Tuesday 17th March 2026

बर्दियामा बाघको आक्रमणबाट एकजनाको मृत्यु

7 years अगाडी

बर्दिया । बढैयाताल गाउँपालिका २, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघको आक्रमणबाट घाइते भएका दुई जना मध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।सीतापुर गाउँमा पसेको बाघको आक्रमणबाट २ जना स्थानीयवासी घाइते भएकोमा ६५ वर्षीय चन्द्रबहादुर शाहीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मुत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो।

गाउँमा पसेको बाघको आक्रमणबाट घाइते हुनुभएका ३० वर्षीय विजय बुढाक्षेत्रीको स्थानीय क्लिनिकमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बाघ गाउँको अडहर बारीमा रहेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयको टोली गाउँमा खटिएको र निकुञ्ज सहित सेनाको टोली डार्ट गर्नका लागि तयारी अवस्थामा रहेको डिभिजन वन कार्यालय बर्दिया प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।

बाघको आक्रमणबाट थप क्षति हुन नदिनका लागि इलाका प्रहरी कार्यालय मैनापोखरले माइकिङ्ग गरी स्थानीय बासिन्दालाई घरबाहिर ननिस्कन र घरको ढोकाको चुकुल लगाएर घरभित्रै बस्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो ।बाघ रहेको स्थान नजिकका घरको छतमा रातिदेखि अझैसम्म सुरक्षाकर्मी खटिएका छन् । कुहिरो लागेका कारण केही नदेखिएको प्रहरीले जनाएको छ ।

बाघ बर्दिया निकुञ्जबाट अथवा भारतको जंगलबाट गाउँ पसेको हुन सक्ने अनुमान छ । अत्तालिएर गाउँ पसेको बाघ होहल्ला नभएमा विस्तारै रातिसम्म आफ्नो बासस्थानतर्फ प्रवेश गरिसकेको हुन सक्नेसमेत निकुञ्जले अनुमान गरेको छ । यदि चोटपटक लागेर घाइते अवस्थामा रहेको भएमा अडहर बारीमै बाघ बसेको पनि हुनसक्ने निकुञ्जले जनाएको छ ।

          February 5, 2019 10:38 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...