निर्मला बलात्कार र हत्या प्रकरण अनुसन्धानमै सीमित बन्ने छाँट
काठमाडौँ, २१ असोज । सयौं अपराधी छुटून् तर एक जना निर्दोषले सजाय नपाओस्, त्यसै भनिएको होइन। त्यसैले चाहे जो कोही होस् अभियुक्त लुकाएर लुक्दैन र कानुनी राजका लागि पत्ता लगाउन जरुरी पनि छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६३ दिन पुगेको छ। तर हत्या अनुसन्धान शून्यमै छ । अनुसन्धान लम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । हत्या भएलगत्तै प्रहरीले सुरुवाती अनुसन्धानमा लापर्बाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् ।
जसका कारण अनुसन्धान डीएनए र पोस्टमार्टम रिपोर्टमा भर पर्नुपरेको थियो । तर डीएनए पनि नेगेटिभ आएपछि अनुसन्धानको पाटो अब कता भन्ने प्रश्न आमजनमानसमा उब्जेको छ। घटनाको अनुसन्धानका लागि ६ टोली खटियो तर अनुसन्धान शून्यमै छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली, उच्चस्तरीय छानबिन टोलीलगायतका टोलीले अनुसन्धान गरिरहँदा हात लाग्यो शून्य भनेझैं भएको छ। निर्मलाको हत्या गरी शव फेला परेकै दिन १० साउनमा गृह मन्त्रालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षक अंगुर जीसी नेतृत्वको टोली अनुसन्धानका लागि कञ्चनपुर पुगेर अनुसन्धान थाल्यो।
प्रहरीले ११ साउनमा उल्टाखामकै स्थानीय चक्र बडू, उनकी बहिनी लक्ष्मी र भाइ गौतमलाई पनि पक्राउ गरी यातना दियो । उनलाई पनि अपराध स्विकार्न र अस्वीकार गरे परिवार नै बर्बाद गरिदिने धम्की तत्कालीन एसपी डिल्ली विष्टले दिएका थिए । १२ साउनमा प्रहरीले दीपक नेगी र जीवन घर्तीमगरलाई पनि पक्राउ गरेको थियो । तर, पछि दुवै जनालाई छाडियो। त्यस्तै, प्रहरीले १८ साउनमा स्थानीय जनज्योति बहुमुखी क्याम्पसमा कक्षा १२ मा पढ्ने १७ वर्षीया किशोरी हेमन्ती भट्टलाई पक्रेर पाँच दिनसम्म यातना दिएको थियो।आफन्त पुरुषहरूसँग मिलेर अपराध गरेको बयान दिन नमाने जीवन बर्बाद गराउने धम्की एसपी विष्टले दिएका थिए ।
दिनहुँको आन्दोलन र प्रहरीको आलोचना हुँदा प्रहरीले घटनाको २५ दिनपछि ४ भदौमा भीमदत्त नगरपालिका–१९ का दिलिप विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको थियो ।तर, निर्मलाको शरीरमा भेटिएको प्रमाणको डीएनए रिपोर्ट दिलिपसँग नमिलेपछि उनी साधारण तारेखमा रिहा भएका छन् । दिलिप रिहा भएसँगै निर्मलाको हत्यारा को हो भन्ने प्रश्न जन्मिएको छ । प्रहरीकै अनुसन्धान झुटो साबित भएपछि प्रहरीमाथि थप चुनौती बढेको छ। अझै पनि कञ्चनपुर घटनालाई लिएर सर्वसाधारणमा अनेक आशंका उब्जिएकै छन् । कञ्चनपुर घटनाले प्रहरीका काम कारबाहीप्रति प्रश्न उठेका छन्।
निर्मला पन्तको हत्याकाण्डले प्रहरी मात्र होइन, राज्यलाई नै ठूलो पाठ सिकाएको छ । जसले समग्र प्रहरी कमान्डमाथि नै संगीन प्रश्न उठाएको छ। कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्ड आज राष्ट्रियकरण हुँदै अन्तर्राष्ट्रिय चासोसम्म पुगेको छ । यस घटनाको सत्यतथ्य जनतासमक्ष राख्दै दोषीलाई कारबाहीसँगै अबको पुलिसिङ कसरी अगाडि बढ्ने भन्नेबारे बहस सुरु गर्न ढिला गर्नुहुँदैन। यो घटनाले मुख्य दुई प्रश्न खडा गरेको छ । एउटा त प्रहरीले सामान्य नागरिकको न्यायमा नजरअन्दाज गरिरहेको छ भन्ने कुरा छर्लंग भएको छ भने अर्को प्रहरीले जसलाई चाह्यो त्यसलाई अभियुक्त करार गरिदिन सक्छ।
October 7, 2018 10:24 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय