बेनी–जोमसोम सडक दैनिक आठ घण्टा बन्द
म्याग्दी। जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो। प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार बेनीदेखि लेते सडकखण्डमा दैनिक बिहान ७ः३० देखि ११ः३० बजेसम्म तथा दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ। बेनीबाट मुस्ताङ जाने यात्रुले बिहान साढे ७ बजे र दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म घाँसा तथा मुस्ताङबाट आउने यात्रुले गलेश्वर पार गरिसक्नु पर्नेछ। साँझ साढे छ बजेदेखि निर्माण रोकिने र सडक खुला रहनेछ। बेनी–जोमसोम सडक स्तरोन्न्तिका लागि चार प्याकेजमा काम भइरहेको छ।
“स्तारोन्नतिको काम र यात्रुको आवतजावतलाई सहज बनाउनका लागि समय तालीका बनाइएको हो,” आयोजना प्रमुख नरेन्द्र सुवेदीले भने। लेते–जोमसोम खण्डमा वैकल्पिक सडक बनाएर सवारीसाधन सञ्चालन गरिएको छ। म्याग्दी खण्डमा वैकल्पिक सडकको सम्भावना छैन। जोमसोम–कोरला ११० किलोमिटर लामो सडक स्तरोन्नतिको काम ७० प्रतिशतभन्दा बढी सकिएको आयोजनाका इञ्जिनीयर जगत प्रजापतिले बताए।
दुई वडाको सीमा विवाद समाधान : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई वडाका बासिन्दाबीचको वनको सीमा विवाद समाधानका लागि नक्सा संशोधन गर्न सिफारिश गरिएको छ। अन्नपूर्ण गाउँपालिका–१ दोवा र २ भुरुङ तातोपानीका बासिन्दाबीच दुवै वडाको सीमाक्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका विषयमा विवाद भएको थियो। विवाद समाधान गर्न गाउँसभाले नक्सा संशोधन गर्ने निर्णय गरेको छ।
विसं २०४६ मा गाविस विभाजन हुँदा दोवाका बासिन्दाले उपभोग गर्दै आएको वन क्षेत्र प्राविधिक त्रूटीका कारण भुरुङ तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर विवाद हुँदै आएको छ। सीमा क्षेत्रमा पर्ने बसाधारा, टोड्के, ओरालो खर्क, एकराते, मेलखर्क, चुरुङको वन र चरनलाई दुवै वडाका बासिन्दाले आफ्नो भूगोलमा पर्ने दाबी गर्दै आएका छन्।
विवादित सीमाक्षेत्रको वन उपभोगका लागि दुवै वडाका उपभोक्तालाई समेटेर नयाँ साझा उपभोक्ता समूह गठन गर्ने र हालको नक्सा संशोधन गरी चलनचल्तीमा रहेअनुसार सिमाना कायम गर्न प्रदेश तथा सङ्घीय सरकारलाई सिफारिश गरिएको भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले बताए। अँधेरीखोल्सा, झगटेभीर, रातोपहरा, देउराली, भसाडाँडा, नाङ्गीडाँडा, घाँटीखर्क, सुर्केमेला, सन्धिखर्क, शिरखर्क र पानीडाक्ने डाँडा हुने गरी नयाँ सिमाना कायम गर्न सिफारिश गरिएको छ।
November 20, 2018 11:41 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता