्लबले सहभागिता जनाएका छन् । पुरुष भलिबलको उद्घाटन खेलमा साविक विजेता निर्मल स्पोर्सट क्लब लेतेले जनकल्याण युवा क्लब स्याङलाई पराजित गरेको थियो ।चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी हुनेले रनिङ शिल्डसहित नगद पुरस्कार प्राप्त गर्नेछन् । सोही अवसरमा घरपझोङ गाउँपालिकाले कृषि मेला प्रदर्शनीको समेत आयोजना गरेको छ । रासस

          September 21, 2018 12:03 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...