Thursday 19th March 2026

पोसाक होइन, पढाईमा एकरुपता हुनुपर्छः शिक्षाविद्

7 years अगाडी

काठमाडौं महानगरपालिका र प्रदेश ५ सरकारले सामुदायिक र निजी विद्यालयमा एउटै प्रकारको पोसाक लागू गर्ने तयारी गरेका छन् । विद्यालयबीच एकरूपता ल्याउन एउटै पोसाकको तयारी गरेको स्थानीय तह तथा प्रदेश सरकारको भनाइ छ ।

महानगरपालिका शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले सामुदायिक र निजी विद्यालयका विद्यार्थीबीच भावनानात्मक एकरूपता ल्याउन एकै प्रकारको पोसाकको सोच अघि सारिएको जनाए । निजी र सामुदायिक विद्यालयबीचको अन्तर घटाउन, एकरूपता ल्याउन र एकै खालको शिक्षा प्रदान गर्न विद्यालयमा एउटै पाठ्यक्रम र पोसाकको तयारी गरिएको मन्त्रालयले जनाएको छ।

देशभरका सामुदायिक विद्यालयका विद्यार्थी फरक फरक पोसाक लगाउँछन् । सामुदायिक र निजी विद्यालयबीच पनि छुट्टाछुट्टै पोसाक छ भने निजी विद्यालयबीच पनि एकरूपता छैन । कतिपय विद्यालयमा त विद्यार्थीले आफूखुसीपोसाक लगाउँछन्।

शिक्षाविद् भने विद्यालयबीच समानता ल्याउन पोसाकभन्दा पठनपाठनमा जोड दिनुपर्ने बताउँछन् । शैक्षिक गुणस्तरमा सुधार गर्न पोसाकको कुनै भूमिका नहुने उनीहरूको टिप्पणी छ । यो खबर आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन्।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति एवं शिक्षाविद् केदारभक्त माथेमाले विद्यालयहरूमा एउटै पोसाक लागू गरेर एकरूपता कायम गर्छु भन्नु हास्यास्पद हुने जनाए । ‘खासमा शैक्षिक संस्थामा पोसाक आवश्यक नै छैन,’ उनले भने, ‘विकृति–विसंगति रोक्न पोसाक चाहिएको हो, पढाइमा प्रतिस्पर्धा गर्ने हो, पोसाकमा होइन।’

एउटा विद्यालयमा एकै किसिमको पोसाक लागू गरे पनि निर्णय नै गरेर प्रदेशभर एकै थरी बनाउँछु भन्नु उचित नहुने उनको तर्क छ । ‘पोसाकको एउटै मात्र फाइदा छ, हाम्रो जस्तो देशमा धनी र गरिबबीचको खाडल नदेखियोस् भनेर शैक्षिक संस्थामा व्यवस्था गरिएको हो,’ माथेमाले भने, ‘अहिलेजस्तो विद्यालयपिच्छे आआफ्नो पोसाक हुँदा के फरक परेको छ र ?’

अर्का शिक्षाविद् विद्यानाथ कोइरालाले एउटै पोसाकले बालबालिकाको बहुप्रतिभामा असर पुग्ने बताए । ‘पोसाकले एकरूपता त ल्याउँछ होला, विविधता हुँदैन,’ उनले थपे, ‘धनी–गरिबको विभेद छुट्याउन एकै प्रकारको पोसाक कायम गर्ने सोच ठिकै हो तर विद्यार्थीबीचको अनेक प्रकारको विविधताका दृष्टिले बेठिक हुन्छ।’ पोसाकले धनीगरिबको अन्तर छुट्टिन्छ भन्नु पश्चगामी सोच रहेको उनले टिप्पणी गरे ।

‘एकै किसिमको ड्रेसमा पनि गुणस्तर फरक हुन्छ,’ उदाहरण दिँदै उनले थपे, ‘एउटै विद्यालयमा पनि आर्थिक अवस्था बलियो भएको विद्यार्थीले लगाउने ड्रेस र कमजोरले लगाएकामा गुणस्तर फरक–फरक छ ।’ विविधताका दृष्टिकोणले एउटै पोसाक अनिवार्य गर्नु गलत हुने उनले दाबी गरे ।

पोसाक र पाठ्यक्रमले मात्र दुईखाले विद्यालयबीचको अन्तर नघट्ने बालविकास कक्षाकी विशेषज्ञ मीनाश्री दाहालले बताइन् । ‘एकरूपता ल्याउन खोज्नु अत्यन्तै राम्रो हो,’ उनले भनिन्, ‘एकरूपताले बालबालिकाको सामाजिक, सांस्कृतिक विविधतामा असर पुग्छ ।’

एकै प्रकारको पोसाकमा न्यूनतम मापदण्ड ख्याल गर्न नसके झनै विभेद बढ्न सक्ने उनको भनाइ छ । ‘हामीले गर्ने व्यवहार, धारणा र भावनामा पो समानता, एकता खोज्ने हो,’ उनले भनिन्, ‘पोसाक त थरीथरी हुँदा नै राम्रो हुन्छ।’

एकै किसिमको पोसाकले झनै व्यापारीकरण र सिन्डिकेट बढ्ने शिक्षाविद् कोइरालाको तर्क छ । ‘आज विद्यालय सञ्चालक र व्यापारीले व्यापारीकरण गरेका छन्,’ उनले भने, ‘भोलि सरकार चलाउनेहरूले नै पोसाकमा व्यापार गर्न सक्छन् ।’ तीनैवटै तहको सरकारले निजी विद्यालयको अनुगमन र नियमनमा कडाइ गर्नसके पोसाकमा हुने अनियमितिता अन्त्य हुने विज्ञहरूको तर्क छ ।

          December 11, 2018 10:02 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...