Wednesday 18th March 2026

पशु सुत्केरी भएपछि भत्ता उपलब्ध गराउँदै सहकारी

7 years अगाडी

पाल्पा । रामपुरको एउटा सहकारीले पशु ब्याएपछि किसानलाई भत्ता उपलब्ध गराउन थालेको छ। उन्नत जातका पशुपालनतर्फ आकर्षण बढाउने उद्देश्यले पशु ब्याएपछि किसानलाई भत्ता दिन थालिएको हो।

रामपुरस्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले शेयर सदस्यका किसानलाई गाईभैँसी ब्याएपछि रु ६०० भत्ता उपलब्ध गराउँदै आएको छ।

यसअघि सो सहकारीले प्रतिपशु रु ५०० उपलब्ध गराउँदै आएको थियो। “चालू आवदेखि रु ६०० भत्ता उपलब्ध गराउँदै आएका छौँ,” सहकारीका व्यवस्थापक भवीनारायण मरासिनीले भने।

सञ्चालक समिति सदस्य दुर्गादेवी आचार्य पशु ब्याउँदा पाएको रकम स्याहारसुसारमा खर्चिने गरेको बताउछन्। रामपुर–८ का पदमराज खनाल पशुभत्ता बापतको रकमबाट पोसिलो आहाराको जोहो गरेको बताउछन्।

सो सहकारीले २०७२ साउनयता किसानलाई रु एक लाख १६ हजार पशुभत्ता बाँडेको छ। “पशुको स्याहारसुसार गर्न मद्दत पुगोस् भनेर भत्ता उपलब्ध गराएका हौँ,” सहकारीका पशुधन सुरक्षण कार्यक्रमका संयोजक नगीलाल पौडेलले बताए।

पशुधन सुरक्षण कार्यक्रमअन्तर्गत पशुको बीमा पनि गरिन्छ। बीमित पशु मरेको अवस्थामा किसानलाई ८० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने गरिएको छ। सो सहकारीमा ३३२ शेयर सदस्य आवद्ध छन्। आव २०७४÷७५ सम्म ३६४ गाई र १८५६ भैँसीको सहकारीमार्फत बीमा गरिएको छ। चालू आवको अहिलेसम्म १९८ गाईभैँसीको बीमा भइसकेको छ। रासस

          January 8, 2019 11:18 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...