Saturday 7th March 2026

कपाल समेत काटेर गरिन् आमाको काजक्रिया कान्छि छोरीले

7 years अगाडी

गलकोट । नेपाली परम्परा अनुसार बाबुआमाको निधन हुँदा छोराहरुले क्रिया गर्ने चलन छ तर यहाँकी एक युवतीले आमाको क्रिया गरेकी छिन् । गलकोट नगरपालिका–११ रिघाकी मेनुका थापाले आमा तनकुमारी थापाको काजक्रिया गरेकी छिन् ।क्यान्सर रोगले निधन भएकी आमाको काजक्रियामा कान्छी छोरी मेनुकाले कपाल समेत मुण्डन गरेर बिधिपूर्वक क्रिया बसेकी हुन् । ६ वटी छोरी मध्येकी उनी कान्छी हुन् । ५ वटी दिदीको बिवाह भैसकेकोले अविवाहित छोरीले क्रिया बसेको स्थानीय शोभा काउचाले बताईन् ।

‘शुरुमा अन्य छिमेकी दाजुभाईलाई काजक्रिया गराउन खोज्ने कुरा पनि भएको थियो’ काउचाले भनिन्, ‘छोरी आँफै तयार भएपछि खोजी गर्न परेन ।’ छोराछोरीमा जसले गरेपनि फरक नपर्ने पंडितहरुको सल्लाहपछि उनले काजक्रिया गरेको उनले बताईन् ।स्नातक तहमा धौलागिरी बहुमुखी क्याम्पसमा अध्ययन गरिरहेकी थापाले छोरा नभएको कारणले आमाको काजक्रिया रोक्न नचाहेर आँफै अगाडि सरेको बताईन् । ६३ बर्षको उमेरमा आमाको निधन भएपछि बिवाहित अन्य छोरीहरु पनि ठाडो क्रियामा आइपुगेका थिए। बाबु कृष्णबहादुरले दुइवटी बिवाह गरेका थिए ।

अध्ययनकै क्रममा सदरमुकामस्थित एक बिद्यालयमा शिक्षण गरिरहेकी थापा आमा सिकिस्त भएपछि जागिर छाडेर स्याहारमा लागेकी थिइन् । तीन महिनादेखि थलिएकी आमाको स्याहार समेत उनले गरेकोले काजक्रिया गर्न आँफै अगाडि सरेको उनले बताईन्। अर्की आमाबाट छोराहरु जन्मेका छन् ।उनीहरु भने बाबुआमा दुवैजना जिउँदै भएकोले क्रियामा बसेका छैनन् । उनको चाहना र काजक्रिया देखेपछि छिमेकीले साहसी र आमाबाबुप्रतिको श्रद्धा गर्ने युवतीको रुपमा चित्रण गरेका छन् । उनले काजक्रिया गरेको थाहा पाए पछि आफन्तसहित सामान्य चिनजान भएका र टाढाबाट पनि भेट्न गएका छन् ।

          January 28, 2019 7:11 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...