Tuesday 24th March 2026

विद्यालय भवनमा डोजर चलेपछि सडकमै कक्षा सञ्चालन

7 years अगाडी

काठमाडौँ, ९ कार्तिक । वडाध्यक्षको आदेशमा सडक विस्तारका लागि विद्यालयको भवन भत्काएको भन्दै ६ सय विद्यार्थीलाई बिहीबार सडकमै पढाइएको छ ।जनकपुर-२१ कुर्थास्थित राजर्षि जनक माविका शिक्षक तथा विद्यार्थीले सडकमै डेस्क–बेन्च र सेतोपाटी राखेर पठनपाठन गरेका हुन् । विद्यालय भवन सात महिनाअघि नै भत्काइएको हो ।वडाध्यक्ष रामेश्वर महासेठको आदेशमा सडक विस्तारका लागि भवन भत्काएपछि भवन अभाव हुनुका साथै धुलोका कारण पठनपाठनमा समस्या भएको प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले बताए।

उनले भने, ‘धूलो र हल्लाले पढाइमा बाधा त भयो नै, विद्यालयको भवन भत्काएर विकल्पसमेत नसोचिएकाले बाध्य भएर विरोध गर्नुपरेको हो।’
कक्षा सञ्चालनका लागि सडकको दुवैतर्फ ढाट राखेर अवरोध गरिएको थियो । एकपटकमा दुईवटा कक्षा सञ्चालन गरिएको थियो। सडकमै पढाइएपछि रमित हेर्नेको भिड लागेको थियो ।विद्यालयलाई हाल २३ कोठा आवश्यक रहेको प्रधानाध्यापक यादवले बताए। उनका अनुसार कक्षाकोठाका लागि १५ तथा शिक्षकहरू, प्रशासन, लेखा, प्रयोगशाला, कम्प्युटर कक्षालगायतका लागि थप आठ कोठा चाहिन्छ । अहिले कक्षाकोठाकै लागि कोठा नपुगेको उनले बताए।

४२ फिट चौडा सडकलाई विद्यालयलाई समाप्त गर्ने मनसायले ७० फिट बनाइएको प्रधानाध्यापक यादवको दाबी छ। उच्च अदालत जनकपुरबाट विद्यालयको भवन नभत्काउन ‘स्टे अडर’ आए पनि वडाध्यक्ष आफैँ उभिएर भत्काइएको उनले बताए।यता वडाध्यक्ष महासेठले भने प्रधानाध्यापक आफैँले भवन भत्काउन लगाएको दाबी गरे । उनले भने, ‘मेरो परिवारले विद्यालयका लागि जग्गादान गरेको छ, म नै कसरी विद्यालय भत्काउँछु रु प्रधानाध्यापक आफैँले ७० हजार रुपैयाँमा टेन्डर लगाएर विद्यालय भत्काएको हो।’ यादवले विद्यालयका कुनै पनि निर्णयमा आफूसँग समन्वय नगरेको पनि बताए। तर, स्थानीयले भने वडाध्यक्षकै पहलमा भवन भत्काइएको बताएका छन् । केही दिनअघि सो ठाउँका स्थानीयले वडाध्यक्षविरुद्ध प्रदर्शन गर्दै जनकपुर उपमहानगरपालिका घेराउ पनि गरेका थिए। नयाँ पत्रिकामा खबर छ ।

          October 26, 2018 11:36 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...