Tuesday 17th March 2026

निजीलाई दिए पनि समस्या उस्तै, लाइसेन्स पाउन महिनौं कुर्नुपर्ने

7 years अगाडी

काठमाडौँ, १२ माघ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट गर्ने काम निजी कम्पनीलाई दिए पनि समस्याको समाधान हुन भने सकेन । लामो समय कुर्नुपर्ने बाध्यता अझै यथावत् छ । अहिले पनि झन्डै पाँच लाख सेवाग्राहीले लाइसेन्स पाउन सकेका छैनन् । निजी कम्पनीसँगको सम्झौता सकिएपछि प्रिन्ट गर्न बाँकी लाइसेन्सको संख्या दैनिक थपिँदै छ ।

छिटो वितरणका लागि निजी कम्पनीमा प्रिन्ट गर्न दिइयो तर सम्झौता अवधि सकिएको भन्दै हाल प्रिन्ट बन्द गरिएको छ । मालिक इन कर्पोरेटले तीन लाख ६० हजार लाइसेन्स प्रिन्ट गरेको थियो । बाँकी प्रिन्ट गर्दै गर्दा यातायात व्यवस्था विभागले सम्झौता सकिएको भन्दै प्रिन्ट गर्न रोक लगाएपछि अहिले दैनिक रूपमा लाइसेन्सको चाप बढिरहेको छ ।

विभाग आफैले दैनिक बढीमा एक हजार पाँच सय लाइसेन्स मात्र प्रिन्ट गर्न सक्छ । तर बजारमा दैनिक पाँच हजारदेखि आठ हजारसम्म लाइसेन्सको माग छ । अहिले फेरि प्रिन्ट गर्न बाँकी लाइसेन्सको संख्या झण्डै पाँच लाख पुगिसकेको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।बाँकी लाइसेन्सलाई कहिले प्रिन्ट गरी वितरण गर्ने भन्ने योजना विभागसँग छैन । लाइसेन्स पाउनका लागि डेढ वर्षसम्म कुर्नुपर्ने बाध्यता छ ।

विभागले दैनिक रुपमा लाइसेन्सको फारम लिएर काम बाँकी राख्दै आएको छ । विभागका अनुसार पुस २८ गते सम्झौता सकिएको थियो । सम्झौता अनुसार काम हुन नसकेको र अब प्रदेशहरूले लाइसेन्सको काम गर्ने भएकाले पनि कम्पनीलाई अब नदिइएको हो ।

          January 26, 2019 10:00 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...