‘सानो ठूलो काम होइन, मान्छेको मन हो’ पढाइ एमफिलको : काम शौचालयको
काठमाण्डौ – एकाबिहानै सर्ट पाइन्ट र टाईमा चिटिक्क सजिएर प्राध्यापकको रुपमा कक्षाकोठामा ‘लेक्चर’ दिने ऋषि गर्तौला बेलुका भएपछि रत्नपार्क र शंखपार्कको शौचालयमा भेटिनुहुन्छ । यो उहाँको एक दिनको वा कहिलेकाहीँको काम होइन, दुई वर्षदेखि यसैगरी उहाँको दैनिकी चल्दै आएको छ । ‘जाँगर भए गागरमै सागर भेटिन्छ’, गरे देशमै थुप्रै अवसरहरु छन् भन्ने कुराको उदाहरण बन्नुभएको छ, ४० वर्षीय गर्तौला ।
गर्तौला अरुले छीःछी र दूरदूर गर्ने शौचालय रेखदेखको काम गर्नुहुन्छ, । उहाँले अहिले काठमाण्डौको खुलामञ्च, शंंखपार्क र रत्नपार्कको शौचालय सञ्चालन गर्दै आउनुभएको छ । ‘एमफिल होल्डर’ गर्तौलाको यस्तो काम देख्ने र सुन्ने धेरैलाई आश्चर्य लाग्न सक्छ ।
सानैदेखि सरसफाईको क्षेत्रमा लागेर नेपालमै केही गरौँ भन्ने सोचाइ राख्ने गर्तौलाले काठमाडौमा तीन वटा शौचालय सञ्चालनको जिम्मा लिनुभएकोे दुई वर्ष भइसकेको छ । उहाँले योबाहेक अरु काम पनि गर्दै आउनुभएको छ । बिहान प्राध्यापन, दिउँसो सहकारी र बेलुका शौचालयको रेखदेख गर्ने उहाँको दैनिकी छ । सिन्धुलीको मरिण गाउँपालिका ६ कपिलाकोट घर भएका गर्तौला अहिले काठमाण्डौको टोखामा बस्दै आउनुभएको छ ।
काठमाण्डौ महानगरपालिकाले आह्वान गरेको बोलपत्रमा प्रतिष्पर्धा गरेपछि उहाँले शौचालय सञ्चालन गर्न थाल्नुभएको हो । तीनवटा शौचालय सञ्चालन गरेबापत उहाँले सरकारलाई वार्षिक ४२ लाख रुपैयाँ भन्दा धेरै रकम तिर्ने गर्नुभएको छ । शंखपार्कको शौचालयबाट वार्षिक ८० हजार, रत्नपार्कको शौचालयबाट वार्षिक साढे १४ लाख र खुलामञ्चको शौचालयबाट २७ लाख ३१ ह्जार रुपैयाँ बुझाउने गरेको उहाँ बताउनुहुन्छ । यो सबै तिरेर पनि उहाँले वर्षको झण्डै साढे ७ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।
‘सानो ठूलो काम होइन, मान्छेको मन हो’
‘नेपाल समस्या र चुनौतीले घेरिएको छ वा अवसरै अवसरले भरिएको छ ?’ भन्ने प्रश्न गरियो भने सिंगो देश नै पक्ष र विपक्षमा विभाजित हुन्छ । सधैंजसो सेमिनार गोष्ठी र कार्यक्रमहरुमा होस् वा सामान्य नेपाली नागरिकहरुको कुराकानीमा यो विषय निकै चर्चित र समसामयिक हुन आउँछ । पक्ष र विपक्षका आफ्नै भोगाई, तर्क र विश्वासहरु होलान् । तर गर्तौला नेपालमै जताततै अवसर मात्रै देख्नुहुन्छ ।
१२ कक्षासम्मको पढाई गाउँमै पूरा गरेर २०५८ सालमा काठमाण्डौ आउनुभएको हो गर्तौला । बिभिन्न समस्या र कठिनाईका बाबजुत पनि उहाँले उच्च शिक्षा हासिल गर्नुभयो । स्नातकोत्तर तहको पढाई पूरा गरेपछि गाउँमै खुलेको कलेज सञ्चालनका लागि पनि बोलाइएको थियो । तर जानुभएन । स्नातकोत्तर तहको पढाई सक्दैमा आफ्नो पढाई पूरा भएजस्तो गर्तौलालाई लागेन । उहाँको एमफिल गर्ने सोच मनबाट हट्न सकेको थिएन ।
उहाँले स्नातकोत्तर पूरा गरेपछि सुन्धारामा रहेको एउटा कलेजमा पढाउन थाल्नुभयो । २०६७ सालदेखि उहाँ भोटाहिटी रानीपोखरी बचत तथा ऋण सहकारी संस्थामा पनि आवद्ध हुनुहुन्छ । हिजोआज एक्टिभ उच्च माध्यमिक विद्यालय बसुन्धारामा प्राध्यापन गर्नुहुन्छ । सहकारीमा काम गर्दा नै एकदिन उहाँलाई गोरखापत्रमा सार्वजनिक शौचालय सञ्चालनका लागि महानगरपालिकाकाले बोलपत्र आह्वान गरेको कुरा थाहा भयो ।
शौचालय सञ्चालनको विषयमा बिस्तृत अध्ययन गरिसकेपछि राम्रै हुन्छ कि भन्ने सोचेर पाँच वर्षका लागि शौचालय सञ्चालनको जिम्मेवारी लिनुभयो ।
कलेज सञ्चालन गर्ने काम छोडेर यस्तो सानो काममा लागिएछ भन्ने लाग्दैन ? भन्ने प्रश्नको उत्तरमा उहाँ भन्नुहुन्छ, ‘काम सानो ठूलो हुँदैन सानोतिनो हुने त मान्छेको मन हो ।’
‘शौचालयले आम्दानी मात्रै होइन आत्मसन्तुष्टि पनि दिएको छ’ : काठमाण्डौ जस्तो घना र साँघुरो शहरमा शौचालयको महत्व त त्यसलाई थाहा हुन्छ जसले टाढाबाट बीच सहरमा आउँदा शौचालय प्रयोग गर्नुपर्ने हुन्छ । शौचालय खोज्दै कि त वरिपरि कतै सरकारी क्याम्पस वा अस्पताल छ कि भनेर खोज्नुपर्छ कि त गर्नुपर्ने काम अधुरै छोडेर आफ्नो निवास फर्किनुपर्छ । यही कुरा सम्झेर गर्तौलालाई कहिलेकाहीँ त आफूले सामाजिक काम गरिरहेको छु जस्तो लाग्छ ।
शौचालयमा सबैभन्दा महत्वपूर्ण पक्ष सरसफाइ भएको उहाँ बताउनुहुन्छ । शौचालय पहिलाभन्दा निकै सफा र व्यवस्थित बन्दै गएको गर्तौलाको भनाई छ । शौचालयमा शौच मात्रै नभइ टाढाबाट यात्रा गरेर आउने र काठमाण्डौमा आफन्त नभएकाहरुको लागि स्नान कक्ष लगायतका व्यवस्था समेत रहेको छ । शौचालयमा सरसफाइको लागि पानीको केही समस्या भए पनि ट्याङकरको पानी किनेर शौचालयमा प्रयोग हुने गरेको छ । सुरुसुरुमा शौचालय सञ्चालन गर्छु भन्दा नराम्रो सोच्नेहरुले पनि अहिले हौसला दिने गरेका उहाँ बताउनुहुन्छ ।
महानगरपालिकासँग गरेको सम्झौतामा दिसापिसाब गरेबापत २ वर्षमा १० देखि २० प्रतिशत शुल्क बढाउन सकिने प्रावधान भए पनि आफू शौचालय प्रयोग गरेबापतका शुल्क नबढाउने पक्षमा रहेको उहाँले बताउनुभयो । अहिले सेवाग्राहीले शौचालयमा गएर दिसा बसेको १० रुपैयाँ, पिसाब फेरेको ५ रुपैयाँ, तातोपानीले नुहाएको ९० रुपैयाँ र चिसो पानीले नुहाएको ८० रुपैयाँ तिर्नुपर्छ ।
काठमाण्डौका अरु ठाउँमा पनि शौचालय संचालन गर्ने इच्छा : आउँदा दिनहरुमा काठमाण्डौका अन्य आवश्यक ठाउँहरुमा पनि शौचालय सञ्चालन गर्ने उहाँको विचार छ । तर महानगरपालिकाको अनुमति लिनेदेखि लिएर अन्य आवश्यक प्रकृया पुर्याउन सजिलो नभएको उहाँले बताउनुभयो । काठमाण्डौमा थुप्रै अन्य ठाउँहरुमा पनि यस्ता सार्वजनिक शौचालयको आवश्यकता महसुस त गरिएको छ । तर त्यसको लागि सरकारले जग्गा उपलब्ध गराइदिने र अनुमति पाउनु नै गाह्रो हुने उहाँको भनाई छ । आफूले पाए र भ्याएसम्म यो कामलाई निरन्तरता दिने उहाँ बताउनुहुन्छ ।
February 5, 2019 12:08 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी