Monday 16th March 2026

आफ्नै हजुरबाले गरे विष खुवाएर ७ वर्षीया नातिनीको हत्या,बान्ता खाँदा पाँच कुखुरा मरे

7 years अगाडी

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन । मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुवैलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

गत माघ २२ गते भात खाएपछि रीतुले लगातार बान्ता गर्न थालेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । बालिकाले गरेको बान्ता खाँदा पाँच कुखुरासमेत मरेका थिए।

बालिकाकी हजुरआमा रेशमीले नातिनीसँग रिस उठेपछि बजारबाट तरकारीमा छर्किने विषादी भातमा हालेर खान दिएको र आफूबाट गम्भीर गल्ती भएको बयान प्रहरीलाई दिएकी छन्।

तरकारीमा छर्किने विषादीका कारण बालिकाको मृत्यु भएको रेशमीले प्रारम्भिक बयानका क्रममा बताएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। “विषादीको बट्टासमेत घरबाटै बरामद गरेका छौँ”, उनले भने।

मृतक बालिकाको रगतको नमूना विज्ञान विधि प्रयोगशालामा परीक्षणका लागि यसअघिनै पठाइसकिएको उनले बताए। दुवै जनामाथि ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ।

विद्यालयमा तोडफोड

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा रहेको अनुपम एजुकेशनल एकेडमीमा बुधबार दिउँसो छिरेकी एक महिलाले तोडफोड गरेकी छिन्।

छयालीस वर्षीया चम्फा विष्टले विद्यालयको कार्यालय कक्षमा तोडफोड गर्दा रु चार लाख बढीको क्षति भएको छ । विद्यालयको कार्यालय कक्षमा राखिएका दुई थान कम्प्युटर, प्रिन्टर, दराज, ल्यापटप, साउण्ड सिस्टम, खेलकूदका सामग्री, प्रयोगशालाका सामग्री, कुर्सी र टेबल तोडफोड गरेको विद्यालय सञ्चालक मदनराज जोशीले बताए।

महिलाले विद्यालय रहेको जग्गा मेरो रहेको भन्दै कार्यालय कक्षमा छिरेर तोडफोड गरेको जोशीले बताए। उनले भने, “पहिला विद्यालयमा पढने विद्यार्थीको अभिभावक होला भनेर सोचेका थियौँ, केही गुनासो राख्न आउनुभएको होला भनेर कुरा सुन्यौँ । विद्यालय रहेको जग्गा नै आफ्नो भएको दाबी गर्दै तोडफोड गर्न थालेपछि प्रहरी बोलाएर नियन्त्रणमा राख्न लगाएका छौँ ।”

विद्यालयमा तोडफोड गर्ने महिलालाई हिरासतमा राखेर अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक अवस्थीले बताए।

          February 21, 2019 9:14 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...