Sunday 29th March 2026

वैदेशिक रोजगारीको कहर : अंगभंग भएका रामकुमारले सहयोग पाएनन्

8 years अगाडी

काठमाडौं। रामेछापका रामकुमार बोहोरा घरको आर्थिक अवस्थालाई बलियो बनाउने सपना बोकेर रोजगारीकालागि साउदी अरब पुगे। साउदी पुगेको केही समयपछि उनी सडक दुर्घटनाा परे। अहिले उनी अंगभंग भइ नेपाल फर्किएका छन्। तर उनले कतैबाट पनि आर्थिक सहायता पाएका छैनन्। सवारी चालकको कामकालागि साउदी पुगेका बोहोरा कार्यरत अवस्थामा नै सडक दुर्घटनामा परेका थिए। रामकुमार वैदेशिक रोजगारकालागि साउदी ०७४ साल वैशाख १४ गते माउन्ट कन्चन इन्टरनेशनल प्रालि मार्फत गएका थिए। साउदी गएको तीन महिनामा नै उनी दुर्घटनामा परेका थिए। दुर्घटना परेपछि रामकुमारलाई विभिन्न सामाजिक संस्थाको पहलमा पुस १७ गते नेपाल ल्याइएको उनकी श्रीमती निरु पन्त बोहोराले बताइन्।

उनी सडक दुर्घटनामा परी जीवन–मरणको दोसाँधमा नेपाल फर्किएका थिए। उनको उपचारमा कार्यरत कम्पनीले कुनै सहयोग नगरेको निरुले गुनासो गरिन्। रामकुमारलाई उपचारकालागि न्युरो अस्पताल र त्यसपछि वीर अस्पतालमा राखिएको तर उनको शरीरको आधा भाग नचल्ने भएको निरुले बताइन्। अस्पतालको रिपोर्टमा रामकुमारलाई प्यारालाइसिस् देखिएको छ। रामकुमारलाई हाल अस्पतालबाट घर लगिएको छ। तर उनको शरीरको आधा भाग चल्ने अवस्था छैन।

मेनपावर कम्पनीले पनि पीडित रामकुमारकलाई कुनै सहयोग गरेको छैन्। रामकुमारलाई विदेशमा कार्यरत कम्पनीले पनि ३ महिनाको तलब नदिएको पीडितका आफन्तले बताएका छन्। यस्तो अवस्थामा मेनपावर कम्पनीले गरेको साउदीको कम्पनी सँगको सम्झौता अनुरुप मेनपावरले नै यसको जिम्वेवारी लिनुपर्ने हुन्छ। तर, मेनपावर कम्पनी पनि चुपचाप छ।

रामकुमारकी श्रीमती भने सहयोगको अपिल गर्दै कहिले वैदेशिक रोजगार विभाग त कहिले वैदेशिक रोजगार बोर्ड धाइरहेकी छन्। बोर्डले पनि अंग भंग भएका रामकुमारलाई अझै आर्थिक सहायता प्रदान गरेको छैन्। रामकुमारको शरीरको आधा भाग नचलेर उपचारत अवस्थामा रहँदा समेत उनलाई अंग भंग भएको भनेर स्वीकार नगरेको भन्दै पीडितकी पत्नी निरुले गुनासो गरिन्।उनलाई बोर्डले एक महिना पछि मात्र आउन भनेको छ। आफूसँग पैसा नभएको र हस्पिटलमा राख्दा धरै ऋण लागि सकेकोले उनलाई हाल घरमै राख्दै आएको निरुले भनिन् । उनको उपचारको लागि ३ /४ लाख खर्च भइसकेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमाफर्त जीवन बिमा गराएर साउदी पुगेका रामकुमार दुर्घटनामा परेर फर्के पनि इस्योरेन्स कम्पनीले समेत उपचार खर्च नबेहोरेको आफन्तको गुनासो छ। तीन/चार लाख उपचारको लागि खर्च भइसके पनि इन्स्योरेन्स कम्पनीले उपचारको लागि सहयोगार्थ रकमदिन झन्झट गरेको उनीहरुले बताएका छन्।

रामकुमार र निरुकी ३ वर्षकी एउटी छोरी छन्। २८ वर्षका रामकुमार यसरी थलिपछि निरु निकै पीडामा छिन्। अब घर व्यबहार कसरी चलाउने भन्ने चिन्ताले उनलाई पीरोलेको छ । श्रीमानको उपचारको लागि कतैबाट आर्थिक सहायता नभएपछि सहयोगको लागिकहिले बोर्ड त कहिले इन्स्योरेन्स कम्पनी धाउँदैमा ठिक छ।

          September 21, 2018 12:36 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...