Friday 27th March 2026

सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने राजपाको तयारी

7 years अगाडी

काठमाडौं। संविधान संशोधन हुने अपेक्षासहित सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी (राजपा) ले दशैं–तिहारपछि आन्दोलन गर्ने तयारी गरेको छ। राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने तयारी गरेको हो। आन्दोलनको विकल्प नरहेको निष्कर्षमा पुगेको राजपाभित्र आन्दोलनको स्वरुपका विषयमा भने छलफल सुरु भएको छ।‘अहिलेको अवस्थामा पनि संविधान संशोधन हुन सकेन भने अव फेरि यस्तो अवसर शायदै आउँछ,’ राजपा महामन्त्री केवश झाले भने, ‘दुई तिहाइको सरकार भएका बेलामा संविधान संशोधन गर्न सकिन्छ भनेर राजपाले सरकारलाई समर्थन गरेको हो। अहिलेको अवस्थामा पनि संविधान संशोधन गर्न सकिएन भने यस्तो मौका बारम्बार आउँदैन।’

राजपाले संविधान संशोधनमार्फत मधेसको मुद्दा सम्वोधन गर्नुपर्ने बताउँदै आएको छ। तर सरकारले तत्काल संविधान संशोधन गर्ने छाँट नदेखाएपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर दसैं–तिहारपछि आन्दोलनमा जाने तयारी गरेको हो। त्यसकालागि उसले सरोकारवाल निकायसँग परामर्शसमेत सुरु गरेको छ। जनताले कम सास्ती पाउने र सरकारलाई अधिक दबाव हुने गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल भइरहेको महासचिव झाको भनाइ छ।  यसअघि तत्कालीन मधेसी मोर्चाले संधिवान संशोधन हुनुपर्ने माग राख्दै ६ महिना लामो मधेस आन्दोलन गरेको थियो। जसलाई वहाना बनाएर भारतले नेपालमाथि ६ महिना लामो नाकाबन्दी नै गरेको थियो। राजपाले आन्दोलनमा जाँदा जनताले कम सास्ती व्यहोर्नु पर्ने र सरकारलाई अधिक दबाव दिन सक्ने विकल्पको विषयमा छलफल चलाइरहेको छ।

संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नै नलिने बताएको राजपाले मधेसको सेन्टिमेन्ट बुझेर निर्वाचनमा सहभागी भएको थियो। निर्वाचनको परिणाम पनि दुई नम्बर मधेस केन्द्रित दलको पक्षमा गएको छ। अहिलो दुई नम्बर प्रदेशमा फोरम–राजपाको सरकार छ। संधिवान जारी भइसकेपछि तत्कालीन एमालेको र विशेष गरी एमाले अध्यक्ष केपी ओलीको चर्को विरोध गरेको राजपाले चुनावको परिणामपछि भने एमाले माओवादीसँग सहकार्य गर्ने निर्णय गरेको थियो।

‘त्यसको पछाडिको कारण पनि सरकारलाई दुई तिहाइ बहुमत पुर्याउने र संविधान संशोधन गर्ने नै थियो,’ महासचिव झाले भने, ‘किनभने संधिवान संशोधन गर्ने उचित समय अहिलेको जस्तो आउन समय लाग्छ।’ अहिले पनि संशोधन नभएको संधिवान फेरि संशोधन हुन धेरै वर्ष लाग्ने राजपाको निष्कर्ष छ।वर्तमान सरकारलाई राजपाले समर्थन गर्दा ठूलो रिस्क लिएको र यत्रो रिस्क लिएर सरकारलाई समर्थन गर्दा पनि संविधान संशोधन हुन नसके आफूहरुलाई अप्ठेरो पर्ने निष्कर्ष निकाल्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा नै जाने अवस्था आउन लागेको राजपाको निष्कर्ष छ।

          October 3, 2018 10:39 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...