Monday 23rd March 2026

मैले सबैभन्दा बढी सम्मान गर्ने मध्येका आदर्श मानव गुमाएँः डा. भट्टराई

7 years अगाडी

काठमाडौं, १९ कात्तिक । वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनप्रति पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले गहिरो दुःख व्यक्त गरेका छन् ।पछिल्ला राजनीतिक गतिविधिहरुमा दिवंगत तुलाधर र डा. भट्टराई नजिक देखिएका थिए । डा.भट्टराईले उनको निधनलाई नेपाली इतिहासका एक अनमोल रत्नको रुपमा चित्रित गरेका छन् ।‘आदरणीय पदम दाई अब सदाका निम्ति हामीबाट विदा हुनुभो,’ उनले लेखेका छन्, ‘केही दिन पहिले अन्नपूर्ण न्यूरो अस्पतालमा उहाँलाई अर्धचेत अवस्थामा भेट्दा हिसिला र मैले ‘पदम दाई’ भनेर बोलायौं । चिनेजस्तो गरेर केही चलमलाउनुभयो तर बोल्नसक्नुभएन ।’

उनले अगाडि सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज दिउँसो नर्भिक अस्पताल पुग्दा वहाँ चीर निद्रामा पुगिसक्नु भएको रहेछ । वहाँलाई अन्तिम बिदाइ गरेर गरूंगो मन र वहाँसँगका चालिस बर्षका सहकार्यका सम्झना मनभरी संगालेर फर्कियौं ।’तुलाधरले नेपालमा इन्द्रधनुषी राष्ट्रिय चरित्रलाई स्थापित गर्न योगदान दिएको डा. भट्टराईको बुझाई छ । ‘पद्मरत्न तुलाधर साँच्चि नै नेपाली इतिहासका एक अनमोल रत्न हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘नेपाल भाषा र नेपाल सम्वत् आन्दोलनबाट नेपालको इन्द्रधनुषी राष्ट्रिय चरित्रलाई स्थापित गर्न र देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याउन वहाँको अग्रणी भूमिका नेपाली इतिहासले युगयुगसम्म सम्झिरहनेछ ।’

तुलाधर मानव अधिकार आन्दोलन र नेपालको मौलिक शान्तिप्रक्रियामा वहाँको विशिष्ठ भूमिका तथा सदैव सत्य र न्यायको पक्षमा उभिने दृढता, स्वतन्त्र र निष्कलंक छवी सदा स्मरणीय रहने भट्टराईले उल्लेख गरेका छन् ।‘आज मैले आफ्नो जीवनमा सबैभन्दा बढी सम्मान गर्ने मध्येका आदर्श मानवलाई गुमाउनुपर्दाको पीडा भोगिरहेछु,’ उनले भने, ‘संसारमा धेरै मान्छे आउँछन् जान्छन् तर पद्मरत्न जस्ता आजीवन अरूको दु:खमा रूने र सुखमा हाँस्ने निस्वार्थ र स्वच्छ छवीका मान्छे विरलै मात्र भेटिनेछन् ।’उनले श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्, ‘हार्दिक श्रद्धान्जली आदरणीय पदम दाई । गहीरो समवेदना शोकसन्तप्त भाउजु र सम्पूर्ण परिवारजन ।’

          November 5, 2018 10:52 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...