Friday 27th March 2026

यात्रुको सहजताका लागि प्रदेशका सबै जिल्लामा सहायता कक्ष

7 years अगाडी

भीमदत्तनगर । प्रदेश नं ७ प्रदेश ट्राफिक कार्यालय अत्तरिया, कैलालीले यहाँका नौ वटै जिल्लामा चाडपर्वका बेला यात्रुको सहजताका लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। प्रदेश ट्राफिक कार्यालयले दिएको जानकारीअनुसार यहाँको कैलाली र कञ्चनपुर तथा सातवटै पहाडी जिल्लाका विभिन्न स्थानमा गरी १२ सहायता कक्ष सञ्चालन गरिएको छ।

सहज र सुरक्षित यात्राका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि दशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी केही दिनयता नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रदेश ट्राफिक कार्यालयका निमित्त कार्यालय प्रमुख टेकबहादुर जोराले जानकारी दिए।उनका अनुसार हाल कञ्चनपुरको भीमदत्तनगरपालिका-४ बसपार्क, कैलालीको धनगढी बसपार्क, अत्तरिया बसपार्क, लम्की बासपार्क, डडेल्धुराको बागबजार बसपार्कका साथै स्याउलेमा समेत नागरिक सहायता कक्षा सञ्चालनमा ल्याइएको छ।

बैतडी सदरमुकामस्थित बसपार्क, डोटीको पिपल्ला बसपार्क, अछामको मङ्गलसेन, बझाङको सिमखेत बसपार्क, बाजुराको मार्तडी तथा दार्चुलाको खलङ्गा बसपार्कमा सहायता कक्ष स्थापना गरिएको छ। सहायता कक्षमा यात्रुको पीरमर्का सम्बोधन गरिनुका साथै ट्राफिक व्यवस्थापन, चालकको अवस्था, मापसे जाँचलगायतका काम गरिने प्रहरी निरीक्षक जोराले बताए। “सबै सहायता कक्षमा ट्राफिक प्रहरी सक्रिय भइसकेको छ”, उनले भने, “यात्रुको सहजताका लागि सबैतिर सहायता कक्ष स्थापना गरिएको हो।”

          October 2, 2018 11:59 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...