Monday 23rd March 2026

चार महीनामा नौ बलात्कारका मुद्दा दर्ता

7 years अगाडी

साँखु,। काठमाडौँ महानगरीय प्रहरी वृत्त बौद्धमा चार महीनायता नौ बलात्कारका मुद्दा दर्ता भएका छन् । महानगरीय प्रहरी वृत्त बौद्धले चालु आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि कात्तिकसम्ममा बौद्ध क्षेत्रमा ती घटना भएका हुन् ।चार महीनामा प्रहरीले १५ जना विरुद्ध बलात्कार गरेको अभियोगमा मुद्दा चलाएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उजुरी दिनेमा आठ वर्षीया बालिकादेखि ६३ वर्षीया महिलासम्म रहेका छन् । कात्तिक २१ गते मुलपानीस्थित क्रिकेट मैदान परिसरभित्र बन्द कोठामा १२ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरी मुद्दा चलाएको छ भने एक जना फरार छन् । पक्राउ पर्नेमा बर्दिया घर भई क्रिकेट मैदानको पर्खाल निर्माणको काम गर्ने २८ वर्षीय बिखशु थारू, २१ वर्षीय नरेश कुश्मा, २२ वर्षीय राजकुमार थारू, २१ वर्षीय रविन इटनी, १६ वर्षीय राजेश थारू, १९ वर्षीय हरि कुमाल र ३४ वर्षीय डिल्लीराम थारू रहेका छन् ।

यस्तै साउन ११ गते आठ र नौ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले काठमाडाँै गोकर्णेश्वर नगरपालिका–६ का ४० वर्षीय राकेश श्रेष्ठलाई पक्राउ गरेको थियो । प्रहरी कार्यालय बौद्धको तथ्याङ्कअनुसार साउन १९ गते शङ्खरापुर नगरपालिकाका १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शङ्खरापुर नगरपालिकाका ४९ वर्षीय हरि तिमल्सिनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । सोही नगरपालिकाका ६३ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा भदौ २१ गते शङ्खरापुर नगरपालिकाका ४३ वर्षीय दलबहादुर शाहीलाई पक्राउ गरी उनी विरुद्ध मुद्दा चलाएको छ ।

यस्तै भारतको सितामढीका ३५ वर्षीय शम्भु गिरी काभ्रेका ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा असोज ४ गते पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक माधव चौधरीका अनुसार रामेछापका २८ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा सोलुखुम्बू दुधकुण्ड नगरपालिका–६ का २४ वर्षीय दावा तामाङलाई असोज १ गते पक्राउ गरी मुद्दा चलाएको छ । सोही जिल्लाको १७ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ विराटनगरका २२ वर्षीय राजन मण्डललाई असोज २८ गते पक्राउ गरी मुद्दा चलाएको छ ।

प्रहीले खोटाङ र सुनसरी घर भई काठमाडौँ बस्दै आएका दुई बलालिकालाई बलात्कार गरेको अभियोगमा झापा गौरादहका ३९ वर्षीय मदन परियार र धनुषा घर भएका २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका–८ का ३१ वर्षीय कवि श्रेष्ठलाई आसोज ४ गते पक्राउ गरी मुद्दा चलाएको छ । “चार महीनाको अवधिमा बलात्कारका नौ मुद्दा अदालतमा दर्ता भएका छन्,” चौधरीले भन्नुभयो । बलात्कृत हुनेमा आठ बालिका, दुई युवती र एक महिला रहेका छन् । सबैभन्दा बढी बालिका नै बलात्कृत हुने गरेको पाइएको छ ।“प्रहरीले निष्पक्ष अनुसन्धान गरे अपराधी पक्राउ गर्न समस्या हुन्न,” अधिवक्ता अस्मिता पोखरेलले भनिन्, “लिभिङ टुगेदरसम्बन्धी कानून नबन्दासम्म समस्या बढ्दै जान्छ ।”

          November 21, 2018 12:27 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...