Wednesday 18th March 2026

नेपालको पहिलो घोडा प्रजनन् केन्द्रकाे नालिबेली

7 years अगाडी

विष्णु नेपाल

चितवन। निभाले यसै हप्ता पहिलो सन्तानलाई जन्म दिँदैछिन् । एघार महीना पुग्न एकहप्ता मात्र बाँकी छ। पिता भीष्म र माता भवानीको पहिलो सन्तान हुन् तीन वर्षीया–निभा। सुत्केरी हुन लागेकी निभालाई माता पिताको कुनै अत्तोपत्तो छैन। निभाका बारेमा माता पितालाई पनि जानकारी छैन । तर निभाका अहोरात्र हेरचाहमा खटिएका प्राविधिक गणेश केसी राति ननिदाएको एकहप्ता नाँघिसक्यो।

प्राविधिक केसीले हसिलो मुद्रामा भने, “निभाको सुत्केरी हुने दिन आउन लाग्यो । कहिलेकाहीँ नर्मल समयभन्दा अगाडि सुत्केरी हुन सक्छ। कुन बेला उनी प्रश्रव पीडामा पुग्छिन् भन्न सकिन्न । प्रश्रव पीडाका समयमा सहयोग गर्नुपर्छ। यही भएर नसुतेको एक हप्ता भो ।” उसो त गण्डकीको पनि सुत्केरी हुने समय नजिकिँदै छ। “निभा र गण्डकीले छोरा/छोरी (भाले अथवा पोथी) जे जन्माए पनि खुशी नै हुन्छाैं”, प्राविधिक केसीले भने।

तपाईंलाई लाग्न सक्ला निभा, गण्डकी नाम मानवीय होलान्। होइनन् यी त यहाँस्थित नेपालको पहिलो घोडा प्रजनन् केन्द्रमा रहेका घोडाका स्थानीय नाम हुन्। नेपाली सेनाद्वारा सञ्चालित प्रजनन् केन्द्रमा हाल ६८ वटा विभिन्न जातका घोडा र सात वटा गधा रहेका छन्। ती मध्ये ४८ वटा बुडमियर पोथी घोडा रहका छन्। केन्द्र स्थापनाको ३४ वर्षको अन्तरालमा यस वर्ष सबैभन्दा बढी १९ वटा घोडा सुत्केरी हुँदैछन्। यसलाई हालसम्मको सबैभन्दा ठूलो उपलब्धि मानिएको छ।

सुत्केरी हुने घोडालाई केन्द्रले विशेष स्याहारसुसारमा ध्यान दिने गरेको छ। गर्भवती भएपछि नजन्मिएसम्म विशेष आहार तथा पौष्टिक तत्वमा दाना खुवाउन तथा दैनिक स्वास्थ्यमा ध्यान दिएको प्राविधिक बताउँछन्।

उनीहरुका अनुसार तीन वर्ष पूरा भएपछि घोडा गर्भवती तथा प्रयोगमा ल्याउनयोग्य हुन्छ। एउटा माउले १७ वर्षसम्म बच्चा जन्माउन सक्छे। पोथी घोडाको गर्भ समय ११ महीनाको हुन्छ। जन्मिएपछि बच्चाले छ महीनासम्म आमाको दूध तथा हल्का पौष्टिक दाना खान्छ। तीन वर्षमाथि पुगेपछि दाना खानेक्रम विशेषरुपमा बढ्छ। तीन वर्षमा घोडा पूर्णरुपमा तयार हुन्छ। तयार भएको भाले घोडालाई ‘स्टालियन’ तथा पोथीलाई ‘बुडमियर’ भनिन्छ। घोडाको औशत आयु नेपालमा करीब २८ वर्षसम्म रहेको छ। केन्द्रमा तृष्णा, अम्बिका र डमरु नामका घोडा २८ वर्षसम्म बाँचेका थिए।

पहिलो घोडा प्रजनन केन्द्र : माग बढी आपूर्ति कम : विशेष गरी नेपाली सेनालाई आवश्यक पर्ने घोडा आफैँ उत्पादन गर्ने ध्येयले विसं २०४१ पुस १४ गते सो केन्द्र यहाँ स्थापना गरिएको थियो। भारत, पाकिस्तान, अष्ट्रेलियालगायतका देशबाट माउ तथा भाले जातका घोडा ल्याई प्रजनन कार्य शुरु गरिएको प्राविधिक बताउँछन्।

पछिल्लो समयमा मनाङ र मुस्ताङमा पाइने ‘पोनी’ जातका घोडा पनि यहाँ ल्याइ राखिएको छ। केन्द्रले ‘हाइब्रिड’ घोडा भने उत्पादन गरेको छैन। प्राविधिक केसीले भन्नुभयो, “हामीले एउटै जात (ब्रिड)मा क्रस गरेर बच्चा उत्पादन गर्ने गरेका छौँ। हाडनाता पर्ने घोडाबाट बच्चा उत्पादन गराइँदैन, गर्नु पनि हुँदैन।”

यसका लागि केन्द्रले प्रत्येक घोडाको तीनपुस्ते वंशावली विवरण राख्ने गरेको छ। उनले भने, “हरेक घोडाका आमाबुबा, हजुरबुबा, हजुरआमा नामसहितको वंशावली विवरण राख्छौँ।” विदेशबाट ल्याइएका घोडाको ‘वंशावली’ नै हुन्छ। यसमा तीनपुस्ते विवरण, जन्ममिति, लगाइएका खोपलगायतको विवरण उल्लेख गरिन्छ। ब्रिड गर्न सजिलो होस् भन्नाका केन्द्रले लागि वंशावली राख्ने गरेको छ। यो अन्तर्राष्ट्रिय प्रचलन पनि हो।

नेपाली सेनाका लागि वार्षिकरुपमा विभिन्न सभा, समारोह, उत्सव तथा प्रतियोगिताका लागि मात्र थप २५ वटा घोडा आवश्यक पर्छ। तर केन्द्रले वार्षिक मुस्किलले १५ वटा मात्र घोडा नेपाली सेनाअन्तर्गतकै नेपाल क्याबलरीलाई दिने गर्दछ।

केन्द्रले तयार गरेका घोडा नै क्याबलरीले प्रयोग गर्दै आएको छ। नेपाली सेनाको घोडाचढी कलाका लागि क्याबलरी प्रशिद्ध रहेको छ। यस वर्ष सबैभन्दा बढी २० वटा दिने तयारीमा केन्द्र जुटेको छ। “क्रमशः माग पूरा गर्नेतर्फ हामी अगाडि बढेका छौँ। निकट भविष्यमा पोथी घोडा थप गर्ने लक्ष्यसमेत रहेको छ”, प्राविधिक केसीले जानकारी दिए।

करीब २८ बिघामा जमीनमा सो केन्द्र रहेको छ। ती घोडाका लागि हाल नेपाली सेनाका विभिन्न तहका ६४ जना जनशक्ति खटिएका छन्। ती घोडाका लागि मात्र मासिकरुपमा सात/आठ लाख खर्च लाग्ने बताइन्छ।

निभादेखि प्रियङ्कासम्म

सेनासँग घोडा हुनु अनिवार्य मानिन्छ। सेना कति समृद्ध छ भनेर मापन गर्ने विभिन्न तत्वमध्ये घोडाको सङ्ख्यालाई हेर्ने गरिन्छ। शुभकार्यमा घोडाको अग्र साइत शुभ मानिन्छ। नेपालमा विशेषगरी विशेष कार्यक्रम (संसद् अधिवेशनको शुरुका दिन राष्ट्रप्रमुखको संसद् भवनमा आवागमन तथा फिर्ता), राष्ट्रप्रमुखसमक्ष विदेशी राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र हस्तान्तरण, सैनिक दिवस तथा घोडेजात्रालगायतका दिनमा घोडा तथा बग्गीको प्रयोग गरिँदै आएको छ। ऐतिहासिक हनुमानढोका र गोरखा दरबारलगायतका ठाउँमा अहिले पनि एउटा घोडा राख्ने चलन विद्यमान रहेको बताइन्छ।

गत वर्ष भारतीय दूतावासले नेपाली सेनालाई उपहारस्वरुप प्रदान गरेका सात वटा प्रियङ्का, श्वेता, आँचल र सङ्गीतालगायतका नामका घोडा यस केन्द्रमा रहेका छन्। स्याहारकर्ताका अनुसार दिउँसो खुला चौरमा आआफ्नै समूह बनाई घोडा रमाउँछन्। बेलुकी अलगअलग तबेलामा राखिन्छ। प्रजनन केन्द्रका घोडाको आआफ्नै नामाकरण गरिएको छ। केन्द्रमा नै जन्मिएकालाई नेपाली र विदेशबाट आएकालाई विदेशीलाई उताबाटै नाम राखिएको छ।

भारतबाट विसं २०६९ वैशाखमा केन्द्रमा ल्याइएका घोडाका नाम बाबु शर्मा, लण्डन ब्वाई रहेका छन्। “हामीले वैज्ञानिक नामाकरण गर्ने प्रयासमा गरौँ तर यहाँ जन्मिएपछि राखिएका नाम नै बढी सजिलो हुँदो रहेछ”, प्राविधिक केसीले भने।

नेपालले हालसम्म कुनै देशलाई घोडा उपहारस्वरुप प्रदान नगरेको बताइन्छ। तर केन्द्रले नै उत्पादन गरेका दश वटा नेपाली जातका घोडा नेपाली सेनाले ट्राफिक प्रहरीलाई केही वर्ष अगाडि उपहारस्वरुप प्रदान गरेको थियो।

केन्द्रले विशेष गरी डफ्ट र लाइट जातका घोडा उत्पादन गर्ने गरिरहेको छ । डफ्ट हर्स बग्गीतान्न र लाइट चढ्न र कुद्न (राइडिङ र रनिङ)मा प्रयोग हुने गर्दछ। पछिल्लो समय घोडेजात्रामा प्रयोग हुने घोडा नेपाली आफ्नै जातको हुने गर्दछ। देवीदेवताको प्रतीकका रुपमा घोडालाई त्यहाँ राख्ने गरिएको बताइन्छ।

          January 6, 2019 11:30 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...