Tuesday 17th March 2026

बलियो न्यूनचापीय प्रणालीले बाक्लो हिमपात र वर्षा

7 years अगाडी

काठमाडौँ — भूमध्यसागर हुँदै बलियो पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएपछि हिमाली क्षेत्रमा यस पटक विगतमा भन्दा बाक्लो हिमपात भएको विज्ञहरूले औंल्याएका छन् ।उनीहरूका अनुसार सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान र उत्तर पश्चिमी भारत हुँदै यो प्रणाली सोमबार नेपाल भित्रिएको हो ।

‘हिउँदयाममा आउने प्रणाली उच्च वायुमण्डलबाट आउँछ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुवास रिमालले भने, ‘विगतमा कमजोर खालको प्रणाली भित्रिन्थ्यो, यस पटक बलियो आयो, त्यही भएर हिमालदेखि तराईसम्मै असर देखिएको छ ।’ उनका अनुसार विगतका हिउँदमा पश्चिम न्यूनचापीय प्रणाली साधारणतया फिबल (शक्ति कम भएको प्रणाली) हुने गर्दथ्यो ।

‘यस पटकको प्रणाली शक्तिशाली भएकाले एकै पटक देशैभर फैलिएको छ,’ रिमालले भने, ‘पश्चिमी भारतका जम्मुकश्मीर र उत्तराखण्डका विभिन्न स्थानमा पनि बाक्लो हिमपात भएको छ, त्यहाँ पनि हिमपातबाट बच्न अलर्ट गराइएको छ ।’ पश्चिम भेगका कम उचाइमा पनि यस पटक बाक्लो हिमपात भएको छ । उच्च र हिमाली भागमा दुई फिटसम्म हिउँ छ । न्यूनचापीय प्रणाली भित्रिएसँगै देशैभर बदली भएको छ । केही स्थानमा वर्षासमेत भएको महाशाखाले उल्लेख गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक ऋषिराम शर्माले पश्चिमी वायु पश्चिम क्षेत्रबाटै आउने भएकाले प्रभाव पनि पश्चिमी भागमै बढी पर्ने बताए । ‘हिउँदमा कुनै वर्ष पश्चिमी वायुको प्रभाव कम र कुनै वर्ष धेरै पर्छ,’ उनले भने, ‘पश्चिमी वायुले प्रशस्त मात्रामा वाष्पयुक्त वायु बोकेर ल्याउने भएकाले त्यसको असर एकैपटक देखापर्छ ।’

पश्चिम न्यूनचापीय प्रणाली सुरु हुने सिरिया, अफगानिस्तान, पाकिस्तान र भारतको उत्तराखण्डमा पनि दुई दिनदेखि बाक्लो हिमपात छ । विज्ञका अनुसार उक्त प्रणाली पश्चिम सर्दै आउँदा त्यसको असर पनि घटदै जान्छ । ‘यस्तो अवस्थामा २ हजार मिटरभन्दा माथिका भागमा हिमपात हुन्छ,’ शर्माले भने, ‘फरक यत्ति हो कहिले कम पर्छ, कहिले धेरै ।’

पूर्वको तुलनामा पश्चिमी भूभागमा न्यूनचापीय प्रणालीको असर बढी परेको छ । काठमाडौंमा पनि मंगलबार बिहानैदेखि मौसम बदली भई चिसो बढेको थियो । पूर्वी भागमा भने पूर्ण बदली भएको छैन । महाशाखाका अर्का मौसमविद् समीर श्रेष्ठले धेरै स्थानको न्यूनतम तापक्रममा सोमबारभन्दा गिरावट आएको बताए । मध्य र पूर्वी क्षेत्रको तुलनामा पश्चिम क्षेत्रको तापक्रममा एकाएक गिरावट आएको छ । डडेलधुरामा सोमबार ८ डिग्री सेल्सियस रहेको तापक्रम मंगलबार ०.२ डिग्रीमा झरेको छ ।

पूर्वी हिमाली भेगमा भने थोरै स्थानमा मात्र हिमपात भएको छ । बुधबार पनि देशैभर मौसम बदली हुने महाशाखाले प्रक्षेपण गरेको छ । ‘पश्चिमी क्षेत्रका अधिकांश तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ,’ महाशाखाका बुलेटिनमा उल्लेख छ, ‘हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको हिमपातको पनि सम्भावना देखिन्छ ।’

पूर्वी भागमा भने बुधबारदेखि नै सुधार आउनेछ । पश्चिमी क्षेत्रमा बिहीबार फेरि अर्को प्रणाली भित्रिने देखिएको छ । ‘न्यूनचापीय प्रणाली फेरि भित्रिने भएकाले पश्चिममा बदली कायम हुनेछ,’ रिमालले भने ।

          January 23, 2019 12:20 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...