Sunday 29th March 2026

सहकारीमार्फत दशैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने

8 years अगाडी

काठमाडौँ । नेपाल खाद्य संस्थानले सहकारीमार्फत दशैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। संस्थानले रामशाहपथ, थापाथली र नख्खुबाहेक अन्य ठाउँमा सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए। उनका अनुसार करीब १२ सहकारी संस्थालाई संस्थानबाट खाद्यान्न उपलब्ध गराई पसल सञ्चालनको जिम्मा दिइनेछ।

“कर्मचारी अभाव र सर्वसाधारणलाई पहुँच पुर्याउन यसपटकदेखि हामीले सहकारीमार्फत चाडपर्वमा खाद्यान्न वितरण गर्न थालेका हौँ”, उनले भने। यसअघि संस्थानले उपत्यकाका आठ ठाउँमा पसल सञ्चालन गरेको थियो। संस्थानले यस वर्ष चाडपर्वलाई लक्षित गरी दुई हजार खसी र च्याङ्ग्रा ल्याउने भएको छ। पाँच सय खसी दाङ, ५०० खसी हेटाँैडा तथा एक हजार च्याङ्ग्रा मनाङबाट ल्याइने भएको संस्थानका सूचना अधिकारी शङ्कर सापकोटाले जानकारी दिए।

उनका अनुसार खसी र च्याङ्ग्रा सङ्कलन गर्न त्यहाँस्थित कार्यालयलाई निर्देशन दिइसकेको छ। संस्थानका ती ठाउँमा रहेका कार्यालयले घट्स्थापनापछि खसी र च्याङ्ग्रा काठमाडौँ पठाइनेछ। खसी र च्याङ्ग्रा थापाथलीस्थित अञ्चल कार्यालयबाट वितरण गरिनेछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले खसी र च्याङ्ग्राको मूल्य निर्धारण गर्नेछ। संस्थानले यसपटक आठ किसिमका चामल बिक्री वितरण गर्नेछ। बासमति, जापानिज, जिरा मन्सुलीसहित कर्णालीको फापर, सिमीसमेत बिक्री वितरणमा राखिने भएको छ। संस्थानले यही असोज १२ देखि छठ पर्वसम्म पसल सञ्चालन गर्ने भएको छ।

          September 22, 2018 10:44 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...