Sunday 22nd March 2026

राजदरबार हत्याकाण्डः प्रेम र घृणाको एउटा वियोगान्त कथा

7 years अगाडी

यो प्रेम र घृणाको कथा हो। एउटा वियोगान्त कथा। कथाका कतिपय पात्र अझै जिवित छन्, कतिपय पात्र भौतिक रुपमा विदा भएपछि बल्ल यो कथा लेखियो।कथाका केन्द्रीय पात्र दीपेन्द्र हुन्। युवराजधिराज दीपेन्द्र वीरविक्रम शाहदेव। पछि उनलाई श्री ५ महाराजधिराज घोषणा गरियो।दीपेन्द्र एक तर रुप अनेक। कथामा फरक फरक भूमिकाका दीपेन्द्र छन्। एकछिन अघिसम्म उनी आफ्नो विहेको कुरा गरिरहेका छन्। बाबुसँग कुरा गर्ने मिति पनि जुराइसकेका छन्। उनी स्नुकर खेलिरहेका छन्। हजुरआमालाई आफै ड्राइभ गरेर ल्याउँछन्। पार्टीमा सहभागी परिवारका सदस्य तथा आफन्तलाई ड्रिंक्स सर्भ गर्छन्। एकैछिनमा रक्सी लागेर लठ्ठ पर्छन्। अरुले नै बोकेर खोपीमा पुर्‍याइदिनुपर्ने। बाथरुममा वाकवाक गर्छन्। अचेत भएर बिस्तारामा ढल्छन्।एकैछिनमा प्रेमिकालाई फोन गर्छन्। म आज सुत्छु, भोलि भेटौँला भन्छन्। फेरि एकैछिनमा जुरुक्क उठ्छन्, आर्मी ड्रेस लगाउँछन्। तीनचारवटा स्वचालित हतियार बोक्छन् र छानीछानी परिवारका सदस्यमाथि गोली दाग्छन्। अन्तिममा आफ्नै कञ्चटमा गोली हान्छन्। कन्फ्युजिङ छ कथा।

Nepal Royal Family Photo Collectionघटनास्थल नारायणहिटी दरबारको त्रिभुवन सदनमा पर्छ, जुन पछि भत्काइयो। *हरेक महिना तेश्रो शुक्रबार दरबारमा ‘गुड फ्राइडे’ मनाइन्थ्यो। राजपरिवारका सदस्य सहभागी हुन्थे।२०५८ साल जेठ १९ गते। शुक्रबार। साँझ करिब ७ बजे आसपास।युवराजाधिराज दीपेन्द्र शाह बिलियर्ड हलमा स्नुकर खेलिरहेका थिए। एक्लै। दीपेन्द्रका शाही पाश्र्ववर्ती सेनानी गजेन्द्र बोहोरा दीपेन्द्रलाई सघाइरहेका थिए- बल मिलाइदिएर।साढे ७ बजेतिर पाहुनाहरु आउन थालेका थिए।शाही पाश्र्ववर्ती बोहोरालाई पाहुनाहरुको मोटर राख्ने ठाउँ मिलाउन जान हतारो थियो।‘म जान्छु’, उनले बिन्ति गरे। दीपेन्द्रले एकछिन बस्न अह्राए।

एक्लै स्नुकर खेलिरहेका दीपेन्द्रले ड्रिंक्स मगाए। बोहोराले अर्दलीलाई अह्राए। दीपेन्द्रको चाहना अनुसार एक पेग फेमस ग्राउस ह्विस्की ल्याए। ७ बजेर २५ मिनेटतिर बोहोराले फेरि जान्छु भनेर बिन्ति गरे।‘अब त टाइम भयो, मुमा सवारी हुन्छ होला, जाऊ’, दीपेन्द्रले यति भनेपछि उनी आफ्नो अफिसतिर लागे।पार्टी सुरु हुँदै थियो। केटाहरु एउटा साइडमा स्नुकर खेलिरहेका थिए। ‘मैले अलिकति आज खाएको छु’, दीपेन्द्रले भनेका थिए।‘८ बज्न लागे पछि भन है। मैले मुमाको सवारी चलाउनु पर्छ’, फेरि एकछिन पछि उनले भने।८ बज्नै लाग्दा दीपेन्द्र महेन्द्र–मञ्जिल गए, जहाँ मुमाबडामहारानी रत्न बस्थिन्। आफैले ड्राइभिङ गरेर दीपेन्द्रले हजुरआमालाई त्रिभुवन सदन ल्याए।

फर्केपछि उनले ‘अलि बढी लागे जस्तो छ’ भने। केहीबेरपछि नै उनी बेहोस् जत्तिकै भए। त्यसपछि पारससहित चारजनाले उनलाई खोपीमा पुर्‍याए। राजीव, पारस, निराजन र कुमार गोरखले। सुत्न अफ्ठ्यारो होला भनेर हतियार निकालिदिए।एकछिनअघि रमाइलो ‘मुड’ मा जोक गर्दै सबैलाई हसाउँदै गरेका दीपेन्द्र पछि बेहोस् जस्तै भए। तर करिब आधा घण्टामै उनको रौद्र रुप देखा पर्‍यो।दीपेन्द्र मुमा बडामहारानी अर्थात हजुरआमालाई लिन जाँदा सह–सेनानी चक्र शाह पनि सँगै थिए।८ बज्नै लागेको थियो। रेडियोमा समाचार आउनुअघि समाचारसूचक संगीत बजिरहँदा गाडी महेन्द्र मञ्जिल पुगेको थियो। युवराज दीपेन्द्र कालो पहिरनमा थिए। छालाको डिंगो बुट लगाएका।मुमाबडामहारानी रत्न पछाडि बसिन्। चक्र साइडमा बसे। गाडी दीपेन्द्रले आफैले ड्राइभ गरे।रत्नलाई लिन कि वीरेन्द्र जान्थे कि दीपेन्द्र। यो परम्परा नै बनिसकेको थियो।‘युवराज सरकारले कुनै ड्रिंक्स गरेजस्तो थियो?’

‘केही पनि थिएन। गाडीमा गफ गरिबक्सेको थियो– मुमा सरकारसँग।‘रत्न दीपेन्द्रसँगै त्रिभुवन सदन छिरिन्। चक्र बाहिरै अन्य एडिसीहरुसँग बसें। केही बरेमा राजा वीरेन्द्र आइपुगे।‘एकछिनपछि एक्कासी आवाज आएको सुन्यौं। आवाज आउनासाथ आत्तिएर हामी निस्केर अगाडि बढ्यौँ’, उनले भने, ‘उताबाट डाक्टर बोलाऊ भन्ने लेडिजहरुको आवाज सुन्यौं।‘फेरि फायरिङ भयो र केही सेकेन्डमा रोकियो।बेलुका ८ बजेर १९ मिनेटमा दीपेन्द्रले सेनानी गजेन्द्र बोहोरालाई फोन गरे- मेरो अर्दलीलाई पठाइदेउ। दीपेन्द्रले चुरोट मागेका थिए। सेनानी गजेन्द्र बोहोराले अर्दलीलाई बोलाए र चुरोट पुर्‍याउन अह्राए।तर त्यहाँ हरेक टेबुलमा पहिले नै चुरोट राखिएको थियो। बिलियार्ड हलमा, हरेक सोफाको पकेटमा चुरोट थियो।तै पनि दीपेन्द्र चुरोट मागिरहेका थिए। त्यो सामान्य चुरोट थिएन। त्यो थियो गाँजा भरेको चुरोट। अर्दलीहरुले बनाएर टक्र्याउँथे।

प्यूट रामकृष्ण केसी शाही अर्दली थिए। उनलाई दीपेन्द्रका लुगा खोलिदिने र लगाइदिने जिम्मा दिइएको थियो। उनी किचेनमा थिए। द्वारे आमाले युवराज आएको जानकारी गराइन्।लडिरहेका दीपेन्द्र उनीहरु पुग्नेबित्तिकै जुरुक्क उठे।उनले लुगा खोलिदिए। त्यसपछि दीपेन्द्र बाथरुम गए। अलिअलि वाकवाक पनि गरेका थिए बाथरुममा।एकछिनमा बाहिर निस्के र ‘तिमीहरु जाओ’ भने।एकछिनपछि दीपेन्द्र नयाँ पोशाक लगाएर हतियार भिरेर आए। हतियार पछाडिबाट भिरेका थिए। दुई तीनवटा। ‘इमर्जेन्सी ब्याग चाहिन्छ कि?’, रामकृष्णले सोधे। ‘चाहिँदैन’, यति भनेर दीपेन्द्र लागे।सामन्यतया बाहिर सवारी हुँदा बोकिने इमर्जेन्सी ब्यागमा वेदरप्रुफ ज्याकेट, चिपिस्टिक, स्प्रे, अतिरिक्त ब्याट्रीहरु, पानी राखिन्थ्यो।रामकृष्ण एडिसीलाई रिपोर्टिङ गर्न दौडेका मात्र के थिए फायरिङ सुरु भयो। ‘एडिसीलाई खबर गर्न म आउनु र त्यहाँ पड्कनु एकैसाथ भयो र म पछाडि आएँ’, रामकृष्णले भने।
***
रामकृष्ण तिनै व्यक्ति थिए जसले घटना हुँदाको दिन युवराज पारसमार्फत दीपेन्द्रलाई ‘माल भएको चुरोट’ अर्थात गाँजा भरेको चुरोट पुर्‍याएका थिए। गाँजा भरेका ५/६ खिल्ली चुरोट उनले पारसलाई दिएका थिए।पारसले मुस्कुराउँदै रामकृष्णसँग ‘मालवाला’ चुरोट लिए। यो दिउँसो २/३ बजेतिरको कुरा थियो।‘त्यो चुरोटमा गाँजामात्रै भरिएको थियो भन्ने तपाईलाई यकीन छ?’‘त्यसमा गाँजा र अर्को कालो के हुन्थ्यो त्यो ल्याउँथें, त्यो मिसाएर भरिदिनु पर्थ्यो।दीपेन्द्रले नै बनाएर राख भनेपछि उनले बनाएर राखेका थिए। शिखर चुरोट दीपेन्द्रको फेबरेट ब्रान्ड थियो।दीपेन्द्र कालो पोशाक लगाउँदा कालै बटृा बोक्थे। खैरो पोशाक लगाउँदा खैरो बटृा।

जमुना अधिकारी अर्थात द्वारे आमा। दीपेन्द्र बाथरुम जाँदा लक नलगाउन अनुरोध गरेको सम्झिन्छिन्। ‘के गरिबक्सन्छ भनेर बस्दा वाथरुममा वा–वा गरिबक्सियो। ढोका लगाईबक्सेको थियो। लक लगाएको थियो भित्रबाट’, उनले सम्झिन्।दीपेन्द्रले ‘तिमीहरु सुत्न जाओ’ भनेपछि उनीहरु आआफ्नो काममा लागे। केही बरेमा अचानक मान्छेहरु कराउन थाले। न उनले सैनिक पोशाकमा हतियार बोकेर निस्केका दीपेन्द्र देखिन् न बन्दुक पड्काउने दीपेन्द्र।उनले खोपीमा छोडेर हिँड्दा दीपेन्द्रले भित्री पाइन्टमात्र लगाएका थिए। बाथरुम जाने बेला माथिका सबै कपडा फुकालिएको थियो।

शाहज्यादा पारस शाह पार्टीमा अलि ढिला पुगेका थिए। यस्तै ७ बजेर ४० मिनेटतिर।दीपेन्द्र ककटेल लिएर बसेका रहेछन्। पारसले कोकमात्र पिउने भनेपछि दीपेन्द्रले भने- ‘ए कोकमात्र खाने ! म त ह्विस्की खाएर बसेको छु।‘ पारसले दीपेन्द्रलाई हालखबर सोधे।‘विवाहको कुरा भइराखेको छ। मुमासँग कुरा गरें। आफूमुमासँग पनि कुरा गरें। दुवै जनाले हुन्न भन्नु भयो। अब आइतबार बुबासँग कुरा गर्छु’, दीपेन्द्र भन्दै थिए।‘राम्रो मुड थियो?’‘लागेको जस्तो भएको थियो। एकदमै राम्रो थियो मुड। त्यस्तो होला भन्ने केही सोचेकै थिएनौं हामीले। एकदमै जोक गरी बक्सेको जस्तो सबैलाई हँसाइबक्सेको थियो। त्यहाँ तल होइबक्सँदासम्म त’, पारसले भने।

करिब आठ बजेतिर दीपेन्द्रले सबैलाई ड्रिंक्स टक्र्याए। रानी ऐश्वर्या लगायत सबैजना आइसकेका थिए। करिब साढे आठतिर राजाको सवारी भयो। त्यतिबेला दीपेन्द्र पारससँगै थिए, जहाँ घटना घट्यो त्यही कोठामा। तर उनको हालत खराब थियो।‘एकदमै लागेको जस्तो। ढलिबक्स्यो। बेहोसै होइबक्सेको जस्तो’, पारसले सम्झे।दीपेन्द्रको हालत देखेर पारस लगायत ४ जनाले उनलाई खोपीमा लगे। गद्दीको मुन्तिर सानो ओछ्यानमा सुताए। करिब साढे ८ बजेको थियो। बत्ती निभाएर उनीहरु तल झरे।राजा वीरेन्द्र मुमा बडामहारानीलगायतसँग मिटिङमा थिए। मिटिङ करिब आधा घण्टा चल्यो।वीरेन्द्रले भर्खर ड्रिंक्स लिएका थिए। चियर्स् भैसकेको थिएन। ‘हामी कुनामा थियौं, युवराजाधिराज सवारी भएको देखिएन।‘ चुरोट समाएको अन्तबाट नदेखियोस् भनेर धेरैजसो दीपेन्द्र, पारस लगायत यही कुनामा बस्थे।

अचानक बन्दुक पड्क्यो। तीन राउन्डजति फायर भयो। वीरेन्द्रले ‘के गरेको’ भनेकामात्र थिए, दीपेन्द्रले फेरि दुईपटक प्रहार गरे। राजा ढलिहाले। दुई तीनपटक भित्रबाहिर गर्दै दीपेन्द्रले आफ्नो निशाना लगाइरहे।३० सेकेन्डभित्र यो सब भएको थियो। एम १६ सहित चारवटा हतियार दीपेन्द्रले चलाएको पारसले देखे। पछि पारसले अरुबाट सुने- बाहिरको पुलमा दीपेन्द्रले आफ्नै कञ्चटमा गोली हाने।किन गरे होलान् दीपेन्द्र यस्तो? यसको पछाडि के होला कारण?‘यो विवाहकै हो। मलाई जहाँसम्म लाग्छ’, पारसले भने।बच्चुराम त्रिभुवन सदनमा खाना तयार गर्दै थिए। घटना घट्नु भन्दा दुई मिनेट अगाडिको कुरा हो। बच्चुराम कोल्ड ड्रिंक्स लिएर जाँदै थिए।

निराजनले मगाएका थिए कोल्ड ड्रिंक्स। कोल्ड ड्रिंक्स पुर्‍याएपछि त्यहाँ बसिरहनुपर्ने स्थिति थिएन। राजपरिवारका सदस्य आवश्यक परे घण्टी बजाउँथे। कहिलेकाहीं आफै किचेनमा आउँथे।बैठकको ढोकाको १० मिटर जति उत्तरमा सैनिक पोशाक लगाएका युवराज दीपेन्द्र हतियार भिरेर उभिएका थिए। बच्चुरामले कतै सवारी हुनलाग्यो भन्ठानेछन्। तर ढोकाबाट छिर्ने बित्तिकै फायरिङ सुरु भयो।‘त्यसपछि मलाई डर लाग्यो; मेरो मुटु काम्यो। म दौडेर भागेँ’, बच्चुरामले सम्झे। समय त्यस्तै बेलुकाको करिब ९ बजेको थियो।करिब अचेत अवस्थामा सुतेका दीपेन्द्र करिब आधा घण्टापछाडि सैनिक पोशाकमा फायरिङ गर्दै आइपुगेका थिए। सेल्फ कम्ब्याट युनिफर्ममा दुईवटै हातमा एक/एकवटा मेसिनगन। स्वचालित।

केतकी चेष्टरका अनुसार दीपेन्द्रलाई फलो गर्दै रानी ऐश्वर्या बगैंचातिर लागेकी थिइन्। दुईचोटी उनले ‘भाउजु भाउजु हुन्न’ भनिन्। ‘तर वहाँको मुहारबाटै थाहा पाए थें कि म बन्दुकै लिन्छु कि म मर्छु भन्ने’, उनले भनेकी छन्, ‘निराजनचाहिँ वहाँको पछिपछि सुरक्षा गर्न गएको भन्ने मलाई लाग्यो।‘वीरेन्द्र बिलियार्डमा आएको करिब आधा घण्टादेखि ४५ मिनेट भएको हुँदो हो। ठूलो आवाज आयो। मान्छे दौडिएको आवाज। जोडले होइन अलि बिस्तारै दौडिएजस्तो।‘दिज्यू, के हो त्यो मान्छेहरु पनि कराउँछन् त त्यतातिर’, अधिराजकुमारी हेलेनले मूमा बडामहारानीलाई भनिन्। त्यसबीच गोली चलिरह्‍यो। केटाकेटी खेलेको भन्ठानिन् हेलेनले। उनीहरुबीच कुराकानी जारी रह्‍यो।

७/८ मिनेटमा दौडिँदै आइपुगे पारस। त्यतिन्जेल उनीहरु कुराकानीमै मस्त थिए।‘आफूमुमा! दाइले त ठूलो बुबा देखि लिएर सबैजनालाई गोली हान्यो’, पारसले भने।उनीहरु बिलियार्डतर्फ दौडिए।हेलेन उभिएर हेर्छिन् त सब लडिराखेका छन्। धीरेन्द्र ऐया ऐया भन्दै कराइराखेका थिए।‘दिज्यू, धीरेन्द्र एउटा बाहेक सबैजना मरिराखेको’, फर्केर मुमा बडामहारानीलाई जाहेर गरिन्।त्यतिन्जेलमा राजा वीरेन्द्रलाई अस्पताल कुदाइसकिएको थियो।‘कसले गोली चलायो, मैले आफ्नै आँखाले देखिनँ’, हेलेनले भनिन्।युवराज दीपेन्द्र सैनिक पोशाकमा थिए। कसैको मतलबै नगरिकन उनले गोली चलाउन थाले। दीपेन्द्रको पहिलो निशाना राजा वीरेन्द्र थिए। वीरेन्द्र ढलेपछि सबैजना आत्तिने भैहाले।‘वीरेन्द्र दाइ लडिबक्स्यो। म गएर समातें। राजीव पनि आएर हेल्प गर्‍यो। कहाँ हान्यो, कहाँ लाग्यो मलाई थाहा छैन’, अधिराजकुमारी शोभा शाहीले सम्झिन्।उनका अनुसार गोली लागेर ढलेका वीरेन्द्र उठ्न खोज्दै थिए। गोली लागेकाहरु ढलिरहेकै थिए।

‘ए बाबु, द्याट्स् इनफ (अति भयो)’, धीरेन्द्रले यति के भनेका थिए, दीपेन्द्रले उनलाई पनि गोली हाने। अधिराजकुमारी शोभा पनि पिठमा गोली लागेर ढलिन्।सिपाही लिलाबहादुर गुरुङ दरबार बसेको दुई वर्ष भएको थियो। त्यस दिन त्रिभुवन सदनको ढोकानजिकै उनको ड्युटी थियो।केही छिनपछि एकैचोटी भित्रबाट गोलीको आवाज आयो, त्यहीबेला एकजना महिलाको आवाज आयो; त्यसपछि एकजना मान्छे भित्रबाट निस्केर गाडीको पार्किङ्गबाट अगाडि भाग्यो। ‘त्यो मान्छे मलाई याद भएन’, उनले भने।लोग्ने मान्छे, होंचो होंचो टाइपको, गाडीको साइडबाट बाहिर निस्केको देखियो’, उनले सम्झे।गोली रोकिएपछि कोही भित्र जाने, कोही बाहिर जाने, हतार गरेको देखियो।सेनानी राजुकुमार कार्की। युवराज दीपेन्द्रको एडिसी। दरबारमा काम गरेको ११ वर्ष चानचुन भएको थियो। घटना घट्दाको दिन उनी छुट्टीमा थिए। सैनिक कोर्सको लागि उनी ३ तारिख अमेरिकामा जाँदै थिए।

अमेरिका जानुअघि उनी दीपेन्द्रलाई भेट्न चाहन्थे। शनिबार भेट हुँदैन भनेर।उनी युवराजधिराजको अफिसमा पुगे। दीपेन्द्रले उनलाई भित्र बोलाए।‘लराम्रोसँग जाऊ। मसँग इमेलमा कन्ट्याक्ट राखिराख’, दीपेन्द्रले भने।त्यसपछि उनी सैनिक मूख्यालय गए। अमेरिकी दूतावास गए। सामान प्याकिङ गरे।अचानक देवयानीको फोन आयो। देवयानी अर्थात दीपेन्द्रकी प्रेमिका।‘सरकारलाई अलि जाँड लागेको जस्तो छ। अफिस गइकन एकचोटी हेर्नू’, उनले भनिन्, ‘हि इज नट फिलिङ्ग वेल।‘‘म त डिउटीमा हैन। म कसरी जान मिल्छ?’ उनले यत्ति भने। तर डिउटीमा भएकोलाई बुझ्छु भनेर उनले फोन राखे।डिउटीमा रहेका अधिकारीसँग कुरा गरेपछि उनी पनि त्यतै लागे किनकि पर्सीपल्ट अमेरिका जानु त छँदै थियो। ड्रेस सबै प्याकिङ भएकोले उनी सिभिलमै राजदरबारतिर लागे।उनी त्यहाँ पुग्दा घटना घटिसकेको थियो। उद्दार हुँदै थियो। दीपेन्द्रलाई गाडीमा राखिएको थियो। पारस त्यही गाडीमा थिए। गजेन्द्रले गाडी चलाए। पछाडिको ढोका खोलेर कार्की भित्र पसे। एकैछिनमा निराजनलाई बोकेर ल्याइयो।निराजनको शरीरमा हलचल थिएन। तर दीपेन्द्रचाहिँ सास फेरिरहेका थिए।

‘ए गोली कहाँ कहाँ लाग्यो?’, पारसले सोधे।गाडीको बत्ती बालेर हेर्दा टाउकोमा गोली लागेको स्पष्ट देखियो।दीपेन्द्रका एडिसी समेत रहेका सेनानी राजुकुमार कार्कीका अनुसार दीपेन्द्र पहिलेदेखि नै चुरोट खान्थे। गाँजा, चरेस पनि उनको लत थियो।‘हामी एडिसीको नाताले सम्झाउँथ्यौं– सरकार यस्तो चिज गरिबक्सनु हुँदैन भनेर’, उनले सम्झे, ‘हामीलाई नै सल्लाह दिइबक्सन्थ्यो- चुरोट भन्दा यो राम्रो हो।‘पछिल्ला दिनमा गाँजा चरेसको मात्रा बढ्दै गएको थियो। करिब एक डेढ वर्षदेखि। बिस्तारै उनले अरुको डर मान्न पनि छोडे।‘सोसल ग्यादरिङमै ज्युनार भइदिने (खाइदिने)’, उनले भने, ‘हामी चाहिँ मान्छेको अगाडि नगरी बक्स्योस् सरकार भन्ने।‘

कसले पुर्‍याउँथ्यो दीपेन्द्रलाई गाँजा/चरेस?‘मे बि, प्रोब्याब्ली दाजुभाईको सर्कल होला, हामीले चाहिँ त्यही भन्ठान्थ्यौं’, उनले भने।‘फ्यामिली सर्कलै हुनुपर्छ। दाजुभाई यता उता हजुर’, उनको जवाफ।के यो कुरा देवयानीलाई थाहा थियो? ‘थाहा थियो होला’, उनले अनुमान गरे।सेनानी कार्कीलाई करिब ८/९ वर्षदेखि देवयानीसँग दीपेन्द्रको सम्बन्ध रहेको थाहा छ।पहिला उनीहरुबीच त्यति आवतजावत हुँदैनथ्यो तर पछिल्ला दिनमा दीपेन्द्र आफैले देवयानीलाई लिएर आउँथे।पहिलोपटक दुई साढे दुई वर्ष जस्तो अगाडि देवयानीलाई दीपेन्द्रले दरबार लिएर आएका थिए।गिरिजा प्रसाद कोइराला। तत्कालीन प्रधानमन्त्री। कोइरालाले घटनाबारे निकै ढिलो थाहा पाए। करिब दुई घण्टापछि।११ बज्नै लाग्दा प्रधानमन्त्रीको टेलिफोनमा घण्टी बज्यो। राजपरिषद् सभापति डा. केशरजंग रायमाझीको फोन थियो।‘महाराजाधिराजलाई सिरियस हार्ट अट्याक भएर हस्पिटलाइज्ड गरिएको छ। म त हस्पिटल हिँडे। तपाईँ पनि आउनुस्।’कपडा फेर्न के लागेका थिए, फेरि फोन आयो। राजदरबारका प्रमुख सचिव पशुपति महर्जनको फोन थियो।

‘म तुरुन्त तपाईँकहाँ आउँदैछु।’राजालाई गोली लागेको कुरा उनले महर्जनबाटै थाहा पाए। उनीहरु सिधै राजदरबार गए। सैनिक सचिवको छोटो ‘ब्रिफिङ’ पछि उनीहरु सैनिक अस्पताल हानिए।ज्ञानेन्द्र शाह त्यस दिन पोखरामा थिए। उनलाई लिन गएको हेलिकप्टर त्यहाँ ल्यान्ड गर्न नसकेपछि फर्केर आयो।गिरिजाले ज्ञानेन्द्रलाई लिन फेरि हेलिकप्टर पठाए। ज्ञानेन्द्र बिहानपख आइपुगे।प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख सबै त्यहीँ थिए। ‘हामी सबै के भएको हो भनेर अन्यौलमा थियौं’, प्रधानमन्त्री कोइरालाले भने।राजपरिषद् सभापति डा. केशरजंग रायमाझीलाई ‘कतैबाट स्ट्याण्डबाइ रहनु भन्ने (?) आयो।उनी झसंग भए- ‘के भयो देशमा?’उनले सुने- आर्मी हस्पिटल। ठूलो दुर्घटना। सारै नराम्रो घट्ना। चारै जना।आर्मी अस्पताल जानुअघि उनले प्रधानमन्त्री कोइरालालाई फोन गरे।

जब अस्पताल पुगे, उनले आफूलाई कन्ट्रोल गर्न सकेनन्।क्या हो यस्तो? के देख्नु पर्‍यो? के भएको यो? उनलाई घ्वाँघ्वाँ रुन आयो।राजारानीको मृत्यु भैसकेको छ। कसरी ‘डेथ डिक्लियर’ गर्ने?राजपरिषद्को सभा बोलाइयो। टिभी/रेडियोमा कुरा भयो।अस्पतालबाट सबैको डेथ सर्टिफिकेट लिइयो। दीपेन्द्रको बाहेक।‘बिल्कुलै इन्जोर, क्रेनियम र सेरिग्रम। स्टिल अलाइभ। हार्ट इज बिटिङ, पल्स इज बिटिङ’, रायमाझीले भने।भेन्टिलेसनमा हुँदाखेरि डेथ भन्नु भएन। तर मानसिक, शारिरीक ढंगले असक्त।बहादुर भवन। बिहानको करिब साढे ९ बजे। राजपरिषद बैठक बस्यो।

ज्ञानेन्द्र आइपुगे। एउटा ‘अन्डरस्ट्यान्डिङ’ बन्यो। कसलाई बनाउने उत्तराधिकारी?युवराजधिराज दीपेन्द्र नै उत्तराधिकारी तर शारिरिक/ मानसिक रुपले इन्भ्यालिड।अर्को राज्य सहायक तयार गर्नु पर्‍यो। कानुन, संविधान, परम्परा पनि मिलाउनु पर्‍यो।सबैको सहमति बन्यो।‘किङ इज डेड। उत्तराधिकारी को? युवराजाधिराज। अल्टिमेट उत्तराधिकारी। बट कम्प्लिट्ली इनभ्यालिड। ‘मानसिक शारीरिक काम गर्न नसक्ने हुनाले रिजन दियौँ हामीले राज्य सहायक श्री ५ अधिराजकुमार ज्ञानेन्द्र तय गर्‍यौँ‘, उनले भने।हत्याकाण्डको पर्सीपल्ट अर्थात् २०५८ जेठ २२ गते सोमबार बिहान ३:४५ बजे वीरेन्द्र सैनिक अस्पताल, छाउनीले घोषणा गर्‍यो- साढे तीन बजे दीपेन्द्रले अन्तिम सास लिए।

तीन दिनअघि राज्य सहायक घोषित अधिराजकुमार ज्ञानेन्द्र शाहले जेठ २२ गते नै शाही घोषणा गरे- श्री ५ महाराजाधिराजको रूपमा हाम्रो काँधमाथि आइपरेको अभिभारा सम्हाल्दै आज यसै घोषणाद्वारा हाम्रा महारानी कोमल राज्यलक्ष्मी देवी शाहलाई श्री ५ बडामहारानी घोषित गरिबक्सेका छौंनआएको त्यो बिहानदीपेन्द्र र देवयानीबीच जेठ १८ गते बेलुका ८ बजेर १२ मिनट जाँदा टेलिफोनमा कुराकानी भएको थियो। पहिलोपटक १ मिनट १४ सेकेण्ड। यो कल दीपेन्द्र आफैले गरेका थिए।८ बजेर २५ मिनेट जाँदा उनीहरुबीच दोश्रो कल भयो। यो चाहिँ देवयानीले गरेकी थिइन्। ४ मिनेट १४ सेकन्ड कुरा भएको थियो। फेरि दीपेन्द्रले फोन गरे ८ बजेर ३९ मिनेटमा। करिब ३२ सेकेन्ड कुरा भएको थियो।देवयानी घटनालगत्तै मुलुक बाहिर गइन्। उनका बुबा पशुपतिशम्शेर राणाले पनि छोरीसँग सम्पर्क हुन नसकेको बताए।‘युवराजधिराजसँग देवयानीको सम्बन्धको श्रृंखला लामो थियो कि वा नयाँ सम्बन्ध विकसित भएको थियो?‘एक अर्कालाई मन पराएको हुन सक्छ। सबैलाई थाहा भयो, हामीलाई पनि थाहा भयो’, राणाले जवाफ दिए।

तर कुन देश गएको उनले भनेनन्। ‘मुलुक बाहिर गएको’ मात्र भने। यद्यपि उनले ‘पत्ता लगाउन सक्ने’ बताए। देवयानी अस्वस्थ रहेको, कमजोर रहेको र विश्राममा रहेको उनले बताए।तत्कालीन शाही नेपाली राजदूत भेषबहादुर थापाले दीपेन्द्रकी प्रेमिका देवयानी राणासँग २०५८ साल जेठ २९ गते कुरा गरे। राजदरबारमा घटेको घटनाको अनुसन्धानको सिलसिलामा।देवयानी भारतमा थिइन्। तत्काल नेपाल आउने परिस्थिति नभएको भन्दै उनले आफूलाई थाहा भएको कुरा भन्न तयार भइन्। उनी थापासँग कुरा गरुन्जेल रोइरहेकी थिइन्।‘यस्तो हुनसक्छ भनेर सोचेको पनि थिइनँ’, उनले भनिन्। दीपेन्द्र र आफ्नो सम्बन्ध व्यक्तिगत भएको भन्दै उनले त्यसबारे कुरा गर्न चाहिनन्।देवयानीलाई दीपेन्द्रले नेपालमा हुने राष्ट्रिय खेलकुद समारोहको उद्‍घाटनमा आउँछ्यौ कि आउँदिनौ भनेर फोनमा सोधेका थिए। उत्तर दिउन्जेल देवयानी रोइरहेकै थिइन्।‘मोबाइल क्लियर आइराखेको थिएन। सरकार, मैले कुरा बुझिनँ भनेँ। फेरि सोधिबक्स्यो। जवाफ दिनुअघि नै फोन राख्दिबक्स्यो’, उनले सम्झिन्।त्यसपछि देवयानीले फोन लगाइन्। घण्टी पटक पटक गयो तर फोन उठेन। जब दीपेन्द्रले फोन उठाउँदैनथे, त्यो कल स्वतः डिउटीको एडिसीकहाँ ट्रान्सफर हुन्थ्यो।

सेनानी राजुकुमार कार्की डिउटी एडिसी थिए। कार्कीले फोन उठाए।‘सरकारको स्वर अलिकति लरबराएको छ। गाथमा आराम छैन कि? एकचोटी माथि खोपीमा गएर हेर्नु हुन्छ कि?’, उनले अनुरोध गरिन्। उनका अनुसार फोनमा दीपेन्द्रको स्वर लडबडाई रहेको थियो।‘मलाई लाग्यो सरकारको गाथमा आराम छैन। त्यसैले (रुँदै रुँदै..) एडिसीलाई कन्ट्याक्ट गरेर खोपीमा जानु हुन्छ कि भनेर मैले रिक्वेस्ट मात्रै गरेको हो (रुदै…रुदै…खोक्दै..)।नेपाली राजदूत थापाले देवयानीसँग गरेको कुराकानीको टेप काठमाडौं पठाइयो।उनले एडिसी कार्कीलाई फोन गरेको केही बेरमा दीपेन्द्रको फोन आयो। हुकुम भयो- भोलि बिहान मात्र तिमीलाई फोन गर्छु।फोन राख्नुअघि दीपेन्द्रले ‘गुडनाइट’ भने। देवयानीले पनि गुडनाइट भनिन्।त्यसपछि दीपेन्द्रले फेरि भने- अब म सुत्न लागेको छु है। भोलि बिहान फोन गर्छु।‘

तर देवयानीसँग वाचा गरेको दीपेन्द्रको अर्को बिहान आएन।बरु त्यसको करिब आधा घण्टापछि नारायणहिटी दरबारमा रगतको खोलो बग्यो। त्रिभुवन सदनमा दीपेन्द्रका अनेक रुप देखिए। अन्तिममा उनले आफ्नै कञ्चटमा गोली हाने।न देवयानीलाई फोन आयो न त दीपेन्द्रले अर्को आइतबार बाबुसँग आफ्नो विवाहबारे कुरा गर्ने मौका पाए। एउटा प्रेमको दुखद् अन्त्य।त्यो भयानक कालो रातको अन्त्य भयो तर रातको रहस्य बाँकी नै छ। राजपरिवारका २४ सदस्य जम्मा भएको समारोहमा राजारानीसहित १० जनाले ज्यान गुमाए। राजा वीरेन्द्रको वंश नाश भयो।१५ वर्ष बित्यो। तर कथाको अन्त्य भएको छैन। आखिर त्यस्तो के थियो जसले दीपेन्द्रलाई त्यो हत्याकाण्डका लागि प्रेरित गर्‍यो? उत्तर रहस्यको गर्भमा छ।(दरबार हत्याकाण्डको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदनमा आधारित।)

          November 22, 2018 12:36 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...