नेताको जिन्दगी नै यस्तै, चाहेर पनि स्वास्थ्य जाँच गराउन पाइन्न
म सानै उमेरदेखि नयाँ नयाँ कुरा सोच्न मन पराउँथें । सानातिना कुराहरुमा पनि निकै रुचीपूर्वक अध्ययन गर्थें । नागरिकले दुःख पाएका समाचार सुनेर दुःख लाग्थ्यो र आफू नेता भएर दुःख हटाउने आँट आउँथ्यो । म सानै उमेरमा विद्यार्थी राजनीतिमा लागें, राजनीतिमा लागेपछि त झनै देश र नागरिकको बारेमा सोच्न थालियो ।
त्यतिबेला देशमा विभिन्न खालका तानाशाही व्यवस्थाहरु थिए, त्यस्ता व्यवस्थाहरुको विरुद्धमा संघर्ष गर्न थालियो । विद्यार्थी कालमा चर्को राजनीति गरियो । त्यो बेलामा स्वास्थ्यमा ध्यान दिने त कुरै भएन । युवा जोश र जाँगरको बेलामा भोलि मलाई यस्तो समस्या पर्न सक्छ भन्ने त सोच्न पनि सोचिएन । आन्दोलनकै क्रममा जेलनेल परियो । त्यतिबेला त आफ्नो बारेमा सोच्ने फुर्सद नै भएन । आफ्नो स्वास्थ्य र खानपिनको बारेमा सोचिएन, सोच्दा पनि कहाँ पूरा हुनु र । हामीले हाम्रो स्वास्थ्य त लामो जेल जीवन र संघर्षको कालमै बिगारिसक्यौं ।
खुला राजनीतिमा आएपछि पनि समय व्यवस्थापन गर्नै गाह्रो
जब भुमिगत जीवनबाट हामी खुला भयौं, त्यसपछि नयाँ ढंगको परिस्थिती आयो । त्यसपछि पनि हामी निकै व्यस्त भयौं र पहिला बिग्रिसकेको स्वास्थ्यलाई हामीले धेरै राम्ररी सपार्न पाएनौं । हामीले उबेलामा चाहेर पनि ख्याल गर्न नसक्दा हाम्रो स्वास्थ्य त्यति राम्रो छैन ।
खासमा खुला राजनीतिमा आएपछि त झनै समाज र देशको बारेमा धेरै सोच्न र दौडधुप गर्नुपर्ने अवस्था आयो । जीवन रहेसम्म राष्ट्रको लागि सोच्ने हो, जीवन नै नरहे कसरी राष्ट्रको लागि सोच्ने भन्ने कुरालाई हामीले बिर्संदा रहेछौं । पार्टीका विभिन्न कार्यक्रम, चुनाव लगायतको दौडधुपले नेतालाई कहिल्यै पनि फुर्सद नहुने रहेछ । काम र आरामको सन्तुलन मिलाएर जानुपर्ने त हो, तर पनि समय व्यवस्थापन गर्न निकै गाह्रो ।
योगा र मर्निङवाकमा पनि साथीभाइले पछ्याउँदा समस्या
हिजोआज मैले बिहान बिहान योगा गर्न थालेको छु । सँगसँगै मर्निङ वाक पनि गर्छु । तर पनि कार्यकर्तासँगको भेटघाटले समस्या नै हुने रहेछ । बिहान उठेर एकछिन योगा गरौं भन्यो साथीभाइ आइहाल्नुहुन्छ, उहाँहरु आएपछि गफ गर्न जानैपर्यो । योगाले नियमितता पाउँदैन ।
त्यस्तै मर्निङ वाकमा पनि आफ्नो पाराले हिँड्नै पाइन्न । साथीहरु आइहाल्नुहुन्छ र साथसाथै हिँड्न थाल्नुहुन्छ । गफगाफ गर्दै हिँड्दा त खासै व्यायम नै नहुने रहेछ । त्यसैले मर्निङ वाकमा पनि केही अबरोध आइहाल्छन् । तर पनि सकेसम्म नियमितता दिने कोशिस गरिरहेको हुन्छु ।
बिरामी भएपछि मात्रै पछुतो
पहिला स्वास्थ्यमा ध्यान दिन पाइँदैन तर विरामी भएपछि भने पछुतो लाग्ने रहेछ । विरामी भएर अस्पतालमा भर्ना भएको बेलामा डाक्टरहरुले अनेक सल्लाह, सुझाव र उपदेश दिनुहुन्छ । उहाँहरुको कुरा सुन्दा हामीले जीवनलाई व्यवस्थित ढंगले अघि बढाउनुपर्ने महशुस पनि हुन्छ । डाक्टरका सुझाव सुन्दा अलिकति पश्चाताप पनि हुन्छ । मैले ख्याल नगरेकैले समस्या आयो भन्ने कुरा गहिरोसँग मनमा गाडिन्छ पनि ।
अस्पतालबाट निस्कँदा अब चाहिँ यसरी मिलाउँछु भन्यो, तर निको भएपछि फेरि धपेडी सुरु हुन्छ । यसैगरी नै चलेको छ नेताहरुको जिन्दगी (पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालसँग अर्जुन पोख्रेलले गरेको कुराकानीको संक्षिप्त अंश)
October 31, 2018 11:55 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’