Sunday 22nd March 2026

आगलागीमा मृत्यु भएका चारै जनाको शव एउटै खाटमा

7 years अगाडी

भद्रपुर, १० मङ्सिर । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ । आज बिहान शवको अवशेष सङ्कलन गरेर प्रहरीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पुर्‍याएको छ ।आइतबार राति लक्ष्मण खनालको घरमा आगलागी हुँदा परिवारका सबै चार जना ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा (सुप्रिया) खनाल र चार महिने शिशु टीकाराम खनालको सुतेको अवस्थामै जलेर मृत्यु भएको थियो

आज बिहान चारै जनाको जलेको शवको अवशेष सङ्कलन गरेर भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शव परीक्षणका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता नायव प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।झापा क्षेत्र नं ४ का सङ्घीय सांसद एलपी साँवा, प्रदेश सांसद झलकसिंह दर्लामी, नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थाम्सुहाङलगायतको सरकारी टोली आज बिहान घटनास्थल पुगेको थियो ।

घटनास्थलमा भेटिएका सङ्घीय सांसद साँवाले घटनाबाट आफू स्तब्ध भएको बताउनुभयो । प्रदेश सांसद झलकसिंह दर्लामीले राति एक्कासी घरमा चारैतिरबाट आगो फैलिएपछि छिमेकीले थाहा पाएको र गौरादहबाट आएको दमकलले आगो निभाएपछि मात्र एउटै खाटमा चार जनाको शवको अवशेष भेटिएको जानकारी दिए ।

खाना खाएर सुतिसकेपछि घरमा एक्कासी आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको स्थानीय दुर्गा नेम्वाङले बताइन् । स्थानीयवासीले राति नै प्रहरी र दमकललाई खबर गरेका थिए । गौरादहबाट १५ मिनटभित्रै आएको दमकलले आगो नियन्त्रण गरेको थियो ।उनका अनुसार घरमूली लक्ष्मण खनाल राति ९ बजेसम्म खेतमा ट्र्याक्टर जोतेर घर आएको र खाना खाएर परिवारसँगै सुतेको अवस्थामा आगलागी भएको थियो ।

मृतक खनाल आफ्नै ट्र्याक्टर चलाउँथे । घर अगाडि धान दाउनी गर्ने थ्रेसर मेसिन राखिएको थियो । आगलागीमा घर पूरै जलेको छ भने थ्रेसर आंशिकरूपमा जलेको छ । प्रहरीले घरका सबै सदस्यको मृत्यु भएको र छिमेकीले आगो फैलिइसकेपछि मात्र थाहा पाएको हुँदा आगलागी कसरी भयो भन्ने तत्काल थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले बताए । उनले घटनाको अनुसन्धान भइरहेकोसमेत बताए ।आगलागीमा विष्फोट भएको ग्यास सिलिन्डरको टुक्रा उछिट्टिएर छिमेकी ३७ वर्षीया गीता ढुङ्गेल सख्त घाइते भएकी छन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ ।

          November 27, 2018 11:14 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...