Thursday 19th March 2026

ढोकामा नुनको पोको झुन्ड्यार बिरामीको उपचार !

7 years अगाडी

काठमाडौँ, ४ पुस । पछिल्लो समय बिरामी पर्नासाथ उपचार गर्ने चेतना बढिरहेको छ। तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ बिरामी भए नुनको पोको ढोकामा झुन्ड्याएर देउता पुकारिन्छ। हिमाली भेगको चुमनुब्री गाउँपालिका-३ सिर्दीबासमा कोही बिरामी परे नुनको पोको ढोकामा झुन्ड्याउने पुरानो प्रचलन अझै यथावत् छ।

धामीले जोखाना हेरेपछि देवता लागेको भने ढोकाभित्र र भूत लागेको भने ढोकाबाहिर नुनको पोको झुन्ड्याउने चलन रहेको स्थानीय लोकबहादुर गुरुङले जानकारी दिए। साबिक सिर्दीबास गाविसको सबैभन्दा पुरानो गाउँ मानिने यहाँ १९ घर छन्। यसलाई कर तिर्ने गाउँका रूपमा पनि चिनिन्छ।‘सिर्दी भनेको कर हो’, गुरुङले भने, ‘गाउँछेउ ठूलो रुख छ। बाजेका पालामा १८ सय खोलाको कर त्यही रुखको फेदमा लिनेदिने चलन थियो।

कर तिर्ने र उठाउने त्यहीं बास बस्थे। त्यसैले ठाउँको नाम नै सिर्दीबास भयो।’ अहिले सिर्दीबासभन्दा केही तलको गाउँमा लार्के भन्सार कार्यालय छ। कर अथवा जगाती उठाउने ठाउँ भएकाले सो गाउँलाई जगत भनेर चिनिन्छ।

यहाँ कोही बिरामी भए कर लेनदेनमा खटपट भएर, करले पिरेर बिरामी परेको ठान्ने चलन छ। ‘पोकोभित्र नुन, चामल र पैसा राखिन्छ’, उनी भन्छन्, ‘निको भएपछि देउताको थानमा त्यो पोको चढाएर पूजा गरिन्छ।’ अर्का स्थानीयका अनुसार बाबुबाजेको पालामा सिर्दी नामको भोटेनुन बेच्ने र किन्नेहरू बास बस्ने भएकाले सिर्दीबास भनिएको हो।

          December 19, 2018 11:25 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...