Friday 27th March 2026

अधिवेशनको पूर्वसन्ध्यामा प्रेस युनियनका ४२ सदस्यद्वारा सामूहिक राजीनामा

8 years अगाडी

उर्लाबारी । नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन्। युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन्। शुक्रबार अधिवेशन हुँदैछ। युनियनको अध्यक्षमा पत्रकार भोजराज बस्नेतले दाबी गरेकामा आफूलाई अध्यक्षमा सर्वसम्मत चयन गर्न पहल गरे पनि सहमति हुन नसकेपछि उनको नेतृत्वमा ४२ सदस्यले राजीनामा दिएका हुन्।

जिल्ला अध्यक्षमा पत्रकार कुमार लुइँटेलले पनि दाबी गरेका छन्। नेपाल पत्रकार महासङ्घ मोरङको निर्वाचनका बेला अनन्त न्यौपानेलाई उम्मेदवार बनाउन बस्नेतलाई युनियनको अध्यक्षको जिम्मेवारी दिने भद्र सहमति भएपनि कार्यान्वयनकोे अवस्था नरहेकाले सामूहिक राजीनामा दिएको बस्नेतले जानकारी दिए।

उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्माले जिल्ला समितिमा ४० प्रतिशत सदस्य रहेको पूर्वी मोरङका पत्रकारलाई युनियनले उपेक्षा गरेकाले राजीनामा दिएको बताए। अब स्वतन्त्र रूपमा पत्रकारिता गरिन्छ, शेर्माले भने। शेर्माले केही दिनअघि नेपाली काङ्ग्रेसबाट निर्वाचित उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रेस संयोजकबाट राजीनामा दिएका थिए।

जिल्लाको नेतृत्व सदरमुकाम बिराटनगर बाहिर दिन युनियनको नेतृत्व सहमत नभएकाले राजीनामा दिएको युनियनका जिल्ला सदस्य समेत रहेका तेजन खड्काले बताए। युनियनका जिल्ला अध्यक्ष मीनकुमार नवोदितले राजीनामा दिएका असन्तुष्ट सदस्यसँग छलफल गरेर सहमतिका साथ अघि बढ्ने बताए।

          September 27, 2018 11:30 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...