Monday 16th March 2026

देशमा ठेकेदारहरुले नै शासन गरिरहेका छन् : ऊर्जा मन्त्री पुन

7 years अगाडी

कैलाली : कैलालीको विद्युत आपूर्तिलाई गुणस्तरीय बनाउन निर्माण गरिएका दुईवटा सबस्टेसन सञ्चालनमा आएका छन् । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले बुधबार हसुलिया ३३÷११ केभी र पहलमानपुर १३२÷३३÷११ केभी सबस्टेसनको उद्घाटन गरेका छन ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सुहलियतपूर्ण ऋणमा निर्माण भएका सबस्टेसनको काम निर्धारित समयमै सकिएको छ ।

सबस्टेसन सञ्चालनमा आएपछि लामो दूरी र ओभरलोडिङका कारणले पटकपटक लाइन ट्रिप हुने र लाइन हुँदा पनि कम भोल्टेजका कारण बत्ती, पंखा, मोटरलगायतका विद्युतीय उपकरण नचल्ने समस्या समाधान भएको छ ।

कार्यक्रममा मन्त्री पुनले हरेक नेपालीको घरमा तीन वर्षमा विद्युत पुर्याउने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै सबस्टेसन सञ्चालनमा आएपछि यस क्षेत्रमा ठूला तथा मझौला उद्योग खुल्ने सम्भावना बढेको बताए ।

विकास आयोजनाको निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले काम नगरिदिँदा उनीहरुले नै देशमा शासन गरिरहेको निष्कर्षमा आफू पुगेको उनले बताए ।

‘सरकारले विकासको योजना बनाएको छ, त्यसको कार्यान्वयनका लागि बजेटको पनि जोहो गरेको छ, ठेक्का पनि लगाएको छ, जति दबाब दिँदा पनि ठेकेदारले काम गर्दैनन्’, पूर्व अर्थ मन्त्रीसमेत रहेका पुनले भन्नुभयो । ‘सरकारले काम गरेन भनेर हामी भन्छौँ, ठेक्कापट्टाको यस्तो अवस्था देख्दा प्रधानमन्त्री, मन्त्रीले शासन चलाएका छैनन्, काम नगर्ने ठेकेदारले चलाएका छन्, उनीहरुले काम गरे मात्रै सफल हुने अवस्था सिर्जना भएको छ ।’

एउटै ठेकेदार कम्पनीले ७४ वटासम्म ठेक्का लिएको जानकारी दिँदै मन्त्री पुनले लोभ गरेर ठेक्का लिने तर काम नगर्ने प्रवृति त्याग्न निर्माण व्यवसायी कम्पनीहरुलाई आग्रह गरे । मन्त्री पुनले थपे, ‘सक्ने काम लिनुहोस् काममा ढिला नगर्नुहोस् यसले देशको अर्थतन्त्रलाई प्रभावित पार्छ, सक्ने काम लिनुहोस्, समयमै सक्नुहोस् यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ ।’

ऊर्जा सचिव दिनेशकुमार घिमिरेले हरेक नेपालीलाई गुणस्तरीय विद्युत सेवा पुर्याउन सरकारले काम गरिरहेको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएपछि विद्युतको पहुँच र गुणस्तरमा वृद्धि हुने बताए । विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि देशभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको उनले बताए ।

प्रतिनिधिसभाका सांसद गौरिशंकर चौधरीले सबस्टेसनको निर्माणपछि यस क्षेत्रमा रहेको विद्युतीकरण र भोल्टेजको समस्या समाधान भएको बताए ।

          February 21, 2019 9:21 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...