Monday 23rd March 2026

बुद्ध जन्मस्थलमा विश्व शान्ति पूजा शुरु

7 years अगाडी

रुपन्देही, ४ मङ्सिर : बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि भद्रचार्य उत्सव शुरु भएको छ । उत्सवमा विभिन्न देशका भिक्षु तथा लामा सहभागी भएका छन् । विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको हितको कामना गर्ने उद्देश्यले भद्रचार्य मोन्लम फाउण्डेशनले पहिलो पटक लुम्बिनीमा आयोजना गरेको सो उत्सव तथा विश्व शान्ति पूजामा नेपाल, भारतलगायतका देशका भिक्षु, भिक्षुणी तथा लामा सहभागी भएका हुन् ।

पूजामा शाक्यपा सम्प्रदायका ठूला गुरु धुङ्से अभिकृत वज्र रिम्पोछेको उपस्थिति रहेको छ । पाँच दिनसम्म चल्ने पूजामा विशेषगरी सम्बन्धभद्र र मञ्जुश्रीको प्रार्थना हुने, सत्व प्राणीको दुःख हटाउन र चित्त शान्ति गर्न मन्त्रोच्चारण हुने फाउण्डेशनका सदस्य निमा लामाले जानकारी दिनुभयो । हिमाली बौद्ध समुदायको शाक्यपा सम्प्रदायले गर्ने मोन्लाम (विश्व शान्ति) पूजालाई सबैभन्दा ठूलो पूजा मानिन्छ । तर मोन्लम पूजा गत वर्ष लुम्बिनीमा आयोजना हुन नसकेपछि त्यस्तै प्रकारको विश्व शान्ति पूजा यसपाली फाउण्डेशनले लुम्बिनीमा आयोजना गरेको सदस्य लामाले जानकारी दिनुभयो ।

पूजामा शाक्यपा सम्प्रदायका ठूला गुरु धुङ्से अभिकृत वज्र रिम्पोछेको उपस्थिति छ । पाँच दिनसम्म चल्ने पूजामा विशेषगरी सम्बन्धभद्र र मञ्जुश्रीको प्रार्थना हुनेछ । सत्व प्राणीको दुःख हटाउन र चित्त शान्ति गर्न मन्त्रोच्चारण हुनेछ । मायादेवी मन्दिरको पछाडि शाक्य गुम्बाको परिसरमा आयोजना गरिएको उत्सवमा आज गुरु पूजाको कार्यक्रम छ । भोलि ५ गते भैषज्य बुद्ध पूजा, प्रार्थना र ध्यान, ६ गते वैश्यवर्ण धर्म देशना पूजा, प्रार्थना र ध्यान, ७ गते कुरकुल्ला गणचक्र, लक्ष्मी पूजा, प्रार्थना र ध्यान गर्ने कार्यक्रम छ । अन्तिम दिन महाकाल पूजा, दीर्घायुको कामना गर्दै अभिषेक प्रदान गर्दै उत्सव समापनको कार्यक्रम छ । हिमाली बौद्ध समुदायका चार सम्प्रदायमध्ये तीन गेलुक्पा, ङिङ्गपा, काग्युप्पाले भारतमा शान्ति पूजा गर्दै आएका छन् । शाक्यपाले मात्रै लुम्बिनीमा मोन्लम पूजा गर्दै आएका हुन् । बुद्धको जन्मस्थल सबैभन्दा महत्वपूर्ण हुने भएकाले लुम्बिनीमा रिम्पोछे गुरुहरूले पूजाको आयोजना गर्दै आएका छन् ।

          November 20, 2018 12:05 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...